+
Search

ताजा अपडेट +

पपुलर +

पालिकाको बजेट खर्चमा बढेन गति

पालिकाको बजेट खर्चमा बढेन गति
त्रिशूली प्रवाह
१ साल अगाडी

नुवाकोट । चालू आर्थिक वर्ष २०८१/०८२ मा पनि नुवाकोटका १२ पालिकाको बजेट कार्यान्वयन सुस्त देखिएको छ । पालिकाहरूले ६ महिनाको अवधिमा विनियोजित कुल विकास र चालू बजेटमध्ये २४ दशमलव ८२ प्रतिशत मात्र खर्च गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

चालू आवका लागि पालिकाहरूको चालू र पुँजीगत कुल बजेट रु. सात अर्ब एक करोड ६२ लाख ३९ हजार दुई सय २५ विनियोजित भएकोमा यो अवधिमा रु. एक अर्ब ७४ करोड १८ लाख ४३ हजार नौ सय ९० मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नुवाकोटले जानकारी दिएको छ । पालिकाले बाँकी अवधिमा विनियोजित कुल बजेटको ७५ प्रतिशत अर्थात् रु. पाँच अर्ब २७ करोड ४३ लाख ९५ हजार दुई सय ३४ खर्च गर्नुपर्छ । पालिकाहरूले कुल विकास बजेटको जम्मा नौ दशमलव नौ प्रतिशत अर्थात् रु. २३ करोड २५ लाख ९२ हजार पाँच सय ९६ मात्र खर्च भएको छ । १२ पालिकालाई कुल विकास बजेट रु. दुई अर्ब ५५ करोड ९७ लाख ४३ हजार आठ सय २० विनियोजन भएको कोलेनिकाले जानकारी दिएको छ । चालू वर्षका लागि चालू बजेट रु. चार अर्ब ४५ करोड ६४ लाख ९५ हजार चार सय पाँचमध्ये पुस मसान्तसम्म रु. एक अर्ब ५० करोड ९२ लाख ५१ हजार तीन सय ९३ खर्च भएको छ । यो कुल विनियोजित बजेटको ३३ दशमलव ८७ प्रतिशत हो ।

Suzuki New Bike & Scooter

स्थानीय सरकारले समयमै योजना सम्झौता गरे पनि असार मसान्तमा भुक्तानी दिने गरेकाले बजेट खर्च नदेखिने गरेको अडिटर्स एसोसिएसन नेपाल (अडान) नुवाकोटका अध्यक्ष गोपालबहादुर सापकोटाले बताए । शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले गाउँपालिकाले हरेक योजना समयमै सम्पन्न गर्न प्रयत्न गरेको भए पनि उपभोक्ता तथा ठेकेदारको ढिलासुस्तीको कारण समयमै बजेट खर्च नहुने समस्या रहेको बताए । उनले भने, ‘योजना सम्झौता समयमै हुने भए पनि भुक्तानी समयमै लिन नआउने समस्याले बजेट खर्च नदेखिएको हो ।’

विकास बजेट खर्च कम हुनुले नुवाकोटका १२ वटै स्थानीय तह असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि हुन्छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्झौता, काम सम्पन्न र भुक्तानी दिन यहाँका स्थानीय तह अझै गम्भीर बन्न सकेका छैनन् । महालेखाको आव २०७९/०८० को प्रतिवेदनमा उल्लेख गरिएअनुसार जिल्लाका स्थानीय तहले आवको असार महिनामा बजेट धेरै खर्च गर्ने गरेको उल्लेख छ । विकास बजेट विनियोजन भएको दुईवटा नगरपालिका बेलकोटगढी र विदुरको खर्च पनि सन्तोषजनक देखिँदैन । सदरमुकामसमेत रहेको विदुरले चालू आवको पुस मसान्तसम्म कुल विनियोजित विकास बजेट रु. ४१ करोड ८७ लाख २५ हजारमध्ये रु. पाँच करोड २७ लाख ४८ हजार दुई सय ८० अर्थात् १२ दशमलव ६० प्रतिशत खर्च गरेको छ । त्यस्तै अवस्था बेलकोटगढी नगरपालिकाको पनि रहेको छ । बेलकोटगढीको विनियोजित कुल विकास बजेट रु. ३४ करोड ६१ लाख १० हजारमध्ये यो अवधिमा रु. तीन करोड ६२ लाख १२ हजार चार सय ६ मात्र अर्थात् १० दशमलव ४६ प्रतिशत खर्च भएको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह