+
Search

ताजा अपडेट +

पपुलर +

जनयुद्धले उठाएका विषय अझै बाँकी

जनयुद्धले उठाएका विषय अझै बाँकी
त्रिशूली प्रवाह
५ महिना अगाडी

माओवादी जनयुद्ध नेपालको वर्गीय, जातीय, लिङ्गीय र क्षेत्रीय उत्पीडनविरूद्धको मौलिक आन्दोलन हो । यो नेपालको राजनीतिक आन्दोलनको मुद्दा मात्र नभई संयुक्त राष्ट्र सङ्घ (अनमिन) का मध्यस्थताका कारण अन्तरराष्ट्रिय राजनीतिक मुद्दा पनि बन्न पुग्यो ।

नेपाली समाज उच्च र नीचमा विभाजित थियो, वर्गीय, जातीय, महिला र दलितमाथि उत्पीडन थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको हालत अत्यन्तै नाजुक थियो, सामाजिक विभेद, जाँडरक्सी सेवन, जुवातास, महिला बेचबिखन, हरवाचरवा, बिर्ता, गुठीलगायत अनेकौँ समस्या थिए । घाटा–व्यापार, भ्रष्टाचार, तस्करी, कालाबजारीको बिगबिगी थियो, त्यसको अन्त्य गर्न जनयुद्धले समग्र युद्धको भूमिका निर्वाह गर्यो। जनयुद्ध आमनेपालीको रगत–पसिनाको योगदानका कारण माओवादीको मात्र नभई नेपालको परिवर्तनको आन्दोलन बन्न पुग्यो । यसले नेपाली समाजमा ठुलो चेतना जगाएको छ । नेपालका सबै राजनीतिक दललाई ‘नयाँ’ बन्न प्रेरित गरेको छ । जनयुद्धले उठाएका कैयौँ मुद्दा, समृद्धि, सुशासन र सामाजिक न्यायको आन्दोलन बाँकी नै छ । आज जनताले यो अभिभारा शान्तिपूर्ण ढङ्गले पूरा गर्न सक्ने वातावरण बनेको छ । तत्कालीन जनयुद्ध एउटा उत्पीडनविरूद्धको सामुदायिक प्रतिबद्धता थियो । सामन्तवादलाई फाल्न र विस्तारवादी/साम्राज्यवादी हस्तक्षेप कम गर्न मात्र होइन, जातजाति र भाषाभाषीको आन्तरिक र बाह्य राष्ट्रियता मजबुत बनाउन, सामाजिक विकृतिविसङ्गति अन्त्य गर्न मात्र होइन, सामाजिक न्याय र समृद्धिका पक्षमा जनयुद्धले सामूहिक प्रतिबद्धताको आधार तयार गर्न सकेको थियो ।

शान्ति प्रक्रिया, संविधानसभा, सङ्घीयतामार्फत तल्लो वर्गका थुप्रै अधिकार सुनिश्चित भए पनि जुन शासकीय स्वरूपलाई प्रयोग गरियो, त्यो सामूहिक स्वरूप बन्न सकेन, संसदीय भद्दा खेलमा परिणत भई नराम्रोसँग भत्किन पुग्यो । चुनावी प्रक्रिया प्रजातान्त्रिक हुँदा हुँदै पनि खर्चिलो, भड्किलो र मत किनबेचका अवस्थाबाट दलाल पुँजीपतिका हातमा सत्ता पुग्ने अवस्था सिर्जना भयो  जसले माओवादीभित्र पनि निजीकरण, वर्गोत्थान र दलाल पुँजीवादको वीजारोपण ग¥यो । त्यसैले जनताको आन्दोलनलाई फेरि पुनर्संरचना गर्नुपर्ने अवस्था देखियो । वर्गीय समाजमा वर्ग रहेसम्म जनयुद्ध विभिन्न रूपमा अभिब्यक्त भइरहन्छ । कहिले चुनाव, कहिले सरकार, कहिले सुशासन र भ्रष्टाचारविरूद्ध, कहिले सामाजिक न्याय, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता रक्षाका लागि निरन्तर लड्न र समाजवादी आन्दोलनको जनयुद्ध भिन्न रूपमा जारी नै छ । सबैखाले उत्पीडनविरूद्ध तल्लो वर्ग र आमजनताको हस्तक्षेप नै साँचो अर्थमा जनयुद्ध हो ।

इतिहासमा भीमदत्त पन्तको विद्रोह, तराईका किसान आन्दोलन, धादिङको खनियाँबासका तामाङ विद्रोह, मोहनविक्रमसिंह, मदन भण्डारी, पुष्पलाल आदिले गरेका आन्दोलन, कांग्रेसले गरेको सशस्त्र युद्ध र झापाली युवाले गरेको झापा विद्रोह, विसं २०३६ को आन्दोलन, सत्याग्रह, रामराजा सिंहको बम काण्ड, विसं २०४६ को संयुक्त जनान्दोलन सबै जनयुद्धकै भिन्न रूप थिए । जनयुद्ध भनेको जनताको हस्तक्षेप, आन्दोलन र खबरदारी हो । यो जनताका पक्षमा, जनताका लागि जनताले गर्ने सबै प्रकारको उत्पीडनविरूद्धको विद्रोह हो । त्यसैले आज शासकहरू जनयुद्धदेखि मात्र होइन, ‘जनयुद्ध’ शब्दसँग समेत डराइरहेका छन् । विसं २०५२ फागुन १ देखि सुरू भएको जनयुद्ध पनि बादशाहलाई घोडाबाट खसाल्ने जनताको सचेत हस्तक्षेप थियो ।
माओवादी जनयुद्धका क्रममा केही गम्भीर कमजोरी हुँदा त्यस्तो गर्नेलाई तत्काल कारबाही गर्ने र जनतासँग आत्मालोचित हुँदै, माफी माग्दै, सच्चिँदै अगाडि बढ्यो । तर तत्कालीन शासकले जनतालाई आतङ्ककारीका नाममा पाँच हजारभन्दा बढी बेपत्ता बनायो, ती मानिस आज कहाँ छन् ? यदि शासकहरू नबदलिने हो भने जनता फेरि जनविद्रोह गर्न बाध्य हुनेछन् । त्यसैले परिवर्तनलाई सम्मान र संस्थागत गरौँ, सबै मिलेर देश बनाऔँ । देशको प्राकृतिक स्रोतसाधन मूलतः पानी र युरेनियमको रक्षा र सदुपयोग गरौँ । स्थिर र बलियो सरकार बनाउन राष्ट्रिय सहमति कायम गरी संविधान संशोधन गरौँ ।

आजको विश्व परिस्थितिमा समाजवाद
विज्ञान र मानव समाजको विकासक्रमलाई हेर्दा बाफबाट चल्ने इन्जिनको विकास युरोपमा भएपछि उत्पादन, शक्ति र स्रोतको केन्द्र एसियाबाट युरोपतिर सर्यो । अठारौँ शताब्दीदेखि १९ औँ शताब्दीका मध्यसम्मका अवधिलाई पहिलो औद्योगिक क्रान्तिको युग भनिन्छ । विद्युत्को आविष्कारपछि १८ शताब्दीको मध्यदेखि २० औँ शताब्दीको मध्यसम्मको अवधिलाई दोस्रो औद्योगिक क्रान्तिको युग भनिन्छ । पहिलो र दोस्रो विश्वयुद्धले युरोपलाई निकै कमजोर मात्र बनाएन, उत्पादन, शक्ति र स्रोतको केन्द्र युरोपबाट अमेरिकातिर सर्यो । बिसौँ शताब्दीको मध्यदेखि अन्त्यसम्मको विज्ञान, प्रविधि र डिजिटल युगलाई तेस्रो औद्योगिक क्रान्तिको युग भनिन्छ । यस अवधिमा विश्व शीतयुद्धको सङ्कटबाट गुज्रियो । अमेरिकाले गरेको शक्ति सञ्चय र सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै समाजवादी ध्रुव ढलेको र पुँजीवादी ध्रुव अजेय एवं निर्विकल्प रहेको घोषणा मात्र गरिएन, समाजवाद अर्थात् माक्र्सवादकै अन्त्य भएको प्रचारसमेत गरियो । एक्काइसौँ शताब्दीको सुरूदेखि हालसम्म साइबरनेटिक, डिजिटल, नानो टेक्नोलोजी, जेनोम र कृत्रिम बौद्धिकताको ‘एकीकृत सूचना प्रविधिको युगलाई’ चौथो औद्योगिक क्रान्तिको युग भनिन्छ । यसले मान्छेको दिमागमा उथलपुथल ल्याइदिएको छ । चेतनाले प्रविधिमा र प्रविधिले मान्छेका श्रममा सरलता ल्याएको छ, उत्पादक शक्तिमा फेरबदल ल्याइदिएको छ । वर्ग संरचना, स्वरूप र चेतनामा फेरबदल हुँदा विश्वको पुनःसंरचनाको प्रश्न आज नयाँ ढङ्गबाट उठिरहेको छ ।

युक्रेन–रूस युद्धले रूस र चीनको सहकार्य मात्र बढाएन, भारतको तटस्थताले ठुलो प्रश्न खडा गरिदियो । पश्चिम एसियामा चलिरहेको युद्ध, नेटो र ब्रिक्सको द्वन्द्व, व्यापार युद्धका नाममा भएको नाकाबन्दी र विभिन्न सर्त, युद्ध सामग्री उत्पादन र त्यसको परीक्षणका नाममा भएको प्रतिस्पर्धा र नक्षत्र कब्जा गर्ने होडबाजी, बिआरआई र एमसिसीका नाममा हिन्द–प्रशान्त क्षेत्रमाथि हस्तक्षेप गर्ने होडबाजी, कोराना महामारी नियन्त्रणमा समाजवादी देशमा भएको सफलता र पुँजीवादी देश असफल हुँदा भएको ठुलो मानवीय क्षतिले आज नयाँ ढङ्गबाट विश्व पुँजीवादको विकल्पको बहस चलिरहेको छ । आर्थिक रूपमा पश्चिमको पतन तथा पूर्व र दक्षिणको उदय हुँदैछ । भूगोल र जनसङ्ख्या दुवै हिसाबले महाशक्तिका रूपमा रहेको एसिया उत्पादन, शक्ति र स्रोत तथा शीतयुद्धको पनि केन्द्र बन्दै गएको छ । विश्वभरि फेरि नयाँ ढङ्गबाट क्रान्तिकारी आन्दोलन पुनःसङ्गठित हुँदै जानु, अन्तरसाम्राज्यवादी अन्तरविरोधले एकध्रुवीय विश्व व्यवस्था विघटन र बहुध्रुव बन्दै जानु, वर्गीय खाडल तीव्र भएको पुँजीवादमा समुदाय, निजी क्षेत्र र राज्यको लडाइँ पनि तीव्र हुनु, निजी क्षेत्र र राज्य बलिया भए पनि समुदाय कमजोर हुँदा स्वतन्त्रता, समानता र भ्रातृत्वको अन्त्य हुनु भनेको पुँजीवाद पूर्ण असफल हुनु हो ।

आज पुँजीवादको विकल्प ‘नयाँ वैज्ञानिक समाजवाद’ बन्दै गएको छ । समुदायलाई बलियो बनाउने ‘म र हामी’ अर्थात् ‘निजी सम्पत्ति र सामूहिक सम्पत्ति’ समायोजन गर्दै समाजवादको नयाँ र उन्नत विकल्पको प्रतिस्पर्धा गर्ने व्यावहारिक बाटो नै आजको वैज्ञानिक समाजवादमा जाने बाटो हो । सबै दुःख, उत्पीडनको अन्त्य, विज्ञान र पर्यावरणमैत्री समाजले स्वतन्त्रता, समानता र भ्रातृत्वभाव जन्माउँछ, जसले विश्वको एकतालाई मजबुत बनाउँदै मानवीय खुसी पैदा गर्छ । समाजवादको भूमण्डलीकरणले मानवजातिको अन्तरिक्ष र त्यसभन्दा परको न्यायोचित प्रवेशमा तीव्रता आउने छ । मान्छेले वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा विश्वलाई एकताबद्ध गर्न सक्यो भने मानवजाति थप विकसित र रूपान्तरित मात्र हुँदैन, सौर्यमण्डलको अन्त्य हुँदा पनि अर्को सौर्यमण्डलमा उसको बस्ती बसिसकेको हुने छ । माक्र्सले भनेझैँ साम्यवाद भनेको स्वतन्त्रता, समानता र भ्रातृत्वसहितको मानव समाज हो । त्यहाँ देश र विश्व रहन्छ, शोषण, शासन र सिमाना रहँदैन, व्यक्ति र सामुदायिक अनुशासन रहन्छ, कानुन रहँदैन, मानव समाज रहन्छ, वर्ग रहँदैन, पर्यावरण रहन्छ, जीवजन्तु रहन्छन्, उत्पादन, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, अनुशासन, मनोरञ्जन, सेवा र खुसी नियमित जीवनशैली बनेको हुन्छ । यस्तो खालको मानव समाज निर्माण गर्न, सबैखाले अन्याय पूर्ण युद्ध अन्त्य गर्न गरिएको जनताको हस्तक्षेप नै जनयुद्ध हो ।

नेपालका सन्दर्भमा जनयुद्धको लक्ष्य सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्र होइन, विश्वकै सन्दर्भमा वैज्ञानिक समाजवाद भन्दा पनि परसम्मको प्रश्न हो । यो नेपालमा मात्र होइन, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, चीनलगायत विश्वभरि नै फरक रूपमा जारी छ । जबसम्म विश्वमा वर्गीय समाजको अन्त्य भएर मानव समाजको निर्माण हुँदैन, तबसम्म जनयुद्ध जारी रहन्छ । (साभार : नयाँपत्रिका २०८१ फागुन १ गते । लेखक गोतामे रसुवा प्रदेशसभा ‘ख’ बाट बागमती प्रदेश सभाका सदस्य हुनुहुन्छ जो सशस्त्र सङ्घर्षका बेला जगत्जङ्ग उपनामबाट चिनिनुहुन्थ्यो । सो समयमा उहाँलाई रसुवा–नुवाकोट क्षेत्रको जिम्मेवारी पार्टीले दिएको थियो ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह