शताब्दी महोत्सव मनाउने तयारीमा किराञ्चोक कार्कीडाँडा मावि

शताब्दी महोत्सव मनाउने तयारीमा किराञ्चोक कार्कीडाँडा मावि
त्रिशूली प्रवाह
६ महिना अगाडी

धादिङ । धादिङ जिल्लाकै सम्भवतः पहिलो विद्यालय गल्छी गाउँपालिका–४ कार्कीडाँडामा रहेको छ । तत्कालीन अवस्थामा किराञ्चोकमा पर्ने भएकाले विद्यालयको किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालय नाम राखियो । भौगोलिक राजनीति अवस्था फेरबदल हँुदै जाँदा अहिले गल्छी गाउँपालिकामा यो विद्यालय परेको छ । यो विद्यालय स्थापना भएको एक सय वर्ष पुगेको छ । स्थापना भएको सय वर्ष पुगेको अवसरमा विद्यालयले तीनदिवसीय कार्यक्रमको आयोजना गरेको छ । जिल्लाको पूर्वी–दक्षिणी क्षेत्रको दुर्गम स्थानमा रहेका कारण खासै चर्चामा नरहेको यो विद्यालय अहिले शताब्दी महोत्सव मनाउने प्रचार–प्रसारले चर्चामा आएको छ । विद्यालयले माघ १९ गते शनिबारदेखि २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी शताब्दी महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनुका पराजुलीले बताइन् ।

विक्रम संवत् १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रूपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालय जिल्लाकै पुरानो विद्यालयको रूपमा चिनिन्छ । यस विद्यालय स्थापनाको एक सय वर्ष प्रवेश गरेको उपलक्ष्यमा गल्छी गाउँपालिकास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता, खेलकुद, शिक्षक र विद्यार्थीबाट नृत्यका साथै पूर्वशिक्षक, पूर्वविद्यार्थी, विद्यालयका संस्थापकलाई सम्मान कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले बताए । तत्कालीन किराञ्चोक र पाल्चोक पञ्चायतको माझ पर्ने स्थानमा स्थापना गरिएको विद्यालय धेरै वर्षसम्म खुला चौर, चौतारो, कटुसे छाप्रो, ढुङ्गामाटोको गाह्रो भएको कोठामा पढाइ सञ्चालन गरिएको थिो । हाल पक्की भवनका १२ वटा कोठामा पठन–पाठन भए पनि अझै आठवटा कक्षाकोठा ढुङ्गामाटोका रहेका छन् ।

भाषा पाठशालामा वि.सं. २००४ सालबाट संस्कृतबाहेक अन्य पठन–पाठन सुरु भएकोमा भाषा पाठशाला हुँदै वि.सं. २०३२ सालमा प्राथमिक विद्यालय, वि.सं. २०३४ मा निम्नमाध्यमिक विद्यालय, वि.सं. २०५४ मा माध्यमिक विद्यालय र वि.सं. २०६८ मा उच्च मावि (कक्षा ११ र १२) को अनुमति पाएको यस विद्यालयबाट अहिलेसम्म आठ सय २४ जनाले एसएलसी तथा एसइई र दुई सय ७० जनाले १२ कक्षा उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए । विद्यालयबाट एलसलसी तथा एसइई उत्तीर्ण तथा कक्षा १२ उत्तीर्ण गर्नेहरू नै यस क्षेत्र आसपासका विद्यालयमा शिक्षक तथा प्रधानाध्याक रहेका छन् । यसै विद्यालयबाट एसएलसी गरेका पुरुषोत्तम अधिकारी नै अहिले विद्यालयका प्रधानाध्यापक रहेका छन् । विद्यालयबाट कक्षा सात उत्तीर्ण गरेका वासुदेव अधिकारी वि.सं. २०४५ सालदेखि यसै विद्यालयमा शिक्षक छन् ।

विद्यालयकै अगाडि गौतम र ढकालको बस्ती थियो । पछि गौतम र ढकालहरू बसाइँसराइ गरी काठमाडौँ गए । यही विद्यालयमा अक्षराम्भ गर्नेहरू देशका विशिष्ट पदमा पुगेका थिए÷छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वन्यायाधीश दामोदरपुरूष ढकाल, प्रा.डा. रामचन्द्र गौतम, प्रा.डा. डिल्लीप्रसाद गौतम (हाल स्वर्गीय), पूर्वएसएसपी एवम् साहित्यकार श्रीपुरुष ढकाल, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य शालिकराम जम्कट्टेल, पूर्वप्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्वप्रजिअ शिवेन्द्रपुरुष ढकाल, प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्रपुरुष ढकाल, वरिष्ठ साहित्यकार कृष्ण गौतमले अक्षर चिनेको यो विद्यालयले अहिले उनीहरूसँग भौतिक अवस्था सुधारको अपेक्षा गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह