सहिदको उपहास

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८१, शुक्रबार १२:४७

हरेक वर्षझैँ यस वर्ष पनि माघ १६ गते सहिदको स्मरण गरेर सहिद दिवस मनाइयो । सरकारले उक्त दिन सार्वजनिक बिदा पनि दियो ।

नेपालमा सहिदको परिभाषा अलमलिँदो अवस्थामा छ । को र कसरी सहिद हुने वा को र कसलाई के आधारमा सहिद मान्ने भन्नेबारे प्रस्ट मापदण्ड अभाव छ । ‘सहिदमा सूचीकृत’ हुने क्रम बढ्दो छ । यसैले गर्दा जनमानसमा सहिद शब्द हल्का बन्दै गइरहेको छ । नेपालमा प्रजातन्त्रका निम्ति भएका वि.सं. २००७ देखि २०६२/०६३ सम्मका विभिन्न आन्दोलनमा लामबद्ध भएर बलिदान गर्नेहरूको इतिहास हामीसँग छ । निरङ्कुश शासकविरुद्ध हजारौँ नेपालीले वीरतापूर्ण र बलिदानीपूर्ण सङ्घर्ष गरेका थिए । वि.सं. १९९७ का सहिदहरूको स्वाभिमान निकै उच्च थियो । राष्ट्रप्रतिको जिम्मेवारीबोधले गर्दा उनीहरूले स्वेच्छाले हाँसेर फाँसीमा चढ्न स्विकारे । हरेक वर्ष मनाइने सहिद दिवस उनीहरूको त्याग र बलिदानीलाई स्मरण गर्दै प्रेरणा लिएर अघि बढ्ने दिन हुन् । आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापन मात्र होइन, गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमाजस्ता वीर त आज खोजेर कहाँ पाउनु ?

विगतमा गणतान्त्रिक आन्दोलनमा सहिद भएका, अङ्गभङ्ग भएका र घाइतेलाई समेत आज तिरस्कार गरिएको छ । एउटालाई सत्ताच्युत गराएर अर्कालाई सत्तारोहण गराउन गरिएको आह्वानमा मर्नेहरूलाई सहिद भनिने चलन आएको छ । आजको लडाइँ नीतिको होइन, सिद्धान्तको पनि होइन, एउटा व्यक्ति ऊ सत्तामा बसिरहन आन्दोलन आह्वान गर्छ, अर्को व्यक्ति उसलाई हटाएर आफू सत्तारोहण हुनाका लागि आन्दोलन गर्छ । नागरिक यसैका लागि सहिद हुन जान्छन् । यी सिद्धान्तविहीन सहिदका आकाङ्क्षीका कारण सिद्धान्तनिष्ठ सहिद ओझेलमा परेका छन् । यद्यपि, राणाशासनको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म कैयन् सहिदले ज्यानको आहुति दिइसकेका छन्, कति बेपत्ता छन्, कति घाइते, अपाङ्गता भएका छन् तापनि आज उनीहरूको जुन सम्मान हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । उनीहरूले गरेको योगदान नै आजको गणतन्त्र प्राप्तिको मूल आधार थियो । ती सब इतिहासका पानामा बसेका छन् । आज राजनीतिक खिचातानीले सहिद शब्दको अवमूल्यन जारी छ । मारिने आन्दोलनकारी र मार्ने सुरक्षाकर्मी सँगसँगै सहिद भएका छन् । कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्नेहरू स्तुत्य हुन्छन्, तर सहिद होइन । तिनलाई सहिद भनिराख्न जरुरी छैन । दुर्घटनामा ज्यान गुमाउने, अपराधीद्वारा मारिने वा घरझगडामा अकाल मृत्युवरण गर्नेका परिवारलाई राज्यले आर्थिक सहयोग उपलब्ध गराए पनि सहिद घोषणा गर्न हतारिनु जरुरी थिएन । तर, यस्तैमा मर्ने, मारिने नै सहिदको सूचीमा लामबद्ध छन् ।

देशको मुक्ति र नागरिक अधिकार प्राप्तिका लागि आफ्नो ज्यान बलिदानीको अर्थ बहन गर्ने शब्द ‘शहीद’ अरबी मूलबाट हुँदै नेपाली भाषामा भित्रिएको आगन्तुक शब्द हो । राजनीतिक शब्दकोश (शिवाकोटी, २०७० : १०८२) मा ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणको तथा स्वतन्त्रताको प्राप्तिका निम्ति, मानवहित र सिद्धान्तका लागि, प्रगति र विकासका लागि बलिदानी दिएर लोकहितमा लाग्ने व्यक्ति’लाई सहिद भनिएको छ । कुनै पनि देश आमूल परिवर्तनका संवाहक बनेका सहिदको त्याग र बलिदानबाट मात्र स्वतन्त्र भएको इतिहास छ । तिनको बलिदानीबाट नै मु्लुकमा परिवर्तन हुन्छ । त्यसैले सहिदलाई परिवर्तनका संवाहकका रूपमा समेत लिइने गरिन्छ । सहिद आफ्नो उद्देश्यका लागि बलिदान दिन पनि तयार रहन्छ ।

आज वास्तविक सहिद हराएका छन् र नक्कली सहिद हाबी भएका छन् । प्रजातान्त्रिक आन्दोलनमा जानेर, बुझेर लागेर मर्नेहरूको कुनै हिसाबकिताब नै छैन । आतङ्क, हत्या, हिंसामा लागेर मर्नेहरूलाई सहिद बनाउन राजनीतिक दलहरू तँछाडमछाड गरिरहेका छन् । यसबाट सक्कली सहिदप्रति अन्याय र अपमान भएको छ । अझै पनि सर्वसाधारण जनता र युवाको लामो सङ्घर्षद्वारा प्राप्त नागरिक अधिकार र सार्वभौमसत्ताले स्थायित्व प्राप्त गर्न सकेको छैन, सहिदका सपना र उनीहरूको योगदानको कदर भएको छैन । आजको अवस्थासम्म आइपुग्दा जनताद्वारा विभिन्न आन्दोलनमार्फत प्राप्त उपलब्धि संस्थागत हुन सकेको देखिन्न । व्यक्तिगत सुख, स्वार्थ र दलीय भागबन्डाको विषयले देश झन्झन् आक्रान्त छ । बढ्दो भ्रष्टाचारपूर्ण अवस्था र राजनीतिलाई पेसा बनाइएका कारण सहिदको सपनामाथि कुठाराघात भएको छ । राजतन्त्रको अन्त्यपछि जनताकै छोरा वा छोरी राष्ट्रपति भए पनि लोकले प्रत्यक्ष परिवर्तनको अनुभूति गर्न पाएको छैन ।