![](https://trishuliprawaha.com.np/wp-content/uploads/2025/01/Patrakar-Pudasainiko-Nidhan.jpg)
काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको यही पुस १९ गते राति हृदयाघातका कारण निधन भएको छ । नुवाकोट जिल्ला, बेलकोटगढी–९ जिलिङ घर भई हाल काठमाडौँमा ‘नेपालभ्युज डटकम’ नामक अनलाइन न्युज पोर्टलमा उपसम्पादकमा कार्यरत ३३ वर्षीय पुडासैनीको हृदयाघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खोजी पत्रकारिताका साथ विकृति–विसङ्गति, ठगीविरुद्ध निर्भीक ढङ्गले लाग्ने पुडासैनी साहसी पत्रकार थिए ।
सो दिन शुक्रबार साँझ काम सकेर कार्यालयकै एक सहकर्मीका घरमा गई खाना खाएर चाबहिल, सरस्वती नगरस्थित आफ्नै डेरामा पुगेर कपडा खोल्दै गर्दा उनलाई हृदयाघात भएको आशङ्का गरिएको छ । कोठामा आफूलाई अप्ठ्यारो भएपछि उनले छिमेकी कोठामा बस्नेलाई ट्याक्सी बोलाएर अस्पताल लैजान आग्रह गरे पनि एक्कासि ढलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि डेरामा पुगेको कपन प्रहरीले आफ्नै गाडीमा राखेर अचेतावस्थाका पुडासैनीलाई चाबहिलस्थित हेल्पिङह्यान्ड अस्पताल पुयाएको थियो । त्यहाँ पुडासैनीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
नुवाकोटबाट पत्रकारिता सुरु गरेका पुडासैनीले पत्रकारिताको करिब १३ वर्षका अवधिमा नुवाकोट र काठमाडौँमा गरी करिब एक दर्जन सञ्चारमाध्यममा काम गरिसकेका थिए । उनी केही समय अगाडिदेखि ‘नेपालभ्युज डटकम’मा कार्यरत थिए । अविवाहित पत्रकार पुडासैनीको बुबाको यसअघि नै निधन भइसकेको छ भने घरमा वृद्धा आमा र तीन दाजु छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शनिबार शव परीक्षण गरेर विदुर–५ देवीघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको जेठो दाजु लोकबहादुरले जानकारी दिए ।
पोस्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै उनको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रेस चौतारी नेपाल, एसोसिएट उपाध्यक्षसमेत रहेका स्व. पुडासैनीलाई नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र पूर्वाध्यक्ष राजेन्द्र अर्याल, नेकपा (एमाले) का केन्द्रीय सदस्य केशवराज पाण्डे, एमाले नुवाकोटका अध्यक्ष बद्रीप्रसाद मैनाली तथा पत्रकारले श्रद्धाञ्जली दिएका थिए ।