
ढिकुरे । नेपालमा केही हुँदैन भन्दै तन्नेरीहरू बिदेसिने क्रम बढिरहँदा उत्तरी छिमेकी देश चीनका व्यवसायी भने समूह बनाएर कृषि क्षेत्रमा लगानी गरिरहेका छन् । चिनियाँ व्यवसायी समूहले नेपालमा कृषिका लागि सम्भावनै–सम्भावना देखेर लाखौँ लगानी गर्न थालेको छ ।
दुई वर्षअघि झापामा लसुनखेती सुरु गरेर व्यावसायिक उत्पादन राम्रो भएपछि हौसिएको सो समूहले नुवाकोट जिल्ला, लिखु-१ मा करिब डेढ सय रोपनी खेत भाडामा लिएर यहाँ यस वर्ष लसुनखेती सुरु गरेको छ । स्थानीय वडाध्यक्ष नरहरि पाण्डेले चिनियाँ टोलीले ६ महिनाको प्रतिरोपनी रु १५ हजार मात्र दिने गरी वडाका पिप्ले, चारसय र लब्धुफाँटका एक सय ४८ रोपनी जग्गा लिएको छ । उनका अनुसार स्थानीय कृषक र चिनियाँ लगानीकर्ताबिच जग्गा भाडाको सम्झौता वडा कार्यालयमा नै गरिएको थियो । खेती गरेर उत्पादित लसुन चीन र भारत निर्यात गर्ने योजना रहेको दोभासे रसुवा निवासी उर्केन घलेले बताए । यस वर्ष परीक्षणका रूपमा लिखुमा लसुनखेती सुरु गरिएको छ, राम्रो भए अर्को वर्ष धेरै क्षेत्रमा लगाउने योजना रहेकोसमेत उनले जानकारी दिए । नेपालमा लसुन, प्याज र छ्यापीखेती प्राचीनकालमा चीनबाट नै बिउ ल्याएर सुरु गरिएको इतिहासमा उल्लेख छ ।
लिखु-१ का रामहरि ढकाल, धवराज ढकाल, शिवप्रसाद लामिछाने, राधाकुमारी लामिछाने, रामराजा लामिछाने, मैयाँ लामिछाने, धर्मदत्त लामिछाने, मैयाँकुमारी क्षेत्री, ज्ञानप्रसाद लामिछाने, उर्मिला पाण्डे, बद्रीप्रसाद लामिछाने, मातृकाप्रसाद लामिछाने तथा वडा नं. २ का पूर्णबहादुर राई, मीनबहादुर राई, कनकबहादुर राई, अनिता खड्का, रामबहादुर दीक्षित, खिलप्रसाद लोहनीलगायतका जग्गा पालिकाको रोहवरमा गत मङ्सिरमा भाडा सम्झौता भएको थियो ।
गाउँघरमा युवा बिदेसिने क्रमसँगै खेतबारी बाँझो रहन थालिरहेको अवस्थामा विदेशीले नै निर्यात गर्ने उद्देश्यले भाडामा जग्गा लिएर खेती सुरु गर्दा स्थानीयवासीलाई कृषिकर्ममा लाग्न उत्प्रेरणा र हौसला मिल्ने नारायणदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. लिखु–१ का अध्यक्ष रामशरण थापाले बताए । उक्त समूहले लसुनको बिउ चीनबाट ल्याएर गत पुसमा रोपेको हो । आगामी चैतभित्र उत्पादन हुने बताइएको छ । लसुनखेतीका लागि उनीहरूले आवश्यक पर्ने स्थानीय मल, विषादी, कृषि उपकरण र श्रमिक प्रयोग गरिरहेको वडासदस्य रामराजा लामिछानेले बताए । उनले भने, ‘चाइनिजले रु. २२ लाख ५० हजार त जग्गा भाडाका लागि बुझाएका छन्, मल, विषादी, उपकरण र कामदारमा अहिलेसम्म रु. ६० लाखभन्दा बढी खर्चिसकेका छन् ।’ चिनियाँ टोलीले स्थानीय कामदारलाई घन्टाको रु. एक सयका दरले ज्याला दिइरहेको स्थानीयवासी युवा सन्तोष लामिछानेले जानकारी दिए ।