
मातृभूमिप्रतिको नागरिक दायित्व पूरा गर्ने सङ्कल्प लिई वि.सं. २०५४ असोज १ गते श्यामेवाङ्फेल माध्यमिक विद्यालय स्याफ्रुबेँसी, रसुवामा मैले माध्यमिक तहको अङ्ग्रेजी विषय शिक्षकका रूपमा पाइला टेकेको थिएँ । स्याफ्रुबेँसी लाङटाङ र भोटेकोशी नदीको सङ्गम, तामाङ–शेर्पा–तिब्बती संस्कृतिको त्रिवेणी, जिल्लाको माथिल्लो भेगको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गरेको रमणीय पर्यटकीय स्थलको रूपमा परिचित थियो । सो सुन्दर बस्तीमा शिक्षक बनेर पुग्न पाउँदा अत्यन्त उत्साहित र पुलकित थिएँ । स्वच्छ प्राकृतिक वातावरण, सांस्कृतिक सम्पन्नता, शिक्षक मित्रहरूको मृदु वचन, आत्मीय भाव र सहयोगी व्यवहार, विद्यार्थीको बालसुलभता, इमानदारी र कर्तव्यशील स्वभावसँग म सुरुदेखि रम्न थालेँ । त्यतिबेला विद्यालय कक्षा नौसम्म चलेको थियो । विद्यार्थी दुई सय १७ र शिक्षक ११ जना थिए ।
विद्यालयमा प्रवेश गरेको चार महिना नपुग्दै प्रधानाध्यापककोे अभिभारा मेरो काँधमा सर्यो। मित्रसँगको सहकार्य र व्यवस्थापन समितिको सहयोगको कारण नेतृत्व सम्हाल्न कठिनाइ भएन । वार्षिक योजना तयार पारी सोहीअनुसार सुधारका कार्यक्रम लिएर म अघि बढेँ । विद्यालय र समुदायबिचको सम्बन्ध प्रगाढ बनाउन मैले आवश्यक ठानेँ । वि.सं. २०५५ वैशाखदेखि वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएर विद्यालयको वार्षिक गतिविधि सुनाउन पाउँदा आनन्द लाग्थ्यो । त्यसै सालदेखि हाम्रा विद्यार्थी पनि प्रवेशिका परीक्षामा सम्मिलित भए । फलामे ढोका भन्ने गरिएको परीक्षामा सबै राम्रो श्रेणीमा पास भए । त्यो सफलता भविष्यका लागि प्रेरणाको द्वार बन्योे ।
साठीको दशकको सुरुदेखि शिक्षणमा सूचना तथा सञ्चार प्रविधि भित्र्याउन हरतरहले प्रयास गरियो, तर सफलता पाउन लामो कसरत र प्रतीक्षा गर्नुप¥यो, बल्ल २०६३ सालमा सफलता मिल्यो । रूम टु रिड र विनरक इन्टरनेसनल नामक संस्थाको आंशिक सहयोगबाट हामीले कम्प्युटर कक्षा स्थापना गयौँ । विद्यालय आफैँले भिस्याट उपकरण रु. तीन लाखमा खरिद गरी विद्यालयलाई इन्टरनेटको विश्वव्यापी सञ्जालमा जोड्यौँ । हामीले कक्षा चारदेखि १० सम्म हप्तामा ६ दिन कम्प्युटर शिक्षण थाल्यौँ । त्यो घटना जिल्लाका लागि ऐतिहासिक र स्याफ्रुबेँसीका लागि गौरवको विषय बन्यो । ठुलो सपना पूरा भएकाले मेरो खुसी पृथ्वीजत्रै भएको थियो । कम्प्युटर शिक्षण र इन्टरनेट चलाउन त थाल्यौँ, देशी–विदेशीको भिड लाग्न थाल्यो । कम्प्युटर शिक्षकको व्यवस्थापन धेरैपटक जटिल बन्यो । सञ्चालन खर्च जुटाउन जिल्लाभित्रका केही सरकारी र गैरसरकारी निकाय, राजनीतिक दलसँग सहयोगका लागि गुहार माग्यौँ, तर करिब शून्यमा रह्यो । त्यो निराशाको खेती गरेझैँ भयो । उल्टै कम्प्युटर र इन्टरनेटबाट स्कुलका बालबालिका बिग्रने भएकाले राम्रो नहुने आरोप ओइरिन थाल्यो । ‘कुनै पनि राम्रो कामको सुरुवाती दिन सजिलो हुँदैन’ भन्ने ठानेर मैले धैर्यको बाँध मजबुत पारिरहेँ । साथमा साथी र सहयोगीको दह्रो लर्कन थियो ।
मैले कक्षा ११ र १२ सञ्चालन गर्न ढिलो भइसकेको महसुस गरेँ । कक्षा थप्न कक्षाकोठा नथपी सम्भव थिएन । वि.सं. २०६५ मा स्थानीय शिक्षाप्रेमीको साथ र सहयोगमा चिलिमे जलविद्युत् कम्पनीबाट स्याफ्रुबेँसी बजारनजिकैको करिब पाँच रोपनी जग्गा विद्यालयले जग्गाधनी प्रमाण पुर्जासहित प्राप्त ग¥यो । नगद रु.१५ लाख पनि पायौँ । त्यही जग्गामा बाह्रकोठे पक्की भवनको निर्माण सुरु भयो । अर्को साल साउनदेखि नै कक्षा ११ को पढाइ आरम्भ भयो । आधारभूत व्यावसायिक सीप दिन डा. अग्निप्रसाद काफ्लेको विशेष सहयोगमा तीनमहिने तालिम सुरु गयौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी जिल्लाको पहिलो प्राविधिक शिक्षालयका रूपमा २०६९ साल साउनदेखि पन्ध्रमहिने टिएसएलसी (सबओभरसियर) कक्षारम्भ गयौँ । विद्यालयलाई प्राविधिक धारको सम्बन्धन दिलाउन निकै दौडधुप गर्नुपरेको थियो । दलीय नेताहरू जिल्लाको तल्लो भागमा लैजान एक भएर लागेका थिए तथापि हामीले हार्नुपरेन । त्यस क्षेत्रमा अर्को महत्वपूर्ण कार्यक्रम सुरु भयो । जिल्लाभरिबाट विद्यार्थी आएर पढ्न थाले । अहिले दुःख लाग्छ, त्यो प्राविधिक शिक्षा बन्द भएको अवस्था छ । सङ्घीय सरकारले शिक्षालाई सीपसित जोड्न सकिरहेको छैन । पुरानो स्कुल भएका ठाउँमा पहिराको कारण पूर्णतः असुरक्षित भइदियो । अर्को भयानक चुनौती हाम्रासामु खडा भयो । मैले हिम्मत हारिनँ, साथीहरूसित छलफल गयौँ । कम्तीमा २४ कोठाको पक्की विद्यालय भवन बनाउन लगभग रु. ८० लाखको व्यवस्था गर्नुपर्ने भयो । तत्कालीन स्याफ्रु गाविसबाट रु. एक लाखको प्रतिबद्धता आयो जुन हात्तीका मुखमा जिराजस्तो लाग्यो । त्यसपछि हिँडेँ राजधानीतिर चिनियाँ राजदूतावास छिर्ने उपाय अन्वेषण गर्न । म पोल्यान्डको कन्सुलर अफिसमा पनि पुगेँ, तारा बस्यालसँग भेट भयो । उहाँले आफ्नै सवारीसाधनमा राखेर चीन अध्ययन केन्द्रको कार्यालय डिल्लीबजारमा पुयाउनुभयो । त्यहाँ केन्द्रका अध्यक्ष मदन रेग्मीलाई भेटेर समस्याको पेटारो खोलेँ । उहाँले मेरो कुरा ध्यानपूर्वक सुन्नुभयो । तर उहाँले ‘एउटा स्कुल बनाउन विदेशीसँग हात पसार्नुहुँदैन’ भन्नुभयो । पटक–पटकको अनुरोधपछि प्रकाशबाबु पौडेलको जिम्मा लगाउनुभयो । धेरैपटकको आउजाउ, भेटघाट र कागजी प्रक्रिया पूरा गरेपछि करिब ६ महिनामा चिनियाँ राजदूतावासबाट दुईपटक गरेर रु. ३५ लाख भवन निर्माणार्थ प्राप्त भयो । हामीले छनोट गरेको अर्को दाता चिलिमे जलविद्युत् कम्पनी थियो । कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङसित धेरैपटक अनुरोध गयौँ । समयमा काम नभएपछि स्थानीयको अधिकार र शक्तिको प्रयोग गरेर मागअनुसार वि.सं. २०७० साल मङ्सिरसम्म जम्मा २० कक्षाकोठा भएका तिनतले दुई पक्की भवन निर्माण सम्पन्न भई माघमा विद्यालय त्यस स्थानमा स्थानान्तरण गरियो । सुविधासम्पन्न एवम् आधुनिक प्रविधियुक्त पुस्तकालय र सूचना तथा सञ्चार प्रविधि कक्ष निर्माण गर्न लामो प्रयासपछि झन्डै डेढ वर्षअघि चिनियाँ सरकारसँग सम्झौता भइसकेको थियो । आगामी वर्षदेखि प्राविधिक शिक्षातर्फ तीनवर्षे डिप्लोमा तहको अध्यापन सुरु गर्ने योजना बनाएका थियौँ । पाँचवर्षे विद्यालय सुधार योजना कार्यान्वयनमा थियो । सो योजनावधिमा आधुनिक प्रविधियुक्त पुस्तकालय, सूचना प्रविधि तथा सञ्चार कक्ष, सुरक्षित र सुन्दर विद्यालय वातावरणमा शैक्षिक गुणस्तर वृद्धि भई जिल्लामा यो नमुना विद्यालय बन्नेमा हामी आशावादी थियौँ ।
समयको सदुपयोग नै सफलताको जग हो । विद्यालयमा प्रवेश गर्नुपूर्व पनि म शिक्षक नै थिएँ । आफ्नो बाँकी जीवन त्यही समाजको भलाइमा लगाउने सङ्कल्प गरेर म त्यहाँ पुगेको थिएँ, सत्र वर्ष ६ महिनासम्म त्यही गाउँ, त्यही ठाउँ, तिनै बालबालिकाप्रति समर्पित हुँदै आफ्नो जीवनको महत्वपूर्ण समय र तनमन दिएको थिएँ । प्रेरणाका स्रोत ती विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई आज १० वर्ष पुग्दै गरेको क्षणमा पनि सम्झिरहेको छु । यस अवधिमा मेरो जिन्दगीको प्रत्येक क्षणको अधिकतम उपयोग भएकामा म विश्वास गर्छु । बिहान ९ बजे घरबाट निस्कने र साँझ प्रायः ६–७ बजे फर्किने गरिन्थ्यो । विद्यालयमा नियमित रूपमा आफूलाई तोकिएका कार्यसम्पादन गर्नु र खाली कक्षा लिनु, शिक्षकको कक्षावलोकन गर्नु, विद्यार्थीका गतिविधिमाथि निगरानी राख्नु, अभिभावक र अन्य आगन्तुकसँग सम्पर्क, भेटघाट र परामर्श गर्नु, प्रशासनिक कार्यसम्पादन गर्नु र गराउनु तथा समयसमयमा बैठकमा सहभागी हुनु मेरा दैनिक कार्य थिए । योजना निर्माण र कार्यान्वयन गर्नु, स्रोत जुटाउन विद्यालय व्यवस्थापन समितिबाट सहमति लिई विभिन्न सङ्घसंस्थासँग समन्वय, संवाद र भेटघाटमा पनि समय दिनुपथ्र्याे । प्रशासनिक, लेखासम्बन्धी, भौतिक निर्माण, कार्यालयीय कार्यका लागि जिल्ला शिक्षा कार्यालय, जिल्लाभित्र र बाहिर, काठमाडौँ र अन्य स्थानमा पुग्नुपर्ने जिम्मेवारी, विभिन्न पक्षको गुनासो सुन्ने परीक्षासम्बन्धी कार्य, प्राविधिक शिक्षा कार्यक्रमको प्रभावकारिता र स्तरोन्नतिका लागि प्रयत्न आदि प्रमुख कार्य थिए । आर्थिक र प्रशासनिक कार्य प्रायः कार्यालयमा नभ्याउने हुँदा निवासमा लगेर गर्थो। नयाँ तीनतले भवनमा दैनिक आठ–दशपटक ओहोरदोहोर वा तलमाथि गर्दा शारीरिक थकाइ र मानसिक झन्झटको पारो निकै चढेको हुन्थ्यो । फोनमा पनि दैनिक धेरै समय व्यतीत हुने गथ्र्याे । मेरो एउटा बानी, कुनै न कुनै फरक वा नयाँ काम गर्न चाहने र त्यो काम थालिसकेपछि सम्पन्न नगरी नछाड्ने । साथै सकेसम्म सबै काम प्रायः आफैँ गर्न रुचाउने । यो बानीले आफू र आफ्नो संस्थाको जीवनमा बेलाबखत उतारचढाव आउने गर्दोरहेछ । सफलतामा खुसी र उत्साहित अनि असफलतामा दुःखी र निराश हुने बानीको प्रभाव नपरेको होइन । मैले जीवनमा धेरैपटक निराशा र हौसला पाएको छु । हौसला पाएको र खुसी भएका क्षण स्मरणीय र प्रेरणादायी हुँदा रहेछन् । वि.सं. २०६२ मा सूचना तथा सञ्चार प्रविधि कक्षका लागि सिङ्गै देशबाट एक मात्र विद्यालयमा हाम्रो विद्यालय छनोट भएको थियो । सोही वर्ष चैत ८ गते सूचना तथा सञ्चार प्रविधि कक्षका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरेको, राजुस्मृति छात्रवृत्ति कोषमा रु. एक लाख पुयाउन सफल हुँदाको खुसीको क्षण कहिल्यै बिर्सन सक्दिनँ । वि.सं. २०६६ मा उमाविको सम्बन्धन प्राप्तिको सूचना पाएको, २०६९ सालमा प्राविधिक शिक्षाका लागि सम्बन्धन पाएको, भवन निर्माणका लागि चिलिमे जलविद्युत् कम्पनी र चिनियाँ दूतावासबाट सहयोग प्राप्त भएको, परीक्षामा धेरै विद्यार्थी उत्तीर्ण भएको, विभिन्न सङ्घसंस्थासँग राम्रो सम्बन्ध भएको, पुस्तक प्रकाशकसँग पुस्तक सहयोग माग्न पुग्दा राम्रो सफलता पाएको, अनि सायद यिनै कारणले होला विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीबाट निरन्तर आत्मिक माया पाएँ । मेरो जीवनको अत्यन्त महत्वपूर्ण समय १७ वर्ष ६ महिनाको अवधि अविष्मरणीय र प्रेरणदायी बनेको छ ।
काम गर्दा आफू र आफ्नो परिवारभन्दा संस्था र यसका सदस्यप्रति जिम्मेवार बनाउँदो रहेछ । ‘बहुजन हिताय, बहुजन सुखाय’को शास्त्रीय मन्त्रले हृदयमा बास गरेको हुँदोरहेछ । अध्ययन र पेसागत तालिममा कम मात्र समय दिन पाइँदोरहेछ । विद्यालयकै कामका लागि पनि विद्यालयबाहिर जान इच्छा हुँदो रहेनछ । गइहाले पनि थोरै समयका लागि धेरै काम बोकेर जानुपर्दो रहेछ । अनि प्रायः काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्दा समय व्यवस्थापनमा कठिनाइ । दौडधुप नगरी धर पाइँदो रहेनछ, मन जहिले पनि संस्थामा नै टाँसिएको हुँदोरहेछ । फर्किएपछि विद्यालयमा धेरै काम थाती रहेको हुनु स्वाभाविकै हो । झन्डै अरू शिक्षकमित्रसरह नै नियमित कक्षा लिने गरेका कारण धेरै कक्षा छुटे । त्यसको क्षतिपूर्ति कहिलेकाहीँ मित्रबाट भए पनि आफ्नो जिम्मेवारी हलुङ्गो भएको नठान्ने बानीले पनि सताउने गथ्र्यो । आफूले काम गरेरै अरूलाई अभिप्रेरित गर्नु राम्रो हुन्छ भन्ने लाग्थ्यो । समग्रतामा आफ्नो कामबाट सधैँ खुसी रहने प्रयत्न गर्दैरहेँ । यी क्रियाकलाप, अनुभव र अनुभूतिलाई अचानक बिट मार्दै सबैको आत्मीय स्नेहको भारी बोकेर स्याफ्रुबेँसी बसाइलाई सदाका लागि मैजारो गर्दै २०७१ साल चैत १६ गते बिहान सिमसिम वर्षा र वसन्तको रङ्गीन प्रकृतिसँगै धेरैका आँखामा छचल्किएका आँसुलाई गति दिँदै त्यहाँबाट नयाँ कर्र्मथलोमा नयाँ जीवनयात्रा पार्वतीका साथ आरम्भ गरेँ । बिहान जस्तो थियो उस्तै नै रह्यो पूरै दिन । जस्तो दिन, त्यस्तै रह्यो मन पनि ।
भनिन्छ, ‘जीवन अनुभव र भोगाइको शास्त्र हो ।’ मैले त्यहाँ बसेर धेरै सिक्ने अवसर पाएँ, धेरैसँग राम्रो सम्बन्ध स्थापित हुँदा विद्यालयको विकासमा सद्भावपूर्ण सहयोग पाई अविरल ऊर्जा प्राप्त हुन्थ्यो । म धेरैको विश्वास र ममता पाउँथेँ । सहकर्मीले मन, वचन र कर्मले गर्नुभएको पेसागत समर्पण, विद्यालय व्यवस्थापन समितिको तत्परता, कर्मचारी मित्रको सद्भाव र सहयोग जीवनपर्यन्त अविस्मरणीय रहनेछन् । ‘गरे के हुँदैन र ? केही बन्न वा बनाउन केही गर्नैपर्छ’ यही सिकेको छु र गर्दै आएको छु । म यसै वर्ष शिक्षण सेवाबाट बिदा भएको छु । अब बाँकी जीवन पनि मानव समाजको विकासका लागि नै खर्चनेछु ।
(लेखक श्यामेवाङ्फेल मावि स्याफ्रुबेँसी रसुवाका पूर्वप्रधानाध्यापक हुन् ।)