+
Search

ताजा अपडेट +

पपुलर +

सात महिनामा ‘बागमतीको दोस्रो पशुपतिनाथ’ को भेटी रु.४५ लाख, खर्च रु.१५ लाख

सात महिनामा ‘बागमतीको दोस्रो पशुपतिनाथ’ को भेटी रु.४५ लाख, खर्च रु.१५ लाख
त्रिशूली प्रवाह
५ महिना अगाडी

समुन्द्रटार । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको नुवाकोट जिल्लाको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनले चढाएको भेटी पारदर्शी हुन थालेपछि आम्दानी बढेको छ । दुप्चेश्वर-५ स्थित मन्दिरमा गत २०८० वैशाखदेखि चढाइएको भेटी सङ्कलनलाई पारदर्शी बनाउँदै मन्दिरका पुजारी र कर्मचारीलाई तलब सुविधाको व्यवस्था गरिएको थियो ।

‘बागमतीको दोस्रो पशुपति’को मन्दिरको आय–व्यय दुप्चेश्वर विकास कोषमार्फत् हुँदै आएको छ । कोषको अध्यक्षमा पालिकाका अध्यक्ष शङ्करबहादुर थापा, उपाध्यक्षमा पालिकाकी उपाध्यक्ष माकुरी तामाङ, सचिवमा बुद्धिमान तामाङ तथा सदस्यमा वीरबल तामाङ, धु्रवकर केसी, ज्ञानबहादुर तामाङ, मइतबहादुर तामाङ, किशोर आचार्य, भगवानहरि धिताल, मेन्दोल्हामु वाइवा, सानुबाबु विक र दावाफिन्जो शेर्पा छन् । कोषले मन्दिरमा चढाइने भेटीको दैनिक गणना गरी सार्वजनिक गर्ने गरेको छ । चालू आवको साउनदेखि माघसम्म सात महिनाका अवधिमा लगभग रु.४५ लाख भेटी सङ्कलन भई रु.१५ लाख व्यवस्थापनमा खर्च भएको कोषले जनाएको छ । कोषले मूलपुजारी एकजनालाई मासिक रु.३० हजार, पुजारी एक जनालाई रु.२० हजार, लामा पुजारी एक जनालाई रु.२५ हजार, कार्यालय प्रमुख एक जनालाई रु. २३ हजार, सुरक्षा प्रमुख एकजनालाई रु.२२ हजार, कार्यालय सहयोगी दुईजनालाई रु.१७ हजारको दरले रु.३४ हजार, भेटी सङ्कलनकर्ता एकजनालाई रु. १७ हजार, आरती टोलीलाई मासिक रु. आठ हजार, सोमबार र शनिबारका लागि दुई स्वयम्सेवकलाई दिनको रु. एक हजार तथा पूजा सामग्री, चिया, नास्ता, खानाका लागि उठेको भेटीबाट खर्च गर्ने गरेको छ । यस वर्ष मन्दिरमा लागेको मङ्सिर धान्यपूर्णिमाको मेला (तीन दिन)मा मात्र रु.आठ लाख ६४ हजार दुई सय १२ र सन्ध्याकालीन आरतीबाट रु.५७ हजार एक सय १५ भेटी सङ्कलन भएको कोषले सार्वजनिक गरेको छ ।

फेसबुक पेजबाट भेटी सार्वजनिक
कोषले सङ्कलित भेटी मन्दिरका नाममा रहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट दैनिक सार्वजनिक गर्ने गरेको छ । भेटी सङ्कलनलाई व्यवस्थित गरेर तथा सेवा, सुविधा तोकेर व्यवस्थापन गर्दा मन्दिरको आम्दानी बढेको छ । पालिकाले मन्दिरको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा समन्वय गरिरहेको अध्यक्ष एवम् कोषका अध्यक्ष थापाले बताए । काठमाडौँबाट उत्तरपश्चिम ६३ किलोमिटरको दूरीमा रहेको सो मन्दिर नुवाकोटको सदरमुकामदेखि भने ३४ किलोमिटर उत्तरपूर्वमा छ । बागमती प्रदेश, काठमाडौँमा रहेको पशुपतिनाथ पहिलो र यो मन्दिर दोस्रो पशुपतिनाथको नामबाट समेत चिनिन्छ जहाँ दर्शन गर्ने भक्तजनको सङ्ख्या बर्सेनि बढिरहेको छ । मन्दिरपरिसरमा कोषले पर्यटन विभागबाट प्राप्त बजेटबाट तादी खोलामा तटबन्ध र मन्दिर प्रवेशद्वार निर्माण तथा रङरोगन लगाउने कार्य गरिरहेको संस्थाका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।


हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको आस्थाको प्रतीक ‘दुग्धेश्वर’मा प्रत्येक वर्ष मङ्सिर पूर्णिमामा मेला लाग्ने गरेको छ जुन पाँच दिनसम्म चल्छ । मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमाको दिनसम्म मेला लाग्छ । भक्तजनले पूजा–आराधना गर्ने तथा भगवान् शिवप्रतिको आस्थाभाव प्रकट गर्दै आफूले चाहेको वर माग्ने चलन छ । यहाँ मागेको पाइने र आँटेको पुग्ने विश्वास गरिन्छ । विशेषतः सो धार्मिकस्थलमा पहिले गाईको दुध र नाम्ला आदि चढाइन्थ्योे ।

काठमाडौँबाट कसरी पुग्ने
सङ्घीय राजधानीबाट जाँदा सामाखुसी चोक हुँदै टोखा–छहरे सडकखण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानीटार–समुन्द्रटारबाट दुप्चेश्वर पुग्न सकिन्छ । काठमाडौँबाट कलङ्की–थानकोट हुँदै पृथ्वी राजमार्गको धादिङ, गल्छीबाट यात्रा गर्ने यात्रु भने देवीघाटबाट गँगटे–ढिकुरे–माछापोखरी–खरानीटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिब ९६ किलोमिटर यात्रा गर्दा पुग्न सक्छन् ।

किंवदन्ती
पौराणिक कथनअनुसार करिब पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरामा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । मेलामा तामाङ, शेर्पा, गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनको बिक्री–वितरणसमेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीको त्यसवेला ठुलो भिड लाग्ने गरेको छ । अर्को किंवदन्तीअनुसार समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएका थिए । त्यसैले दुप्चेश्वरलाई सानो पशुपतिनाथका रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्छ । जोडी जुराउन र सन्तान माग्नकै लागि पनि यहाँ भक्तजन दैनिकजसो आउने गरेको मन्दिर रहेको वडाका वडाध्यक्ष किशोर आचार्यले बताए । सन्तान नभए दिने (विशेष गरी छोरा), चौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकाको बोली नफुटेमा बोली फुट्ने, आफ्नो मनले चाहेको जे माग्यो त्यो सबै पूरा हुनेलगायत जनविश्वासमा भक्तजन आउने गरेकोसमेत उनले जानकारी दिए ।

आन्तरिक पर्यटनको सम्भावना
यो मन्दिरले आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रचुर सम्भावना बोकेको छ । काठमाडौँदेखि दुप्चेश्वर मन्दिर खासगरी टोखामार्ग हुँदा छिटो पुग्न सकिने तथा धादिङ, गल्छी हुँदै यात्रा गर्ने यात्रुले भने करिब ९६ किलोमिटर यात्रा गर्दा पुग्न सकिने हुँदा आन्तरिक पर्यटक भित्र्याउन सहज छ । मन्दिरसम्म पुग्ने सडकमार्ग सहज रहेकाले दुप्चेश्वरको दर्शन गरेर गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्यासमेत बर्सेनि बढिरहेको वडाध्यक्ष आचार्यले बताए । समयअनुसार प्रचारप्रसारले तीव्रता पाउँदा मन्दिरमा १२ महिना नै दर्शनार्थी आउने गरेका छन् । ठुलो एकादशी, शिवरात्रि, बालाचतुर्दशी, ऋषिपञ्चमी, साउनका सोमबारलगायत हिन्दु परम्पराअनुसार शिव मान्ने पर्वमा दुप्चेश्वरमा दर्शनार्थीको निकै ठुलो भिड लाग्छ । पहाडका फेदमा रहेको मन्दिर पवित्र सूर्यमती किनारमा अवस्थित छ । धार्मिक पर्यटनको गन्तव्यका लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको सो धार्मिकस्थलको स्थानीय सरकारीस्तरबाट अझ प्रचारप्रसार हुन सके आन्तरिक एवम् बाह्य पर्यटक सजिलै भित्र्याउन सकिन्छ । पहाडका बिचमा रहेको दुप्चेश्वर महादेवको शिवलिङ्ग तादी खोला किनारदेखि करिब दुई सय ५० मिटरमाथि शिलामा अर्धवृत्ताकार आकारमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह