धुन्चे । रसुवामा जिल्लास्तरीय शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी कालिका गाउँपालिकामा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ रसुवाको आयोजनामा पुस १८ गते कालिका हिमालय मावि कालिकास्थानमा सम्पन्न भएको प्रदर्शनीमा चार विद्यालयलाई उत्कृष्ट छनोट गरिएको छ ।
प्रदर्शनीमा विद्यार्थीले माध्यमिक तहमा पाठ्यक्रमबाहिर पढेका विषय समावेश गरी स्थानीयस्तरमा पाइने सामग्री र बजारमा सस्तो मूल्यमा पाइने सामग्री प्रयोग गरेर बनाएका सामग्रीको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा नमुना एभरग्रिन मावि धुन्चे प्रथम, हिमालयन इंग्लिस मावि चिलिमे दोस्रो, डाँडागाउँ मावि उत्तरगया गाउँपालिका-२ तेस्रो भएका थिए । पढाइ सँगसँगै पाठ्यक्रमसँग सम्बन्धित सामग्री बनाएर प्रदर्शनी गर्दा विद्यार्थीको प्रतिभा र क्षमता मापन हुने भएकाले विद्यालयमा खेलकुद, विज्ञान र स्थानीय खाद्य परिकार प्रदर्शनी हुनुपर्ने जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेले बताए । शिक्षक तथा विद्यार्थीलाई आगामी दिनमा अझ राम्रो गर्न उत्प्रेरित गर्ने शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका निमित्त प्रमुख जीवन दाहालले जानकारी दिए । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाको प्रमुख आतिथ्यतामा प्रदर्शनी सम्पन्न भएको थियो ।
प्रतिक्रिया