विदुर । विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको (एचपिभी) खोप अभियान २०८१ मंगलबार नुवाकोटसहित देशभर शुभारम्म गरेको छ ।
नुवाकोटका ११ हजार एक सय ७८ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने तयारी छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहलाई लक्षित गरी राष्ट्रिय अभियानअन्तर्गत रहेर ११ हजार एक सय ७८ जना किशोरीलाई एचपिभी खोप लगाउन लागिएको हो । लक्षित समूहमा रहेका किशोरीमध्ये विद्यालयभित्र ११ हजार ६१ र विद्यालयबाहिर एक सय १७ जना किशोरी रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटका कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका पदाधिकारीको लागि अभिमुखीकरण तथा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा कार्यालय प्रमुख अधिकारीले माघ २२ देखि फागुन ६ सम्म चल्ने खोप अभियानका लागि तीन सय चारवटा खोप केन्द्र तय गरिएको छ । जसमध्ये किशोरीले विद्यालय दुई सय चारवटा र एक सयवटा स्वास्थ्य संस्थामध्ये जहाँ पायक पर्छ त्यहीँबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सक्नेछन् । खोप निःशुल्क पाइनुको साथै सुरक्षित हुने र खोपले जीवन रक्षा गर्ने भएकाले कुनै भ्रममा नपरी ढुक्कको साथ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन अभियानको लक्षित वर्गको रूपमा लिइएको किशोरीलाई कार्यालय प्रमुख अधिकारीले आग्रह गरेका छन् ।
खोप केन्द्रको रूपमा शैक्षिक संस्था प्रयोग गर्नुपर्ने भएकाले आवश्यक सहजीकरण गरिदिन सम्बन्धित पक्षलाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आग्रह गरेका छन् । त्यस्तै, निकट भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न एचपिभी खोप महत्वपूर्ण भएकाले अभियान सफल बनाउन इमानदारीपूर्वक लाग्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविmमसिंह ठकुरीले बताएका छन् । खोप अभियान नुवाकोटमा मंगलबार विदुर नगरपालिका-९ कोलनीको स्पार्कल इन्टरनेसनल स्कुलबाट शुभारम्भ गरिएको छ । खोप कार्यक्रमको शुभारम्भ विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठ, उपमेयर प्रभा बोगटीलगायत उपस्थित भएर खोप लगाउन आग्रह गरेका छन् । त्यसैगरी, ११ वटै पालिकामा खोप अभियान चलिरहेको कार्यालयले बताएको छ ।






प्रतिक्रिया