+
Search

ताजा अपडेट +

पपुलर +

तुप्चेली महिला पन्चैबाजा बजाउँदै

तुप्चेली महिला पन्चैबाजा बजाउँदै
त्रिशूली प्रवाह
५ महिना अगाडी

अक्करे । विदुर–७ तुप्चेका सात महिला समूह पन्चैबाजा संरक्षण र प्रवद्र्धनमा जुटेका छन् । उनीहरूले तुप्चेटारमा जनजागृत पन्चैबाजा महिला समूह नै खडा गरेका छन् । सहनाई, ढोलकी, ट्याम्को, दमाहा र झ्यालीसहितको नेपालको मौलिक पन्चैबाजा विवाह, व्रतबन्ध तथा अन्य माङ्गलिक कार्यमा प्रयोग हुन्छ ।

दलित समुदायमा मात्र सीमित परम्परागत पन्चैबाजा बजाउनेको सङ्ख्या घट्न थालेपछि समूहले बाजा बजाउन सिकेको छ । उनीहरू अहिले लोप हुने अवस्थामा पुगेको बाजा संरक्षण र प्रवद्र्धनमा जुटेपछि यस क्षेत्रका उपल्लो जात भनिने ब्राह्मण–क्षेत्रीको दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । उत्तरगया क्षेत्र बृहत् विकास संस्थाले शिवरात्रिका अवसरमा तुप्चेको शिव मन्दिरमा पूजा र महिला पन्चैबाजाको उद्घाटन गरेको छ । पूजा कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी र वडा नम्बर– ७ का वडाध्यक्ष रवीन्द्र नेपाल उपस्थित भएर महिलालाई हौसला प्रदान गरेका थिए । अब ब्राह्मण समुदायका महिलालाई पन्चैबाजाको संरक्षणमा एकसाथ ल्याइँदै छ । जनजागृत युवा क्लबको सहयोग पाएपछि स्थानीय महिला भेला भएर गाउँमा पन्चैबाजा बजाउन थालेका छन् । जनप्रतिनिधि तथा सरोकारवालाले पन्चैबाजा सुरु भएकामा खुसी व्यक्त गर्दै यसको संरक्षण, प्रवद्र्धन र निरन्तरताका लागि सामूहिक सहकार्य गरिने प्रतिबद्धता पनि व्यक्त गरे । समाजसेवी जनजागृत युवा क्लबका अध्यक्ष राजकुमार रिजालले क्लबअन्तर्गत हुने सामाजिक रूपान्तरण महत्वपूर्ण रहने बताए ।

समूहकी अध्यक्ष पार्वती अर्याल अधिकारीले पन्चैबाजाको संरक्षण र प्रवद्र्धनमा रुचि राख्ने ब्राह्मण महिलाले यो उद्यम सुरु गरेको र अघिल्ला पुस्ता जागृत भएको जनाउँदै लोप भइसकेको बाजा संरक्षणमा समूहले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । सोही समूहकी सदस्य कल्पना रिमालले घरेलु व्यवसाय र चुलोचौकामा सीमित महिला आत्मनिर्भर भएर धेरै आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्दै धर्म, कला, संस्कृति र उत्तरी क्षेत्रको विकासमा यसको सहकार्य अपेक्षित रहेको बताइन् । हाम्रो सहकारीका व्यवस्थापक प्रदीप अधिकारीले समुदायमा पितृसत्तात्मक सोच, मानसिकता पन्छाउँदै दलित समुदायले मात्र बजाउने ठानिएको पन्चैबाजा बजाएर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । अहिले नेपालमा दलित (दर्जी) अझ त्यसमा पनि पुरुषले मात्र बजाउने भनिएको परम्परागत पन्चैबाजा र नौमती बाजा ( पन्चैबाजामा नरसिंहा वा कर्नाल थप हुने) धादिङलगायतमा पनि सुरु भई अन्य जिल्लामा पनि विस्तार हुँदै छ । परम्परागत वेशभूषा लगाएर बजाइने यो बाजा गाउँमा मात्र नभई राजधानीलगायत सहरी क्षेत्रमा पनि लोकप्रिय भइरहेको छ । विगतमा तुप्चेको पन्चैबाजा जिल्लामै उत्कृष्ट र सबैको रोजाइमा पर्ने गरेको थियो । वि.सं. २०४२ मा काठमाडौंको टुँडिखेलमा भएको नरसिंहा बजाउने प्रतिस्पर्धामा तुप्चेकै कृष्णबहादुर नेपालीले अरूभन्दा लामो समय नरसिंहा बजाएर र सहनाईमा अदुवाबारीका साइला दाइ देशभर उत्कृष्ट भएर पुरस्कृतसमेत भएका थिए । पछिल्लो समय तुप्चेमा पन्चैबाजा बजाउनेको सङ्ख्या नहुँदा महिला परम्परालाई निरन्तरता दिन कसिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह