+
Search

ताजा अपडेट +

पपुलर +

माझी समुदायले पहिलो पटक लदी पर्व मनाए

माझी समुदायले पहिलो पटक लदी पर्व मनाए
त्रिशूली प्रवाह
५ महिना अगाडी

रातमाटे । नुवाकोट जिल्लाका माझी समुदायले मंगलबार पहिलो पटक सामुहिकरूपमा लदी पर्व मनाएका छन् । माझी महिला उत्थान संघ र नेपाल माझी संघ नुवाकोटको संयुक्त आयोजनामा विदुर नगरपालिका–३ बुद्धसिंहघाटस्थित त्रिशूली नदी किनारमा लदी र प्रकृतिको पूजा गरेर पर्व मनाइएको हो ।

जिल्लाभरका माझी सामुहिकरूपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएका छन् । लोप हुँदै गएको माझी समुदायको भाषा, सँस्कृति, परम्परा, भेषभुषा र रहनसहनको संरक्षणको लागि पर्वले सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताउनुभयो । धेरै वर्ष पहिला बाबुबाजेले गर्ने पूजा हराउँदै गएकामा यो वर्ष सामुहिकरूपमा लदी पूजा, प्रकृति पूजा, भोगबली दिएर सँस्कृति संरक्षणमा जोड दिंदै आगामी दिनमा निरन्तरता दिइने उहाँको भनाई छ । “विगतका वर्षमा माझीले डुङ्गा चलाई खोलानदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल हुँदै माझीको डुङ्गा खियाउने पेशा हरायो ।” उहाँले गुनासो गर्नुभयो “माछा मारेर जिविका चलाउँदै आएको पेशा पनि खोलानालाको उत्खनन्ले संकटमा पुगेको छ । समुदायको पहिँचान हराउँदै गएको छ । संरक्षणका लागि सामुहिकरूपमा पर्व मनाई पुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिएका छैं ।” माझी समुदायको सबैभन्दा ठूलो पर्व लदी हरेक वर्ष फागुन महिनाको तेश्रो मंगलबार मनाइने गरिएको छ । पर्व मनाउन बागमती प्रदेश सरकारले माझी समुदायलाई सार्वजनिक बिदा दिएको छ भने नुवाकोटका विदुर नगरपालिकाले त्यसका लागि आवश्यक बजेटको तर्जुमा गरेसँगै जिल्लाभरका माझी एकीकृत भएर समुहिकरूपमा पर्व मनाएका छन् ।

विगतका वर्षमा आ–आफ्नो घरबाट निस्केर खोला नदीको किनारमा पूजा गरेर फर्कने गरिएको सँस्कृतिलाई सामुहिकरूपमा मनाएर संरक्षणको लागि नगरपालिकाले सहयोग गरेको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पर्व मनाउन थप बजेटको तर्जुमा गर्ने उहाँले आश्वासन दिनुभएको छ । “एक विशेष इतिहास, भाषा, सँस्कृति, पहिँचान र विशेषता रहेको माझी समुदायको हराउँदै गएको पहिँचान जोगाउन नगरपालिका अभिभावकको बन्नुपर्छ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “स्थानीय पाठ्यक्रममा माझी समुदायको पहिँचान समावेश गर्ने, डुङ्गा चलाउने र माछा मार्ने पेशा संकटमा परेकालाई कृषि र पशुपालनमार्फत् आयआर्जनमा संलग्न गराउने कार्यक्रम ल्याउने छौं ।” माझी समुदायको पेशा जोखिममा परेसँगै उहाँहरूको हराउँदै गएको मौलिकपनलाई आधुनिकता सँगसँगै संरक्षणको लागि देखिएको चुनौतीको नगरपालिकाको तर्फबाट गर्नसक्ने सम्बोधन गर्ने उपपप्रमुख प्रभा बोगटीले सो अवसरमा प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेपाल माझी महिला उत्थान संघका केन्द्रिय अध्यक्ष तथा निवर्तमान बागमती प्रदेशसभा सदस्य रिता माझीले खोलानदीको उत्खनन्ले संकटमा परेको माझी समुदायको पेशा संरक्षणको लागि दहत्तर बहत्तर (जमिनभित्र र बाहिरका प्राकृतिक प्रकोप उत्खनन्) वापत संकलित राजश्वको केही हिस्सा माझी समुदायको हितमा खर्चनुपर्ने माग गर्नुभयो । प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा माझी समुदायलाई मात्र भनेकोमा आपत्ति जनाउँदै पर्वको महत्त्व बुझाउन सबै जातजातीलाई नै सार्वजनिक बिदा दिनुपर्ने उहाँको माग छ । सामुहिकरूपमा पर्व मनाएसँगै उनीहरूको जातीसँग जोडिएको नदी किनारको आबास, फुर्लुङ, जाल, ढडिया, बल्छी, घौका, हुक्का, हतियार, भाडावर्तन, पोषाक, भेषभुषाको पनि प्रदर्शनी गरिएको थियो । नुवाकोट माझी महिला उत्थान संघका अध्यक्ष राधिका माझीले स्थानीयस्तरमा हराउँदै गएको सँस्कृतिको जगेर्नाको लागि भाषा, सिप र भेषभुषाको संरक्षणको लागि विशेष कार्यक्रम सञ्चालनको आवश्यक भएकाले तीन तहको सरकारबाट सहयोगको माग गर्नुभयो । नेपाल माझी संघ नुवाकोटकानुसार हाल नुवाकोटमा माझी समुदाय एक सय ११ घरपरिवारमा महिला तीन सय आठ र पुरूष तीन सय २६ गरेर कुल जनसङ्ख्या छ सय ३४ रहेको छ । उनीहरूको मुख्य बसोबास त्रिशूली र तादी नदी आसपासको क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह