+
Search

ताजा अपडेट +

पपुलर +

देहत्यागपछि रहिरहने कुरा

देहत्यागपछि रहिरहने कुरा
त्रिशूली प्रवाह
५ महिना अगाडी

(पुख्यौली घर सामरी, नुवाकोट भएका हरिप्रसाद रिमाल पूर्वप्रशासक हुन् । उनले लामो समय तत्कालीन स्थानीय विकास मन्त्रालयमा रहेर काम गरे । सो मन्त्रालयमा रहँदा उनी मन्त्रालयका साथै विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी, काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकामा प्रशासकीय अधिकारी पनि भए । लोकसेवा आयोग र जिल्ला शिक्षा कार्यालयमा पनि काम गरेका रिमालले मुद्रण विभागको महानिर्देशकबाट अवकाश लिएका हुन् । संस्कृत र नेपाली भाषामा स्नातकोत्तर उनी साहित्यकार पनि हुन् । उनका ‘देश यसरी बाँचिरहेछ’ शीर्षकको कवितासङ्ग्रहका साथै ‘देवाधिवेद पशुपतिनाथ र पाशुपत क्षेत्र’ शीर्षकमा अनुसन्धानमूलक कृति पनि प्रकाशन भएका छन् । आध्यात्मिक चिन्तक रिमालका लेखरचना पत्रपत्रिकामा प्रकाशन पनि भएका छन् । उनी समय–समयमा देश–विदेशको भ्रमण पनि गर्छन् र पाठकलाई त्यसको अनुभव र अनुभूति सामाजिक सञ्जालमा पस्कने गर्छन् । – सम्पादक)

जो जन्मन्छ, त्यसले एक दिन यस संसारबाट बिदा भएर जानैपर्छ । यस संसारबाट बिदा भएर गएपछि ठुल्ठुला तपस्वी, ऋषिमनीषी मोक्ष प्राप्त गर्छन् र तिनको पुनर्जन्म हुँदैन । अरूले भने फेरि पनि यस धरामा जन्म लिनैपर्छ । जन्म लिएका यस जन्ममा जे–जस्तो रूपमा छन्, त्यस्तै रूपमा अर्थात् मनुष्य भए मनुष्य रूपमा र पशुपक्षी कीट–पतङ्ग र स्थावर (बोट–बिरुवा) भए सोही रूपमा जन्मन पाउँदैनन् । धेरै जन्मदेखि सञ्चित कर्मअनुसार कुन–कुन योनिमा जन्मनु छ, त्यहीअनुसार उनीहरू जन्मन्छन् र स्वभाव पनि त्यही–त्यही जन्मअनुसारकै हुन्छ भन्ने हिन्दु धर्मको ठहर छ । चौरासी लाख योनिहरूको व्यवस्था र वर्णन पनि सोहीअनुरूप भएको छ ।

यस जगत्मा आएका सबैले जानैपर्ने भएपछि यहाँबाट लिएर जाने कुराचाहिँ के–के हुन् त ? हाम्रो धर्मशास्त्रले बताएअनुसार सँगै जाने कुरा पाप र पुण्य हुन् । हामी यस जन्ममा जे–जति धर्म वा पुण्य गर्छौँ, ती हाम्रो सञ्चित कर्मका खातामा जम्मा हुन सँगै जान्छन् भने हामीले यस जन्ममा गरेका पाप कर्म हाम्रो सञ्चित पाप कर्मका खातामा जम्मा हुन पुग्छन् । पुण्य र पाप त सँगै जाने कुरा भए । अनि हामी गएपछि पनि रहने कुरा के–के हुन् त ? ती हुन् हामीले गरेका सुकर्म र दुष्कर्म । हामीले लोककल्याणका खातिर असल कर्म गरेका छौँ भने ती रहने कुरा भए, जन्मभूमिलाई जीवन्त बनाउन खास काम गरेका भए ती रहिरहने कार्य भए । उदाहरणार्थ हाम्रा पुर्खाले हाम्रो हितका लागि ज्ञान र विज्ञानका क्षेत्रमा जे–जति अनुसन्धान र आविष्कार गरेर गएका छन्, ती सबै उनीहरू गएपछि पनि रहिरहेका हाम्रा अमूल्य सम्पत्ति हुन् । यसरी नै विश्वका वैज्ञानिकले मानव कल्याणका खातिर वर्तमानमा जे–जति विज्ञानका आविष्कार गरिरहेका छन् र गरेर गएका छन्, ती सबै उनीहरू यस धराबाट गइसकेपछि पनि बाँचिरहने र मानव–हित गरिरहने आविष्कार हुन् । पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यलाई एकत्रित गरी विशाल नेपालको निर्माण गरेर गए । त्यसैले यो देश नेपाल जीवन्त भइरहन पाएको छ र हामी नेपाली ‘नेपाली’ भएर गौरवसाथ बाँच्न पाएका छौँ । नत्र भने हाम्रो हालत पनि आजका हमास र प्यालिस्टेनीको जस्तै हुन्थ्यो होला । त्यसैले त पृथ्वीनारायण यस धरातलबाट बिदा भएको सयौँ वर्ष व्यतीत हुँदा पनि नेपालीको मनमन्दिरमा बाँचिरहेका छन् ।

यस्तो दुर्लभ र अनमोल नरचोला पाएर पनि त्यसको सदुपयोग नगरी व्यक्तिगत स्वार्थ र भोगविलासकै निम्ति जे–जति लोभ र पाप कर्म हामी गर्छौँ र देश र जनताको अहित हुने दुष्कर्म गर्छौँ, ती हामी गइसकेपछि पनि लोकले निन्दा गर्ने खालका कार्य हुन् । त्यस्ता कार्यले हामीलाई बाँचुन्जेल मात्र होइन कि संसारबाट बिदा भइसकेपछि पनि बदनाम गरिरहन्छन् । सम्झन त हामी राम र रावणलाई पनि सम्झन्छौँ । पहिलालाई हामी आदर्श पुत्र, आदर्श पति, आदर्श दाजु र मार्यादा पुरुषोत्तम, आदर्श राजा र अझ भवसागर पार गराउने परमेश्वरका रूपमा स्मरण गर्छौँ भने दोस्रालाई ब्राह्मणपुत्र भएर पनि, विद्वान् र पराक्रमी भएर पनि चरित्रहीन, अनुशासनहीन दुष्ट राक्षसका रूपमा सम्झन्छौँ । दशाननको सबैभन्दा ठुलो कमजोरी नै चरित्रहीनता रह्यो, विनम्रतारहितको अहङ्कार रह्यो । उनमा विद्यमान घमन्डले चुर भएर उनले आफूभन्दा शक्तिशाली, जान्ने र महान् राजनीतिज्ञ कोही पनि छैन भन्ने ठाने । त्यसले गर्दा बाहिर मात्र होइन, घर पनि उनका विरुद्धको भयो । भाइ विभीषण नै उनको शत्रु भएर निस्किए र लङ्काधिपति भएर पनि उनको नराम्रो हार भयो । राम नैतिक थिए, विनम्र र निरहङ्कारी अनि लोककल्याणलाई सर्वोपरि ठान्ने महापुरुष थिए । त्यसैले त राजपुत्र भएर पनि खालीखुट्टा जङ्गल चहार्दै वानरहरूलाई सैन्य तालिम दिएर तिनको समेत सहयोगमा विशाल सेनाले सुसज्जित परम् शक्तिशाली मानिएको रावणलाई जितेरै छाडे । त्यसैले सच्चरित्रता, अहङ्कारहीनता, विनम्रता, पशुको समेत मन जित्न सक्ने करुणा अनि घर मिलाएर राख्न सक्ने क्षमता अति दुर्लभ र अनुसरणीय गुण हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह