त्रिशूली । ‘नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’मा सबैभन्दा आकर्षण रहेको लामो दूरीको दौडतर्फ पुरुषमा अर्जुन बुढा र महिलामा विमला तामाङ विजयी भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरेर सुरु भएको प्रतियोगिताअन्तर्गत १३ दशमलव पाँच किलोमिटर दूरीको खुला महिलातर्फ एक घण्टा १३ मिनेट ३० सेकेन्डमा पूरा गर्दै तामाङ प्रथम भएकी हुन् । उक्त दूरी एक घण्टा १३ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै नेपाल प्रहरीका निमालाक्पा शेर्पा दोस्रो र एक घण्टा १३ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै रोल्पाको आश्मा विश्वकर्मा तेस्रो भए । १३ दशमलव पाँच किलोमिटर खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा ५३ मिनेट २६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भए । सोही दूरी ५३ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै सोही क्लबका टंक कार्की दोस्रो र ५७ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै ललितपुरका प्रवीण लिम्बू तेस्रो भए ।
स्थानीय पुरुषमा विमल थापामगर एक घण्टा चार मिनेटमा निर्धारित दूरी १३ दशमलव ५ किलोमिटर पार गर्दै प्रथम भए । उक्त दूरीअन्तर्गत ४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहाल एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम भए । प्रतियोगिताअन्तर्गत चार दशमलव पाँच किलोमिटर खुला जुनियर छात्रतर्फ काठमाडौंका नवराज बानियाँ र छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी आयुष्मा आचार्य प्रथम भए । सोही दूरी समूहको स्थानीय विद्यालयका विद्यार्थीको प्रतिस्पर्धामा छात्रतर्फ महादेव माविका गोकुल कुँवर र छात्रातर्फ इन्द्रेश्वर आधारभूत विद्यालयकी सकिना तामाङले प्रथम स्थान हासिल गरे । चार दशमलव पाँच किलोमिटर दूरीको दौड प्रतियोगितामा आमा समूहको तर्फबाट सनिता श्रेष्ठ र सोही दूरीमा ४५ वर्षमाथिका स्थानीय हजुरबा र बा समूहको तर्फबाट चन्द्रमान श्रेष्ठ प्रथम भए । उत्कृष्ट भएका धावक (खेलाडी)लाई बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले नगदसहित प्रमाणपत्र प्रदान गरे ।
नुवाकोटको साबिक दुईपिपल, रातमाटे र जिलिङ मिलेर बनेको यहाँको प्रसिद्ध स्थल ‘झिल्टुङ’ को पहिचान झल्काउन र यहाँको ग्रामीण क्षेत्रमा खेल पर्यटन वृद्धि गराउन महादेव मावि कोल्पुटारसँगको साझेदारीमा पर्यटन व्यवसायी मोहन नेपालको अगुवाइ र एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका धावकको आकर्षण वृद्धि हँुदै गएको छ । स्थानीय सरकारको आयोजनामा सञ्चालन गरिने, गाउँका हजुरबा, बा र आमा समूहका सदस्यदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका राष्ट्रिय धावकको समेत प्रतिस्पर्धा हुने भएकाले झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता नयाँ खेलाडीको उत्पादन, खेलाडीको व्यक्तिगत दक्षता वृद्धि, आमा समूहका सदस्यलाई प्रतिस्पर्धा गराई महिला
सशक्तीकरणलगायतमा समेत योगदान पुग्दै आएको आयोजक वडा नम्बर ५ (बेलकोटगढीका अध्यक्ष मदन भुजेलले बताए । अहिले वडा कार्यालयमार्फत सञ्चालनमा रहेको प्रतियोगिताको आगामी संस्करणलाई स्थानीय पर्वको रूपमा बेलकोटगढी नगरपालिकामार्फत सञ्चालन गरिने नगरप्रमुख जगत गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया