शिवपुरी, सुइरेचौरमा पर्यटक आकर्षण बढ्दै

शिवपुरी, सुइरेचौरमा पर्यटक आकर्षण बढ्दै
त्रिशूली प्रवाह
७ महिना अगाडी

सूर्यचौर । यही माघ ५ गते नुवाकोटको शिवपुरी-७ सुइरेचौरबाट उत्तरतिर हेर्दा एक छेउदेखि अर्काे छेउसम्मका सबै हिमाल अर्थात् हिमशृङ्खला नै खुलेको थियो । घाम राम्रोसँग लागेको थियो र चारैतिरका डाँडापाखा, लिखु र तादी तथा फाँट स्पष्टसँग देखिन्थ्यो ।

सम्पादक समाज नेपालले आफ्नो कार्यालय रहेको त्यहीँको भवनमै गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र पनि खोलेको छ । संस्थाले घोषणा गरेको वियोगी पत्रकारिता सम्मान र पुरस्कार वितरण गर्न शनिबार आयोजना गरेको समारोहमा सहभागीले सूर्यचौरबाट देखिएको रमाइलो अनुभव गर्दै थिए । कोही सामूहिक तस्बिर लिँदै थिए भने कोही सेल्फी । समाजका संरक्षक किरण वैद्यले आफूहरूले जग्गा किन्दा बाटो सुविधा नभएको, तर अहिले संस्थाको भवन बनेपछि केही हदसम्म भए पनि कार्यालयसम्म आउन सहज भएको बताए । शिवपुरी नागार्जुन निकुञ्जमा पर्ने सो क्षेत्रमा सडक पिच वा ढलान गर्न नपाइने नियम भएको जनाइएको छ । निकुञ्जले पक्की बाटो बनाउन नदिएपछि अन्यत्र बाटोको विकल्प खोज्ने प्रयासअन्तर्गत प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी बजेट सुनिश्चितता गरिने शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।

गत वर्ष गाउँपालिकाले निर्णय गरेर नै त्यहाँको अव्यवस्थित र अतिक्रमित बस्ती खाली गराएको थियो । सोअनुसार ७ नम्बरका वडाध्यक्षकै घरटहरा पनि हटाइएको थियो । गाउँपालिकाले बागमती प्रदेश सरकारसँग वनभोजस्थल निर्माणका लागि पूर्वाधार बनाउन समन्वय गरिरहेको छ । अहिले पूर्वाधार नभए पनि आन्तरिक पर्यटक भने पैदल, हाइकिङ वा मोटरसाइकल आदिमार्फत सो स्थलमा आइरहेका छन् । पूर्वाधार बनाउन सके स्थानीय जनताले फाइदा लिन सक्ने गाउँपालिका अध्यक्ष थपलिया बताउँछन् । सो ठाउँमा कृषि उत्पादन हुने र कोसेली पनि लान सकिनेछ । अहिले समाजको भवन र एउटा रेस्टुरेन्टबाहेक सो ठाउँमा खुला चौर छ, पानी, बिजुली पुगेको छैन । अध्यक्ष थपलियाले पर्यटन विकास गरी जनतामा आयआर्जन गराउन होटेल, घरवास पर्यटन, कृषि तालिम दिलाइएको जानकारी दिँदै सूर्यचौर गाउँपालिकाको प्राथमिकतामा परेको स्पष्ट पारे ।

काठमाडौँको सामाखुसी चोकबाट सूर्यचौरसम्म १० किलोमिटर दूरी छ । मौसफ सफा रहेका बेला यहाँबाट लाङटाङ, गणेश, मनास्लुलगायत हिमाल देखिन्छ । गाउँपालिका र त्यहाँका वडापालिकाहरूले स्थानीय तहमा रहेका लप्से मोहरथोक, चिलाउने, लौके झरना आदिको महोत्सव पनि गराइसकेका छन् । सम्पादक समाजका महासचिव श्यामकाजी डोटेलले जलवायु परिवर्तनको असर हाम्रा हिमालहरूमा परिरहेकाले समाजको आयोजनामा गत भदौ २२ गते नुवाकोट र राजधानीमा बसी सञ्चारकर्म गरिरहेका पत्रकारहरूको सहभागितामा लौके झरना महोत्सव गरिएको र भोलिका दिनमा पनि आफूहरूले त्यस्तै कार्यक्रम राख्ने जानकारी दिए । पत्रकारहरूको उपस्थितिपछि लौके झरनामा आन्तरिक पर्यटक बढेको उनले जानकारी दिए ।सोही दिन सम्पादक समाजले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ । समाजद्वारा शनिबार नुवाकोटको शिवपुरी-७ सूर्यचौरमा आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८१’ पर्वतका महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो दिदी–बहिनी ९५ दशमलव २ मेगाहर्जलाई प्रदान गरिएको हो ।

‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार-२०८१’ पुरस्कार जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहनुभएका राजधानी दैनिकका बझाङ संवाददाता डिबी विष्ट र ‘योसमय’ अनलाइन न्युज पोटरका सम्पादक ध्रुव रावललाई प्रदान गरिएको आयोजकले जनाएको छ । ती पुरस्कारको राशि क्रमशः रु. २५ हजार र रु. १५-१५ हजारसहित प्रमाणपत्र रहेको छ । समाजलाई लामो समय अभिभावकत्व प्रदान गरेकोमा संस्थापक अध्यक्ष वियोगीकी धर्मपत्नी ९० वर्षीया कृष्णवदन वैद्यलाई अभिनन्दन गरिएको थियो । समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्यामकाजी डोटेल, संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाल र सदस्य नारायण उपाध्यायले आफ्नो संस्थाले गोविन्दवियोगी पत्रकारिता अध्ययन केन्द्र र पुस्तकालय स्थापना गरेकाले पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता अमृतकुमार बोहरा, संविधानसभा सदस्य खिमलाल देवकोटा, नेपाली काङ्ग्रेसका नेता नरोत्तम वैद्य र शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियालगायत व्यक्तिले मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या समाधान गर्न, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिए । नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका, मातृभूमि साप्ताहिकका सम्पादक तथा समाजका संस्थापक वियोगीको वि.सं. २०६२ माघ २ गते निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह