नुवाकोट जिल्ला, विदुर-२ स्थित शेरादरबार नेपाल ट्रस्टको सम्पत्ति हुनुपर्नेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिवलाई दिइयो, माओवादीले कब्जा गरेर खाए, नुवाकोटमा दोहोरियो ललितानिवास प्रकरण, प्रचण्डका साढुभाइका नाममा शीतकालीन शेरादरबार भन्ने खालका समाचार नागरिक, कान्तिपुर दैनिक, त्रिशूली प्रवाह साप्ताहिकलगायत विभिन्न पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा एकोहोरो रूपमा आएकाले यसबारेमा प्रस्ट पार्नुपर्ने देखियो ।
पहिलो कुरा त अहिलेसम्म आएका समाचारमा शेरादरबार माओवादी नेता तथा प्रचण्डका पिए विकेश श्रेष्ठका नाममा लगियो भनिएको छ, तर विकेश वा त्यहाँ उल्लिखित कुनै पनि अभियुक्तको भनाइ राखिएको छैन । पत्रकारिताको सामान्य सिद्धान्तअनुसार आरोपित पक्षको भनाइ राखिनुपर्ने हो । दोस्रो कुरा, जसरी शेरादरबारको एक सय ८१ रोपनी जग्गा विकेश र निजका छोरा मनोबलका नाममा लगिएको कुरा समाचारमा उल्लेख भएको छ, त्यो जग्गा पहिले कसको नाममा थियो ? व्यक्तिका नामबाट व्यक्ति वा फर्ममा गएको हो वा सरकारको नामको जग्गा अन्नपूर्ण फार्मिङमा गएको भन्ने तथ्य लुकाइएको छ । तेस्रो कुराचाहिँ सो जग्गा वा शेरादरबारको प्रसङ्ग प्रचण्ड जोडिएका कारण समाचार बनेको हो । प्रचण्ड नजोडिएको भए सायद हाम्रो परिवारको यो तहसम्मको बदनामी र आरोपित गर्ने गरी मिडिया लागिपर्ने थिएनन् होला । शेरादरबारमा चरम राजनीतीकरणले हाम्रो परिवार सिकार भयो ।
अहिले मिडियामा आएजस्तो नुवाकोटमा पृथ्वीनारायण शाहले बनाएको शेरादरबार नै थिएन । हामीले बुझेअनुसार र त्यो शेरादरबार भनिएको जग्गाको सुरुदेखिका सरकारी विवरण तथा कागजात हेर्दा विभिन्न व्यक्तिको जग्गा तत्कालीन अधिराजकुमारी हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहीका नाममा खरिद भएको देखिन्छ । शेरादरबार भनेर मिडियामा जुन फोटो आइरहेको छ, त्यस ठाउँमा दरबार कहीँकतै थिएन । विभिन्न व्यक्तिका जग्गा किनेर अन्नपूर्ण नामको बगैँचा बनाइएको थियो भनेपछि त्यहाँ दरबार हुने कुरै भएन । हामीले १० वर्षअघि लिएपछि त्यहाँ केही संरचना बने पनि हदबन्दीका कारण जग्गा रोक्का भएपछि ऋण लिन नपाएर काम सम्पन्न गर्न सकेका छैनौँ । करिब दुई सय रोपनी जग्गा २०२७ सालतिर हेलेन र विजयाले किनेको र त्यसबेला राजा महेन्द्रकै सरकारले जग्गामा हदबन्दी लगाएपछि १९ रोपनी जग्गा राखेर बाँकी एक सय ८१ रोपनी जग्गा गौरीशङ्कर कृषि फार्मका नाममा लगिएको रहेछ । कृषि फार्मका नाममा राख्दा हदबन्दी नलाग्ने भएर त्यसो गरिएको होला । कम्पनीका सेयरधनी हेलेनको ठेगाना छाउनी बङ्गला र विजयाराज्यलक्ष्मीको ठेगाना नारायणहिटी दरबार राखिएको छ ।
वि.सं. २०२७ फागुन २८ गते दर्ता भएको गौरीशङ्कर कृषि फार्मको नाम परिवर्तन गरेर २०३६ साल असार ११ गते अन्नपूर्ण फार्मिङ राखिएको थियो । त्यसबेला होटेल अन्नपूर्ण खुलिसकेको र राजदरबारकै मान्छेको लगानी रहेको सो होटेलकै किचन गार्डेनका रूपमा शेरादरबार भनिएको ठाउँको जग्गा प्रयोग गरी नाम पनि अन्नपूर्ण फार्मिङ बनाइएको थियो रहेछ । शेरादरबार भनिएको शेरा बगैँचा अर्थात् अन्नपूर्ण फार्मिङ २०५२ सालमा अधिराजकुमारी हेलेन र विजयाराज्यलक्ष्मीले नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई बिक्री गरे । अर्थात् त्यसबेला पनि त्यो जग्गा राजदरबारको नभएर व्यक्तिले व्यक्तिलाई बेचेको तथ्य प्रमाण र कागजातले बोल्छन् ।
वि.सं. २०३५ मा कर कार्यालय काठमाडौंले आयकर ऐनबमोजिम गौरीशङ्कर कृषि फार्म प्रालिकै नाममा दर्ता प्रमाणपत्र दिएको छ । हेलेन र विजयाले सो फर्म बेचेपछि त्यसबिचमा विभिन्न सेयरधनी आउने–जाने क्रम भएको देखिन्छ । वि.सं. २०५५ तिर सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल प्रधान सेयरधनीका रूपमा प्रवेश गरेको देखिन्छ । वि.सं. २०५८/०५९ मा शेरादरबारमा माओवादीले आगजनी गरेको भनेर २०६० सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठले रु. १३ लाख क्षतिपूर्ति सरकारबाट लिएको समाचार त्यस बेलाको ‘कान्तिपुर’ दैनिक पत्रिकामै छापिएको छ । सो अवधिमा त्यस जग्गामा कृषिकै काम भएको थियो । वि.सं. २०७२ मा मेरा बुबा विकेश र हाम्रै नातेदार अजय सूर्यवंशी अन्नपूर्ण फार्मिङमा छिर्नुभएको हो । उहाँहरूले नरेन्द्रलाल र केदारनाथबाट किन्नुभएको हो । ध्रुवलाल सेयरधनी कायमै थिए । त्यहाँ बुबा आफैँ कृषक भएरै कालो धान, तरकारी, फलफूल लगाउनुभएको हो, कुखुरा पनि पाल्नुभएको हो ।
वि.सं. २०७३ मा सुमन पारिक सेयरधनीका रूपमा थिए भने २०८० सालमा ध्रुवलाल र पारिक निस्केपछि बुबाका आग्रहमा म भित्रिएँ । त्यसपछि यो लगभग हाम्रो परिवारको कृषि फार्म भयो । वि.सं. २०७३ मै हदबन्दी रोक्का भएकाले जग्गा प्लटिङ गरेर बेच्न लागेको भन्ने आरोपमा कुनै सत्यता हुने कुरै भएन । हामीले मालपोत कर, आयकरलगायत कम्पनीका सबै नियम अद्यावधिक गरेका छौँ । यदि जग्गा सरकारी वा दरबारको हुन्थ्यो भने सरकारका निकायले हामीसँग कर लिने थिएनन् होला । यसबिचमा हदबन्दी फुकुवाका लागि प्रक्रिया पूरा गरेर निवेदन दिएको विवरण मन्त्रालय र विभागमा छन् । विभागले नै फुकुवा गर्न मिल्ने भनेर मन्त्रालयलाई चिठ्ठी लेखेको छ । लगानी सम्मेलनभन्दा अघि केही नेपाल ऐन संशोधन अध्यादेश आएका बेला पनि निवेदन दिएका थियौँ । विशेषगरी हामीजस्तै देशभरकै कम्पनीको हदबन्दी रोक्काका कारण बैंकबाट ऋण लिन पाइएको छैन ।
शेरादरबार प्रकरणमा जसरी विकेशलाई आरोपित गरिएको छ, यो राजनीतीकरण भयो । विकेश विगत १० वर्षभन्दा पहिलेदेखि नै माओवादी पार्टीमा हुनुहुन्न । दाहाल पहिलोपटक प्रधानमन्त्री बन्दा स्वकीय सचिवालयमा काम गरेको सत्य हो, त्यसबाहेक अरू कुनै नाता छैन । हामी अहिले विशुद्ध व्यवसायमा संलग्न भएकाले हामीलाई प्रचण्ड र माओवादीसँग जोडेर प्रचार नगरिदिन आग्रह गर्छाैँ । यदि राज्यको कुनै निकायले फेरि छानबिन गरेर सो जग्गा ऐतिहासिक रूपमा दरबारकै थियो भन्ने प्रमाण जुटाएमा हामी स्वीकार गर्न तयार नै छौँ । राज्यका नियम कानुनबमोजिम नै व्यक्तिबाट व्यक्तिमा किनबेच भएको जग्गा भएकामा हामी विश्वस्त छौँ । हामीले यसबारेमा प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिइरहेका छौँ । नेताहरूको राजनीतिक स्वार्थ र आरोप–प्रत्यारोपमा हामीलाई पीडित नबनाइयोस् । हाम्रा लागि केपी शर्मा ओली, दाहाल, शेरबहादुर देउवा सबै बराबर आदरणीय नेता हुन् ।
(अन्नपूर्ण फार्मिङका सञ्चालक मनोबल श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिक, नागरिक, कान्तिपुर दैनिकलगायत पत्रपत्रिका र अनलाइनमा प्रकाशित पृथ्वीनारायण शाहको शीतकालीन शेरादरबार दाहालका स्वकीय सचिवका नाममा पुगेको भन्ने आशयका समाचारमाथि दिइएको स्पष्टीकरण हाम्रो समाचार शैलीअनुसार, कुनै भाव नबिग्रने गरी प्रकाशन गरिएको छ ।)
प्रतिक्रिया