बट्टार । नुवाकोट जिल्लाको विदुर नगरपालिका-४ बट्टार बसपार्कमा निर्माण भएको कोसेली घर अस्थायी प्रहरीचौकीमा कार्यरत इन्चार्ज र सिपाहीको निवास बनेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा सङ्घ, प्रदेश र नगरपालिकाको लागत साझेदारीमा दुई तलाको कलात्मक शैलीमा कोसेली घर निर्माण गत २०७९ मा सम्पन्न भएको थियो । कोसेली घर नगरपालिकाको स्वामित्वमा रहेको छ ।
निर्माण सम्पन्न भएको कोसेली घर तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा ल्याउन नगरपालिकाले आँलटाँल गरिरहेको उद्यमी व्यवसायीका संस्थाले आरोप लगाएका छन् । व्यवसायी सङ्घ संस्थासँग मिलेर कोसेली घर केही महिनामै सञ्चालन गर्न नीतिगत निर्णय भइसकेको नगर प्रमुख राजनलाल श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो । नगरपालिका र तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको (सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेट) लागत साझेदारीमा निर्माण भएको हो । उक्त भवनमा रू.७० लाख भन्दा बढी लगानी भईसकेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिका र जिल्लाका लघु उद्यमी तथा कृषकले उत्पादन गरेको सामाग्री प्रदर्शनी, बिक्री गर्ने र आर्थिक उपार्जनमा जोड्ने उद्देश्यले निर्माण गरिएको पूर्व नगरप्रमुख सञ्जु पण्डितले बताउनुभयो ।
निर्माण ढिलो भएकोले आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउन नसकेको उहाँले बताउनुभयो । उपभोक्तमार्फत गर्दा रू.१५ लाख कम लागतमा बनेको उक्त कोसेली घर निर्माणमा नगरको रू.२२ लाख र घरेलु तथा साना उद्योग कार्यालयको रू.४८ लाख लगानी रहेको छ । नगरपालिकाले लाखौँ रकम खर्चेर बनेको कोसेली घर र स्थानीयले निःशुल्क ३५ रोपनी जग्गा दिएर बनेको बट्टार बसपार्क संरक्षण र सञ्चालनमा ल्याउनुपर्ने धारणा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष धननारायण चित्रकारको रहेको छ ।
प्रतिक्रिया