जिल्ला अध्यक्ष ढकाल र पूर्वपालिका अध्यक्ष सीताले एमाले त्यागे

  • त्रिशूली प्रवाह
  • २८ फाल्गुन २०८१, बुधबार १५:५१

धुन्चे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवा जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकाल र कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष एवम् जिल्ला कमिटी रसुवाकी निवर्तमान सदस्य सीताकुमारी पौडेल अधिकारीले दल परित्याग गरेका छन् । पूर्वसांसद ढकालले शनिबार हिमालय टेलिभिजनमार्फत् पार्टीको सङ्गठित सदस्यसमेत त्याग गरेको घोषणा गरे । त्यसैगरी, एमालेबाट वि.सं. २०७४ मा कालिका गाउँपालिकाको अध्यक्षमा निर्वाचित अधिकारीले सामाजिक सञ्जालमार्फत् उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गरेकी छिन् ।

वि.सं. २०७० मा संविधानसभा सदस्य निर्वाचित ढकाल एक कार्यकाल जिल्ला पार्टी सचिव र यसै वर्ष भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । ढकालले कुनै पार्टीमा तत्काल जाने योजना नरहेको र स्वतन्त्र भएर रहने बताए । नेकपा (माओवादी केन्द्र) बाट नेपाली काङ्ग्रेस हुँदै एमालेमा गत वर्ष प्रवेश गरी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका पूर्वसांसद प्रेमबहादुर तामाङ र ढकालबिच पछिल्लो समय दलमा टकराव रहँदै आएको एमालेका एक जिल्ला नेताले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।