काठमाडौँ । नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष तथा युवा अभियन्ता विदुर नगरपालिका–२ सीतापोखरी नुवाकोटका सरोज बानियाँ सन् २०२४ को ‘नेसनल सोसल वेलफेयर अवार्ड’बाट सम्मानित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमबिच गत हप्ता प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरेकी हुन् ।
आयोजकका अनुसार विभिन्न कार्यक्रम तथा तालिममार्फत सशक्तीकरण गर्दै युवालाई नेतृत्वदायी भूमिकामा ल्याउन पु¥याएको योगदानको कदर गर्दै बानियाँलाई सम्मान गरिएको हो । डेढ दशकदेखि युवा सशक्तीकरणमा सक्रिय बानियाँको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदै आएको छ । त्यस्तै, उनको अगुवाइमा हरेक प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी युवालाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति, स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना, बाली र कृषि तथा जैविक विविधता संरक्षणमा युवाको भूमिका, सूचना प्रविधिलगायतका विषयमा विभिन्न क्रियाकलापमा संलग्न गराउँदै आइरहेका छन् । बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एसियाली राष्ट्र सम्मेलित एसियन युवा सम्मेलनसमेत सम्पन्न भइसकेका छन् । बानियाँसँगै सिजन मिडिया प्रालिले विभिन्न विधामा गरी १८ व्यक्ति तथा संस्थालाई पाँचौँ संस्करणको नेसनल सोसल वेयलफेयर अवार्ड प्रदान गरेको छ ।
त्यस्तै, नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौँका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ । सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रूपान्तरणकारी योगदानका लागि सम्मान प्रदान गरिएको बताए ।
प्रतिक्रिया