
नुवाकोट । नेवारी समुदायका महिलाको मौलिक पहिरन हाकुपटासी लगाएर यहाँ पन्चैबाजा घन्काउन थालिएको छ । नेपालको मौलिक पहिचान पन्चैबाजा बजाउन गठित विदुर– २ को महिला समूहले हाकुपटासी लगाएर हालैको पृथ्वीजयन्तीदेखि बजाउन सुरु गरेको हो ।
पन्चैबाजा महिला समूहका सदस्यले सो पोसाक लगाएर बजाउँदा स्थानीय जनता निकै दङ्ग परेर सुनिरहेका थिए । आधुनिक फेसनको प्रभाव बढे पनि महिलाले परम्परागत हाकुपटासी (कालो फरिया) मा सजिएर पन्चैबाजा बजाएको यो सायद नेपालमा पहिलोपटक भएको वडासदस्य आनन्दलाल श्रेष्ठले जिकिर गरे । लोपोन्मुख पन्चैबाजा संरक्षणमा वडा नम्बर २ ले चासो दिएर महिला समूहलाई सहयोग गरिरहेको छ । गत वर्षदेखि बाजा बजाउन आवश्यक सीप तथा तालिम, वाद्य सामग्री र आवश्यक पोसाकसमेत खरिद गरेर प्रदान गरेको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । आगामी दिनमा पनि वडाका अन्य बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने दृढता उनले व्यक्त गरे । सदरमुकाम र ऐतिहासिक नुवाकोट दरबार तथा भैरवी मन्दिर रहेको सो वडामा आवश्यक थप सामग्रीका लागि विदुर नगरपालिकालाई अनुरोध गरिने वडासदस्य रञ्जन थापा मगरले बताए । ‘पछिल्लो समय विदेशी कला, संस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कलासंस्कृतिमाथि असर परिरहेको छ,’ वडासदस्य गीता तिमिल्सनाले भनिन्, ‘हाम्रो कला–संस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय तहको दायित्व र कर्तव्य रहेकाले बाजा संरक्षणमा लागेका हौँ ।’ विवाह, व्रतबन्ध, चौरासी पूजा र विभिन्न सभा–समारोहमा बाजा बजाउने जनशक्ति नपाएपछि आफैँ सिकेर बजाउन थालेको समूहका संयोजक तथा वडा नम्बर २ की सदस्य सुबु मिजारले स्पष्ट गरिन् । वडा कार्यालयले लोप हुने अवस्थामा रहेका मौलिक कला, संस्कृतिलाई जगेर्ना र संंरक्षण गर्दै सबै जातिका महिलालाई पन्चैबाजा बजाउन उत्साहित बनाउँदै व्यावसायिक बनाएको संस्कृति तथा सम्पदाका लागि अभियान सञ्चालन गरिरहेका गौतममानसिंह डङ्गोलले बताए । यसले भावी पुस्तालाई सम्पदा र संस्कृतिबारे जान्ने–बुझ्ने अवसर मिल्ने उनको भनाइ छ । उक्त वडामा लोपोन्मुख अवस्थाका नगरा, धा, धिमेबाजालाई समेत संरक्षण आवश्यक रहेको शुभप्रभात बचत तथा ऋण सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले बताए ।
जिल्लामा आउने पाहुनाको स्वागतमा अहिले महिलाले नै बाजा बजाउँदै आएका छन् । शनिबार देवीघाटदेखि भैरवी मन्दिरपरिसरमा भएको राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वीजयन्तीमा महिलाले नै पन्चैबाजा बजाएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको स्वागत गर्दा कार्यक्रममा थप रौनक थपिएको थियो ।