
नेपालको संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी, धारा ३३ मा रोजगारीको हक, ३४ मा श्रमको हकको व्यवस्था गरिए पनि समग्र मौलिक हकहरूको सुनिश्चितताका लागि शिक्षाको अहम् भूमिका हुन्छ भन्ने उल्लेख छ । संविधानमा भएका प्रावधान सहज कार्यान्वयनका लागि साक्षर र शिक्षित जनसमुदाय प्रमुख आधार हो । अनौपचारिक शिक्षाका माध्यमबाट साक्षर शिक्षित समुदायलाई संविधानमा भएका अधिकारलगायत प्रावधानबारे सहज प्रशिक्षण गर्न सकिन्छ । त्यस्तै, दैनिक जीवनमा आइपर्ने कामलाई व्यवस्थित गर्न आवश्यक सूचना र सीप आर्जन गर्न पनि कम्तीमा साक्षर हुनाको विकल्प छैन ।
विज्ञान र प्रविधिमा क्षणक्षणमा चामत्कारिक आविष्कार भइरहेको छ । तीव्र गतिमा आविष्कारित नवीन ज्ञान र सीपलाई समयानुकूल आत्मसात् गर्न आफूलाई सूचना र प्रविधिमा निरन्तर अद्यावधिक गर्नुपर्ने हुन्छ, निश्चित समयमा लिइएको औपचारिक शिक्षा मात्र पर्याप्त हुँदैन जसका लागि ज्ञान, विज्ञान र प्रविधिमा भएका पछिल्ला आविष्कारबाट सुसूचित गराउने खालका साधनस्रोत सम्पन्न र सबैका लागि सहज पहुँच पुग्ने अनौपचारिक शिक्षाअन्तर्गत सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम हुन सक्छ । शिक्षा आर्जन जीवनपर्यन्त निरन्तर चलिरहने प्रक्रिया हो जुन कोक्रोदेखि कात्रो अझ गर्भधारणदेखि मृत्युपर्यन्त चलिरहन्छ । विभिन्न माध्यम र किसिमले जीवनोपयोगी ज्ञान र सीप हासिल गरेर समाजमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन आवश्यक ज्ञान र सीप अनौपचारिक र औपचारिक माध्यमबाट आर्जन गर्नुपर्ने हुन्छ । आजको २१औँ शताब्दीमा विज्ञान र प्रविधिको तीव्र गतिमा विकास र विस्तार भइराखेको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी समृद्धि ल्याउन औपचारिक शिक्षाका विषयवस्तु कतिपय सन्दर्भमा बासी भइसक्छन् । आफूमा भएका मौजुदा ज्ञानसीपलाई निरन्तर अद्यावधिक गरी सफल जीवन जिउन व्यवस्थित र सर्वसुलभ अनौपचारिक शिक्षाको विकास र विस्तार गर्नैपर्छ ।
अनौपचारिक शिक्षा औपचारिक शिक्षाको जननी हो । अनौपचारिक शिक्षाले संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, मानव सभ्यताको विकास र संरक्षण एवम् संवद्र्धन पौराणिक कालदेखि गर्दै आएको छ । पौराणिककालका विद्वान् ऋषिमुनि, विदूषी कुनै विद्यालयका उपज होइनन्, बरु अनौपचारिक प्रकृतिका धार्मिक सङ्घसंस्थाले दिएका शिक्षाको उत्पादन हुन् । औपचारिक शिक्षाको इतिहास अनौपचारिकजति लामो छैन । आदिकालदेखि अनौपचारिक शिक्षाबाट उत्पादित पोख्त विद्वान्हरूको उपज औपचारिक शिक्षा हो । अनौपचारिक शिक्षाको महिमा मानव जीवनलाई सशक्त र सफल बनाउन अनुपम छ । औपचारिक शिक्षाको पाठ्यक्रम, शिक्षण संस्थाको संरचना, कक्षा सञ्चालन समय र पढ्ने उमेर आदिले ज्ञान, सीप हासिल गर्ने दायरा साँघुरो बनाएको छ जबकि अनौपचारिक शिक्षाले आवश्यकता, चाहना र समयको मागअनुसार जुन कुनै समय र स्थानमा हासिल गर्न सकिने विशेषता राखेको हुन्छ । दक्ष जनशक्ति उत्पादनमा व्यवस्थित अनौपचारिक शिक्षाको खाँचो टड्कारो देखिन्छ ।
शिक्षारूपी रथको औपचारिक र अनौपचारिक दुई पाङ्ग्रा एक–अर्काको परिपूरक हुन् । औपचारिक शिक्षामा देखिएका कतिपय विकृति–विसङ्गति र क्षतिलाई निरुत्साहन र न्यूनीकरण गर्न अनौपचारिक शिक्षाको निसङ्कोच योगदान रहन्छ किनकि अनौपचारिक शिक्षाको प्रस्थानविन्दु साक्षरता हो जसबाट मानवले आफ्नो योग्यता र क्षमतालाई परिमार्जनका साथै सशक्तीकरण गर्दै सक्षमता हासिल गर्छ । उसको आयआर्जन स्वभावैले बढ्न गई बालबालिकाले सहज पारिवारिक वातावरणमा शिक्षा हासिल गर्ने अवसर पाउँछन् । उनीहरूको विद्यालयमा उपस्थिति र उपलब्धिस्तर निःसन्देह उच्च हुन्छ नै । तसर्थ अनौपचारिक शिक्षालाई कुनै पनि अर्थमा ओझेलमा पार्नु भनेको विकासको गतिलाई पछि धकेल्नु हो । यस्तो महत्वपूर्ण अनौपचारिक शिक्षाका कार्यक्रमलाई व्यवस्थित रूपमा समुदायसम्म पु¥याउन कम्तीमा एक स्थायी शैक्षिक संरचनाको खाँचो पर्छ । तसर्थ सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक विद्यालय भन्दा अन्यथा नहोला । अनौपचारिक शिक्षाको दायरा र अपरिहार्यताका आधारमा यसको गरिमा बढाउन राज्यको लगानी र ध्यान पर्याप्त नभएको वास्तविकता हो । गुणस्तरीय र प्रतिस्पर्धी जीवन जिउन अनौपचारिक शिक्षा आवश्यक पर्छ ।
विद्यालय, कलेज नगएका निरक्षर वा औपचारिक शिक्षा हासिल गरिनसकेका जोकोहीलाई निरन्तर ज्ञान आर्जन गर्न सहज पहुँचको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । यही वास्तविकतालाई मध्यनजर राखेर अन्य देशमा जस्तै नेपालमा पनि औपचारिक शिक्षाबाट विमुख भएका जनसमुदायलाई समयानुकूल ज्ञान–सीप प्रदान गर्न विविध कार्यक्रम सञ्चालन गरिँदै आएको छ । अनौपचारिक शिक्षाअन्तर्गत सञ्चालित कार्यक्रममध्ये बिचैमा पढाइ छाड्ने बालबालिकाका लागि खुला तथा वैकल्पिक विद्यालय, १५ वर्षमाथिका लागि अनौपचारिक प्रौढ विद्यालय र महिलाका लागि आयआर्जनसम्बन्धी सीप सिकाउन सामुदायिक सिकाइ केन्द्र आदि पर्छन् । यीमध्ये तत्काल आयआर्जनमा सहयोग पुग्ने गरी विविध अनौपचारिक प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने बृहत् उद्देश्य राखेर अनौपचारिक शिक्षा केन्द्रमार्फत सामुदायिक सिकाइ केन्द्रको स्थापना गर्दै जाने नीति लिइएको छ ।
सामाजिक विकृति–विसङ्गति तथा अन्धविश्वासलाई छिमल्दै आजको विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा तथा तीव्र गतिमा भइरहेको परिवर्तनलाई मूल्याङ्कन गर्दै आत्मसात् गर्न निरन्तर शिक्षामा पहुँचको सुविधा आवश्यक पर्छ । सिक्नलाई उमेर र समयले छेक्दैन । बालकको पहिलो शिक्षक आमा र पहिलो विद्यालय घरपरिवार हो । पारिवारिक वातावरणले बालबालिकाको अध्ययन र जीवनमा दूरगामी असर पार्छ । भनिन्छ, आमा शिक्षित भए परिवारका पूरै सदस्य शिक्षित हुन्छन् तर बाबु शिक्षित भएमा ऊ आफू मात्रै शिक्षित नहोला भन्न सकिन्न ।
विद्यालयभित्र आइसकेका बालबालिकालाई टिकाइराखेर निरन्तर शिक्षा हासिल गर्न उत्प्रेरित गर्नुपर्ने औपचारिक शिक्षाको प्रमुख चुनौती भएको छ । ड्रपआउट, अनुपस्थिति, न्यून उत्तीर्ण प्रतिशत, उपलब्धिस्तरजस्ता औपचारिक शिक्षाका नकारात्मक प्रवृत्तिलाई सम्बोधन गर्न सामुदायिक सिकाइ केन्द्रलाई एक सशक्त विकल्पका रूपमा लिन सकिन्छ किनकि सामुदायक सिकाइ केन्द्रमा पुस्तकालयको व्यवस्था गरी पढ्ने कक्षा सञ्चालन गर्न सकिन्छ । एकातर्फ अहिले प्राथमिक विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये ६६ प्रतिशत निम्नमाध्यमिक तहमा र माध्यमिक शिक्षा परीक्षामा २१ प्रतिशत मात्र विद्यार्थी पुगेको देखिन्छ । अर्कातर्फ ३२ प्रतिशत लब्धाङ्क ल्याएर उत्तीर्ण गर्न नसकी असफल हुनेको सङ्ख्या पनि उल्लेख्य छ । विद्यार्थीको प्राप्त उपलब्धिस्तर ५० प्रतिशत पुग्न सकेको छैन । शतप्रतिशत पूर्णता हासिल गर्नु त आकाशको तारा खसाल्नुजस्तै छ । यस्तै, प्राथमिक तहको विद्यार्थीको सरदर ४५ प्रतिशत मात्र उपलब्धिस्तर भएको परीक्षण प्रतिवेदनले देखाएको छ । कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये २१ प्रतिशत मात्र एसइईमा सम्मिलित हुन पुग्छन् । यसप्रकार लाखौँ बालबालिकाले माध्यमिक शिक्षा परीक्षा पनि उत्तीर्ण नगरी बिचैमा पढाइ छाडेको कटुयथार्थ हाम्रासामु छ । यसरी विभिन्न कारणले औपचारिक शिक्षाबाट विमुख भएका जनशक्तिसमेतलाई निरन्तर शिक्षा तथा तालिम दिएर दक्ष जनशक्ति बनाउन अनौपचारिक शिक्षाअन्तर्गतका विभिन्न कार्यक्रमको सशक्त खाँचो देखिन्छ ।
(लेखक शिक्षा मन्त्रालयका पूर्वउपसचिव एवम् नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुन् ।)