धादिङबेँसी । त्रिशूली नदीको उत्तर भेगमा पर्ने सिद्धलेक–४ आरुबासटार जोड्ने मोटर पुल निर्माण थालिएको सात वर्ष पूरा भयो । वि.सं. २०७४ मङ्सिर २५ गतेका दिन २०७७ जेठ २४ गते पुल योजना सेक्टर नं. ३ पाटन ढोकालाई पुल निर्माण गरी बुझाउन महावीर कन्स्ट्रक्सन, नीलगिरि कन्स्ट्रक्सन र नेसनल जेभीले सम्झौता गरेका थिए । अहिले आएर नीलगिरिले पनि पावर कन्स्ट्रक्सनका इन्द्र पुरीलाई ठेक्का दिएको छ । सो पुल निर्माणको पहिलो जिम्मेवार महावीरका अनिल गुप्ता हुन् । गुप्ताको महावीर, नीलगिरि र नेसनल जेभीले ठेक्का हालेका थिए । पछि निर्माण गर्न निलगिरिका तर्फबाट युवराज डाँगीले जिम्मा लिएका छन् ।
पुल निर्माण गर्न मात्र खडा गरिएको पुल महाशाखा पनि मूकदर्शक बनेर बसेको छ । बेनीघाट–रोराङ– ३ रिचोकटार हिलटप र आरुबासटार जोड्ने पुल निर्माण गर्ने जिम्मा महावीर, नीलगिरि र नेसनलले संयुक्त जिम्मा लिएको पुल तोकिएको समयभन्दा चार वर्षसम्म निर्माण पूरा नहुनु महाशाखाको कमजोरी वा कानुनी प्रावधान कमजोर हुनु हो । पुल निर्माणको जिम्मेवारी नीलगिरिले लिएको डाँगीले स्वीकार गरे पनि साढे तीन वर्षमा सक्नुपर्ने पुल सात वर्षमा पनि नसकेर पछि पावरका पुरीलाई नाफा–नोक्सान व्यहोर्ने गरी जिम्मा लगाइएको बताए । महावीरका गुप्ताले डाँगीले समयमा काम नगर्दा आफू पनि अप्ठ्यारामा परेको र निर्माण कम्पनीलाई कालोसूचीमा राख्दा जेभीका तीनवटै कम्पनी पर्ने गुनासो पोखे । नीलगिरिका तर्फबाट काम गर्छु भन्दाभन्दै महावीरले काम गर्न नमिल्ने कानुनी बाध्यता छ । नीलगिरिले काम नगरे महावीर गर्न बाध्य हुने गुप्ताले बताए । सात वर्षअघि रु. १५ करोड १६ लाख ८० हजारमा निर्माण सम्झौता गरेका डाँगीले चार वर्षअघि पुलको डिजाइन गर्नेदेखि निर्माण सम्पन्न गरेर पुल योजना सेक्टर नं. ३ लाई बुझाइसक्नुपर्ने थियो ।
अहिलेसम्म फिल्डको काम हेर्न हो भने २० प्रतिशत पनि भएको छैन । आफूहरूले चर्को विरोध गरेपछि वा पुल महाशाखाले ताकेता गरेपछि मात्र ठेकेदार फिल्डमा आउने गरेको स्थानीयवासीको आरोप छ । सुरुमा डाँगीले कोरोना महामारीलाई दोष लगाएर उन्मुक्ति खोज्दै आएका थिए । उनी कहिले सरकारले समयमा भुक्तानी नदिएको आरोपसमेत लगाउँथे । ‘उधारोमा सामान पसलेले दिँदैन । ऋण गरेर कति लगानी गर्नु ? बहुवर्षे योजना हो । पैसा दामासै जस्तै हुन्छ । सरकारसँग नै लिन बाँकी हुन्छ,’ उनी यही भनाइ भनिरहन्थे । जेठदेखि मङ्सिरसम्म नदीमा पानीको सतह बढ्ने भएकाले पुसदेखि वैशाखसम्म मात्र पानीमा काम गर्ने समय हो । जरिवाना तिर्नुपयो भने एकपटकमा रु. डेढ करोड तिर्नुपर्छ । पुल बनाउन कम्तीमा पाँच वर्ष समय दिनुपर्ने डाँगीले बताउँदै आएका छन् । डाँगीबाट पुल निर्माण गर्ने जिम्मा लिएका पुरी भन्छन्, ‘काम सुरु गरेको छु । यस वर्ष दुईवटा पिलर बनाउन सकेँ भने अर्को वर्ष स्ल्याप ढलान गर्न सकिन्छ कि जस्तो लागेको छ । दुई वर्षमा सक्ने गरी काम गर्छु ।’ पुरीले गरेको कामको गतिले पनि पुल निर्माण नहुने निष्कर्षमा स्थानीयवासी पुगेका छन् । पुल निर्माण नहुँदा स्थानीयवासीलाई मुख्यबजार आवतजावत गर्न कठिन, ताजा तरकारी तथा दुध बिक्रीमा समस्या, दुःख र बिमार पर्दा बोकेर मुख्य राजमार्गसम्म पुग्नुपर्ने समस्या भोग्नुपर्ने राममणि सिलवालले बताए । त्रिशूली नदीपारि आरुबासटारमा मलेखु एडभेन्चरबिच रिसोर्ट सञ्चालनमा छ । हिउँदमा मोटरबोटबाट होटेलका ग्राहक तथा पर्यटक आवतजावत गराइँदै आएको छ । बर्खामा भने पर्यटक वा ग्राहक आधा घण्टा हिँडेर झोलुङ्गे पुल तरी जानुपर्छ । मोटरेबल पुल बने पाँच मिनेटमा होटेल पुग्ने सिलवाल बताउँछन् ।
पुल निर्माण जिम्मा लिएको नीलगिरिले समयमा पुल निर्माण नगरेपछि पछिल्लो समय प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले पुल महाशाखामा ताकेता गरेका छन् । पुल बनाउन सक्ने कम्पनीको ठेक्का तोडेर वा उसैलाई काम गर्न लगाएर छिटो पुल निर्माण सक्न ताकेता गरिएको पाण्डेको सचिवालयले जनाएको छ । पुल महाशाखाले निर्माण कम्पनीलाई कामको गति नबढाएमा कालोसूचीमा राखेर ठेक्का तोड्ने चेतावनी दिएपछि काम गर्न लागिएको छ । तर, काम गर्न परिचालन गरिएका मजदुरको सङ्ख्या हेर्दा काम गर्ने गरीभन्दा पनि कारबाहीबाट जोगिन मात्र गरेजस्तो देखिने पाण्डेका निजी सचिव विवेक अर्यालले बताए ।
त्रिशूलीमाथि यसअघि रु. एक अर्ब दुई करोड ८४ लाख ६० हजार पाँच सय ९६ मा पाँचवटा पुल निर्माण भई करिब ४७ हजार मानिसले दैनिक सुविधा पाएका छन् । लुम्बिनी र प्रकृतिले संयुक्त रूपमा रु. १८ करोड ६१ हजार तीन सय ९६ मा गल्छी गाउँपालिकाको गल्छी र घर्तीटार जोड्ने पुल निर्माण सम्पन्न गरेको छ । यसैगरी, गल्छीकै बैरेनीको जिन्टेटार र सालटार जोड्ने पुल निर्माण गर्न रु. २० करोड ६८ लाख ९५ हजारमा रसुवा पप्पुले संयुक्त रूपमा निर्माण सम्पन्न गरिसकेको छ । गल्छीकै मासटार र केउरेनीटार जोड्न तुदी, लामा र सपनाले संयुक्त रूपमा रु. २३ करोड ७५ लाखमा पुल निर्माण सम्पन्न गरिसकेका छन् । यसैगरी, गजुरी गाउँपालिका, जरेखेत र सिद्धलेक गाउँपालिका, अमनटार जोड्ने जरेखेतमा रु. १५ करोड १३ लाखमा तुदी, लामा र सपनाले संयुक्त रूपमा पुल निर्माण सम्पन्न गरिसकेका छन् । गजुरीकै घाटबेँसी र सिद्धलेक, पियलटार जोड्ने पुल हिराचन, महादेव, खिम्ती र इलिटले संयुक्त रूपमा निर्माण सम्पन्न गरिसकेका छन् । यसअघि धादिङबेँसी जानका लागि फुर्केखोला परेवाटार र खाल्टे जानका लागि केउरेनी, फोसटारमा मोटर पुल निर्माण भइसकेको छ । यदि हिलटप आरुबासटारको पुल निर्माण सम्पन्न भए धादिङ जिल्लामा त्रिशूली नदीमाथि निर्माण भएको पुलको सङ्ख्या आठ हुनेछ । यी पुलले त्रिशूलीउत्तरका मानिसलाई राष्ट्रिय राजमार्गसँग जोडेर समृद्धिको यात्रामा जोडेको छ ।
प्रतिक्रिया