विदुर । समुद्र मन्थनअनुसार गोसाइँकुण्डमा त्रिशूल गाडेर उत्पत्ति भएको पानी बगेर त्रिशूली नदी बनेको हो । हिन्दु देवता शिवको कथा सुन्दा त्यसमा अझै सत्यता पाउन सकिन्छ । यसलाई त्रिशूलीगङ्गा अर्थात् धर्मधाराका रूपमा पनि पुजिने गरिन्छ । त्यही नदीको सामीप्यमा रहेको विदुर–१, नुवाकोटको बस्ती नै त्रिशूलीबजार हो ।
ऐतिहासिक कालदेखि नै हिमालय पार गरेर चीन र भारत आवतजावत गर्ने बाटो नेपाल रहेछ । त्यसमध्ये त्रिशूलीबजार पहिलेदेखि आउजाउ गर्न प्रयोग गरिने व्यापारिक केन्द्र भएको इतिहासमा उल्लेख छ । नेपाल र तिब्बत (भोट)को सम्बन्धबारे खोजी गर्दा लिच्छविकालमा नै यस बजारको विकास भइसकेको थियो । त्यस समयदेखि नै सम्बन्ध प्रगाढ रहेको इतिहास छ । इतिहासका दृष्टिले यो सामरिक महत्वको स्थल पनि हो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपश्चात् यसलाई मुलुकको शीतकालीन राजधानी बनाए । यससँगै यो भृकुटीको नेपाल–चीन घर–माइती गर्ने र वास बस्ने स्थलसमेत रहेको तथ्य धेरैलाई थाहा नहुन सक्छ । त्रिशूलीबजार लिच्छविकालदेखि नै भोट व्यापारको मुख्य नाका थियो । नेवार समुदाय काठमाडौँबाट व्यापारका लागि आएर यहीँ बसोबास गर्न थालेको बताइन्छ । नेवारसँगै त्रिशूलीमा पृथ्वीनारायणका साथ आएका मुसलमान समुदाय पनि व्यापारमा संलग्न भएका छन् । लामो समयदेखि त्रिशूलीबजारमा कपडा व्यवसायमा सक्रिय मोहम्मद जफर आफ्नो पुख्र्यौली थलो काठमाडौँ मान्छन् । उनलाई आफ्नो धर्मले कहिल्यै अरूलाई काटमार गर्ने, दुःख दिनेजस्ता कुरा सिकाउँदैन । उनी भन्छन्, ‘इस्लाम इज साइन अफ पिस ।’
नेवारबस्तीका बिचमा कुनै न कुनै मुसलमानको घर हुन्छ नै । लिच्छविकालमा मुसलमान कस्मिरबाट आएको मानिन्छ । उनीहरू व्यापारका सिलसिलामा प्रवेश गरेका थिए । चुरा, पोते, मेहेन्दी तथा शृङ्गारका सामग्री भित्र्याउने मुसलमान नै हुन् । ७६ वर्षीय जफर आफ्नो पुख्र्यौली तथा यस बजारसँग सम्बन्धित कथा सुनाउँछन् । पृथ्वीनारायणको उदय भएका वेला विभिन्न राज्यमा देश छरिएर रहेको थियो । कर्णाली क्षेत्रमा २२ राज्य थिए जसलाई बाइसे राज्य भनिन्थ्यो । गण्डकी क्षेत्रमा २४ राज्य थिए । तिनलाई चौबिसे राज्य भनिन्थ्यो । पूर्व, दक्षिण र दक्षिणपूर्वी क्षेत्रमा सेन राज्य गरी विभिन्न राज्य थिए । त्यस समयमा आफ्नो पुर्खा गोरखाबाट काठमाडौँ र त्यहाँबाट बेत्रावतीमा छाला सङ्कलन गरेर काठमाडौँ पठाउने कार्यमा संलग्न रहेको जफर बताउँछन् । त्रिशूलीमा ११ घर मुसलमान खरले छाएका घरमा बसोबास गर्थे । गोरखा दरबार जाँदा पृथ्वीनारायणले आफूहरूलाई लालमोहर दिएर गएकोसमेत उनले बताए । उनले भने, ‘त्रिशूलीबजार कालापानीजस्तो थियो । त्यहाँ बन्दीलाई सजाय भोग्न पठाइथ्यो । यस नदीमा रहेको ठुलो कालो ढुङ्गामा केराको पात बिछ्याएर दही–चिउरा खान दिई राख्ने चलन थियो । यस्तो व्यक्तिको बढीमा एक हप्तामा मृत्यु हुने गथ्र्याे ।’ पहिलोपटकको नुवाकोट आक्रमणमा पराजित पृथ्वीनारायणले बनारसमा गई हातहतियार र त्यसको निर्माण र प्रयोगका लागि तालिम दिन दुईजना मुसलमान ल्याएको इतिहासमा उल्लेख छ ।
शृङ्गारका सामान कसरी बजारमा आए भन्ने प्रश्नमा जफरले भने, ‘हाम्रा पुर्खा छालाको व्यापार गर्दागर्दै आर्थिक अभावका कारण काठमाडौँको बत्तिसकोठी (इन्द्रचोकनजिक) पुगे । त्यस क्षेत्रमा चुरापोतेको बजार थियो ।’ यसकारण यता ल्याएर व्यापार गर्न सहज रहेको उनले बताए । आफन्तले बजारमा व्यवसाय सुरु गर्दा अरू कुनै कपडा पसल नरहेको जिकिर गर्दै उनले ग्राहकले हप्ता/दस दिन लगाएर हिँडेर नै आउने र बजारमा वास बसेर आफ्नो दैनिक उपभोगका सामान बढीमा ६ महिना या वर्ष दिन पुग्ने गरेर लाने गरेको बताए । व्यापारकै सिलसिलामा नेवारका बिचमा रहेर पनि मुसलमानहरू नेपाल भाषाका साथै तामाङ भाषामा पनि प्रखर छन् ।
२५ वर्षसम्म देशको राजधानी भएको स्थान वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा पश्चिम १ नम्बर नुवाकोट टुक्रिएर नुवाकोट, धादिङ र रसुवा जिल्लामा परिणत भयो । तत्कालीन समयमा त्रिशूली पहिलो बजारका रूपमा विकसित भएको बजार हो । यो बजार ऐतिहासिक र धार्मिक क्षेत्र पनि हो । काठमाडौँ र तिब्वत–नेपाल व्यापार गर्ने व्यापारी त्रिशूलीमा विश्राम गर्थे । तिब्बतबाट काठमाडौँलगायत स्थान आउने मङ्गोलियनले बख्खुभित्र पाँचऔँले, निर्मासीजस्ता विभिन्न हिमाली जडीबुटी राखेर बिक्री गर्थे । त्यसवेला बजारमा नोट होइन, वस्तु साटासाट गर्न पाइन्थ्यो, सामान पनि एक–दुई पैसामा विनिमय हुन्थ्यो । व्यापारीले तिब्बतबाट ल्याएका नुनलगायत सामान फर्कँदा त्रिशूलीमै बिक्री गर्ने हुनाले पनि त्रिशूलीको चमक त्यसवेलादेखि आज पनि रहेको पाइन्छ । त्यसवेला एक पसलमा एक सामान मात्र बिक्री हुने गरेको बताइन्छ । अहिले सडक सञ्जालका कारण वरपर १९ बजारका बिचमा त्रिशूलीबजार रहेकाले व्यापार कम हुने गर्छ । त्रिशूलीबजारमा व्यापारका सिलसिलामा काठमाडौँ उपत्यकाबाट आएका नेवार नै बढी छन् । रैथाने नेवार तथा मुसलमानले नै व्यापार सुरु गरेका थिए । अझै पनि यहाँ एक सय वर्षभन्दा बढी व्यवसाय गरिरहेका परिवार भेटिन्छन् । पाँचौँ, छैटौँ पुस्तासम्म निरन्तर व्यापारमा रहेका परिवारले त्रिशूलीको व्यापारलाई ताजगी दिइरहेका छन् । त्रिशूलीको भित्री बजारमा मुख्यतः मुसलमानकै रजगज चल्छ । मुख्यबजार तथा आसपासमा नेवार देख्न सकिन्छ जहाँ सुन तथा धातु अनि खाद्यान्न व्यवसाय हुन्छ ।
त्रिशूलीका हरेक गल्ली तथा चोकमा सबै थोक पाइन्छ । मानिस जन्मिँदा आवश्यक पर्नेदेखि मृत्युपर्यन्त चाहिने सामान अनि दैनिक उपभोग गरिने नुनदेखि सुनसम्म बजारमा किन्न पाइन्छ । परम्परागतदेखि आधुनिक सामानको एउटै थलो बनेको छ त्रिशूलीबजार । काठका ढोका र झ्याल भएका घर, कुनाकुनामा साना मन्दिर, भूकम्पपछि छेको लगाएर जोगिएका सम्पदा र सम्पत्तिले पनि यस बजारलाई खुला सङ्ग्रहालय बनाएको छ । हरेक जातजातिका आफ्नै भाषा, संस्कृति र रहनसहन छन् । यसका बिचमा मुसलमान समुदायको मस्जिद पनि देख्न सकिन्छ । पुरानो नगर तथा बस्ती कलाको दृष्टिले महत्वपूर्ण मानिन्छन् । त्यस क्षेत्रका सांस्कृतिक परम्परालाई उदाहरणका रूपमा लिन सकिन्छ ।
आधुनिक नेपाल निर्माण र तिव्बतसँगको व्यापारको पुरानो इतिहास नियाल्दा नुवाकोट एउटा पाठशाला हो भन्न सकिन्छ । नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । वि.सं. १८०१ मा गोर्खालीको विजयपछि यसलाई राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझ्न सजिलो भएको थियो । त्यसो त मुसलमान समुदाय हालको नेपालको भूमिभित्र धेरै पहिलादेखि बसोबास गर्दै आएको तथ्य छन् । वि.सं. ८४० तिर मल्लकालमा नेपालले अरब देशमा व्यापार गरेको इतिहास पाइन्छ । उक्त वेला नेपालबाट कस्तुरी निकासी गरिथ्यो । त्यस्तै, सुन र धातुका सामान तथा छाला विभिन्न देशमा निर्यात गरिन्थ्यो ।बाइसे, चौबिसे राज्यमा मुसलमान दरबारसँग निकट थिए । राज्य सञ्चालनका क्रममा तिनले मुखिया तथा विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए । नेपाल एकीकरणमा मुसलमान समुदायको उच्च भूमिका रहेको मान्न सकिन्छ । नुवाकोटका मुसलमान खासगरी व्यापार, व्यवसायमा केन्द्रित भए पनि आजभोलि विभिन्न पेसामा आबद्ध छन् । त्रिशूलीबजार केवल वस्तु विनियम गरिने बजार मात्र नभएर एक पुरातात्विक स्थल पनि हो । यसका साथै यस ठाउँमा विविध जातजाति र पन्थ, सम्प्रदायका मानिसको बसोबास छ । यस बजारले सदियौं पुरानो सामाजिक-आर्थिक इतिहासको कथा आफूभित्र सम्हालेर राखेको छ ।
प्रतिक्रिया