नुवाकोटका १६७ साना उद्योग बन्द

रु. ६८ लाख ३९ हजार राजस्व सङ्कलन

  • त्रिशूली प्रवाह
  • २४ माघ २०८१, बिहीबार ११:४५

विदुर । चालू आव २०८१/०८२ को पुस मसान्तसम्ममा नुवाकोटका एक सय ६७ उद्योग–व्यवसाय बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको तथ्याङ्कले यस्तो देखाएको हो ।

यस अवधिमा कार्यालयले ४३ वटा नयाँ फर्म दर्ता, एक सय नौवटा खारेज, ७० वटा उद्योग दर्ता, ५८ वटा खारेज भएका छन् । सो अवधिमा कार्यालयले वाणिज्य, उद्योग र अन्य शीर्षकमा रु. ६८ लाख ३८ हजार सात सय ४० राजस्व सङ्कलन गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार धेरै वाणिज्यतर्फका उद्योगतर्फका व्यवसाय बन्द भएका छन् । दैनिक रूपमा उद्योग–व्यवसाय बन्द हुने क्रम वृद्धि भए पनि यसलाई रोक्न सरकारी निकाय र निजी क्षेत्रको नेतृत्वको भूमिकासमेत देखिएको छैन । बिनायोजना व्यवसाय सञ्चालन गर्ने कारणले उद्योग–व्यवसायहरू बन्द हुने गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले बताए । तर, राज्यले व्यवसायमा लगानी गरिसकेकालाई टिकाउने वातावरणसमेत नबनाएको उनको गुनासो छ । यस अवधिमा उद्योगतर्फ ७० वटा र वाणिज्यतर्फ ४३ वटा व्यवसाय दर्ता भएको कार्यालय प्रमुख किशोर सापकोटाले बताए । कार्यालयले यो अवधिमा वाणिज्यतर्फ पाँच सय १७ वटा फर्म नवीकरण, एउटा नामसारी, तीनवटा ठाउँसारी, १९ वटाको उद्देश्य थप, तीनवटाको नाम परिवर्तन, १७ वटालाई प्रतिलिपि दिएको, एक सय ३८ को पुँजी वृद्धि गरेकोसमेत उनले जानकारी गराए ।

कार्यालयले वाणिज्यतर्फ अन्य कार्यको राजस्व रु. २६ लाख ५४ हजार सात सयसहित कुल राजस्व रु. ३० लाख पाँच हजार सङ्कलन गरेको छ । त्यसैगरी यो अवधिमा कार्यालयले उत्पादनमूलक, कृषक तथा वनजन्य, ऊर्जामूलक खनिजजन्य, निर्माण उद्योग, पर्यटन, सेवामूलक, विज्ञान तथा सूचना प्रविधिसम्बन्धी गरी ७० वटा उद्योग दर्ता भई रु. ६ लाख ६८ हजार नौ सय राजस्व सङ्कलन भएको छ । उद्योग दर्ता लगानीमा स्थिर पुँजी रु. १० करोड ३४ लाख ५० हजार, चालू पुँजी रु. पाँच करोड २४ लाख ५० हजारसहित कुल पुँजी रु. १५ करोड ५९ लाख लगानी रहेको कार्यालयमा उद्योगीले पेस गरेको तथ्याङ्कले प्रस्ट पारेको छ । त्यसैगरी, वार्षिक उत्पादन रु. २२ करोड ५७ लाख ३२ हजार र रोजगारी महिला र पुरुष गरी एक सय ६३ लाई हुनेसमेत उद्योगीले पेस गरेको योजनामा उल्लेख छ ।

त्यसैगरी, कार्यालयले चालू आवको यो अवधिमा उद्योगतर्फ नवीकरण पाँच सय ६६, नामसारी पाँच, ठाउँसारी सात, उद्देश्य थप २०, सुविधा सिफारिस एक, प्रतिलिपि १३, पुँजी वृद्धि एक सय २१ वटाको गरेको उद्यम विकास सहजकर्ता एवम् सूचना अधिकारी मेघमाया तामाङ घलेले जानकारी दिइन् । यो अवधिमा कार्यालयले सम्पादन गरेको कार्यबाट रु. ३१ लाख ६९ हजार तीन सय ४० राजस्व सङ्कलन भएकोसमेत बताइन् । उद्योग व्यवसायको लगत कट्टा (खारेज) गर्नेको सङ्ख्या बढ्दै गएको कार्यालयकी सूचना अधिकारी मेघमायाले बताइन् । ‘व्यवसाय चलेन, लाखौँ ऋणमा परियो, कसरी व्यवसाय चलाउनु भन्दै व्यवसायको लगत कट्टा गराउन आउने धेरै छन्,’ उनले भनिन्, ‘हामीले लगत कट्टा गराउन आउनेको कारणसमेत सोध्ने गरेका छौँ । अधिकांशले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको बताएका छन् ।’

कोभिडपछिको आर्थिक मन्दीकै कारण हालसम्म व्यवसाय चलायमान नभएका साथै बन्द गर्ने बढ्दै गएका छन् । नयाँ दर्ता गर्नेमा उत्साह घट्दै नयाँ दर्ता गर्ने र बन्द गर्ने बराबरीजस्तो हुन थालिसकेको कार्यालयले बताएको छ । लगत कट्टा गराउने व्यवसायीले बन्द गराउनुको कारण लेख्दा पसल/व्यवसाय नचलेको र सोही व्यवसायको लगत कट्टा गराएर बिदेसिन चाहेकोजस्ता देखिन्छ । कार्यालय प्रमुख सापकोटाले भने, ‘नयाँ दर्ता गर्नेमा ऋण तथा पुँजी वृद्धि गर्ने पनि रहेको उनले बताए । धेरैजसो नयाँ दर्तामा पनि ऋण र पुँजी वृद्धि देखाउनकै लागि गर्ने गरेको पाइन्छ ।’