+
Search

ताजा अपडेट +

पपुलर +

निःशुल्क स्वास्थ्य शिविरमा सात सयलाई सेवा

निःशुल्क स्वास्थ्य शिविरमा सात सयलाई सेवा
त्रिशूली प्रवाह
५ महिना अगाडी

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका-६ रामतीबजारमा विशेषज्ञ चिकित्सक, उच्चस्तरीय प्रविधिमा बिरामी जाँच एवम् परीक्षणसहित निःशुल्क औषधि वितरणमा ६ सय ७० जनाले सेवा लिएका छन् । तीनदिने स्वास्थ्य शिविरमा ६ सय ७० जना स्थानीय नागरिकले आफ्नो विभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य जाँच एवम् परीक्षण गराई निःशुल्क औषधि लिएका छन् ।

ड्रिम पाथ फाउन्डेसन नेपालको आयोजनामा सञ्चालन गरिएको शिविरमा त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मीमार्फत बिरामीको जाँच एवम् परीक्षण, स–साना प्रकृतिका शल्यक्रिया, रगत जाँच, भिडियो एक्स–रेलगायतका सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य जाँच तथा परीक्षणमार्फत दुप्चेश्वरवासीलाई सेवा दिइएको थियो । आयोजक संस्थाका प्रतिनिधि दामोदर प्याकुरेलका अनुसार शिविरमा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा, ल्याबसम्बन्धी सेवा, जलरल सेवा, दन्त परीक्षण, रेडियोलोजिस्ट, नाक, कान र घाँटीसम्बन्धी सेवा, पत्थरी, हाइड्रोसिल, हर्निया, गाँठागुठीको शल्यक्रिया सेवा, बालरोगसम्बन्धी सम्पूर्ण जाँच हुने र चिकित्सकको सिफारिसमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो । शिविरमा पहिलो र दोस्रो दिनमा तीन सय ५० जना बिरामीबाट विभिन्न रोगसम्बन्धी स्वास्थ्य जाँच एवम् परीक्षण गराई औषधि लिएका थिए भने आइतबार एकैदिन तीन सय २० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

ग्रामीण क्षेत्रमा सुविधायुक्त सेवा उपलब्ध भएकाले यसबाट यहाँका बिरामीले पर्याप्त लाभ पाएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालन र सेवा प्रवाहका सम्बन्धमा शनिबार पालिका अध्यक्ष थापा, उपाध्यक्ष माकुरी तामाङ, त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतले स्थलगत अवलोकन गर्दै शिविर सञ्चालनको व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउन सहजीकरण गरेका थिए । शिविरमार्फत रामतीबजार आसपाससहित विशेष गरेर दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडाका बासिन्दालाई स्वास्थ्य उपचार, निःशुल्क औषधि, स्वास्थ्य परामर्श एवम् थप उपचार आवश्यक भएमा त्यसका लागि त्रिशूली अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको अस्पतालका निर्देशक डा. लामाले अनुरोध गरे ।

शिविरले ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्य सजगता वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको भन्दै आगामी दिनमा अस्पतालबाट समेत दुप्चेश्वरमा स्वास्थ्य शिविर आयोजना गर्न उत्साह जगाएको उनको भनाइ छ । शिविरका लागि कर्पोरेसन सोसाइटी नेपाल, दुप्चेश्वर स्काउट, दुप्चेश्वर युवा क्लब, शिविर सञ्चालन भइरहेको दुप्चेश्वर माविलगायतले सहआयोजक तथा सहयोगीको रूपमा सेवा पु¥याएका थिए । रामतीबजारमा रहेको दुप्चेश्वर माध्यमिक विद्यालयमा शुक्रबार सुरु भएको तीनदिने शिविर आइतबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह