
देवीघाट । बागमती प्रदेश, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको बेरुजु तीन वर्षदेखि शून्य छ । विदुर–५ देवीघाट नुवाकोटस्थित चिकित्सालयले आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालय तीन वर्षदेखि बेरुजु शून्य रहेको जानकारी दियो ।
कार्यक्रममा कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले आव २०७८/०७९, २०७९/०८० र २०८०/०८१ मा बेरुजुरहित रहेको बताए । वि.सं. २०५३ मा स्थापित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशमातहतमा राखिएपछि सेवा र कार्यक्षेत्र विस्तार गरी वि.सं. २०८० फागुनदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा रूपान्तरण भएको थियो । तल्लो पिपलटारमा रहेको आफ्नै सुविधासम्पन्न भवनमा चिकित्सालय गत वर्षदेखि सरेको छ । यसै भवनबाट स्वीकृत पाएको २५ शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको सूचना अधिकारी वैद्य निरीक्षक नारायणप्रसाद बस्तीले जानकारी दिए । जिल्लामा चिकित्सालयअन्तर्गत सात आयुर्वेद औषधालयले सेवा दिइरहेका छन् । आयुर्वेद औषधालय तादी–४ तामेसतार, रालुका आयुर्वेद औषधालय तादी–३ टुटुङ, नर्जामण्डप आयुर्वेद औषधालय–४ नर्जामण्डप, ढिकुरे आयुर्वेद औषधालय लिखु–१ ढिकुरेबजार, थानसिङ आयुर्वेद औषधालय लिखु–६ मकैचौर, तारुका आयुर्वेद औषधालय तारकेश्वर–३ चन्दनी र खनायोखर्क आयुर्वेद औषधालय बेलकोटगढी–२ फाँटपौवामा सञ्चालनमा छन् ।
चालू आवको हालसम्म भने महिला नौ हजार ८४ र पुरुष सात हजार नौ सय २१ जनालाई सेवा दिइएको कार्यालय प्रमुख डा. गिरीले जानकारी गराए । तेइस प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि निःशुल्क रूपमा औषधालयले वितरण गर्ने गरेको छ । तर, ती औषधि बिरामीको चाप बढेकाले एक वर्ष वितरण गर्न नपुग्ने गरेकोसमेत उनले बताए । सङ्घ सरकारको ससर्त अनुदानमा चिकित्सालयले म्यागङको सामरी, किस्पाङको काहुले, दुप्चेश्वरको समुन्द्रटार र शिवपुरीको शेराबगरमा नागरिक आरोग्य सेवा केन्द्र पालिकाका सहयोगमा सञ्चालन गरिरहेको छ । औषधालयले मातृशिशु स्वास्थ्य प्रवद्र्धन सेवाअन्तर्गत सुत्केरीलाई ६ महिनासम्म स्तनवद्र्धक आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिरहेको छ । साथै ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवाअन्तर्गत ६५ वर्ष वा सोभन्दा माथि उमेरका नागरिकलाई स्वास्थ्य संरक्षण एवम् स्वास्थ्य प्रवद्र्धक औषधि निःशुल्क वितरण, चिकित्सकको परामर्शमा एकुपङ्क्चर, निःशुल्क औषधालय, सशुल्क प्रयोगशाला, आयुर्वेदीय जीवनशैली परामर्श सेवा पनि दिइरहेको छ । औषधालयले पूर्वकर्म/पञ्चकर्मअन्तर्गत स्नेहन स्वेदन, शिरोधारा/बस्थीकर्म र योग/प्राणायामसम्बन्धी परामर्श दिँदै आइरहेको छ । त्यसबाहेक विभिन्न जडीबुटी र जीवनशैली परिवर्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यालय प्रमुख गिरीले बताए ।