
धुन्चे । रसुवा जिल्लाको उत्तरगया–५ बोगटीटारमा परम्परागत रैथाने संस्कृतिको संरक्षणका लागि आयोजित दोस्रो बागमती प्रदेशस्तरीय मारुनी नृत्य प्रतियोगितामा नुवाकोटको सामरी नृत्य समूह प्रथम भएको छ ।
विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङले शनिबार आयोजना गरेको प्रतियोगितामा रसुवा र नुवाकोटका पाँच समूहले भाग लिएका थिए । प्रतियोगितामा नुवाकोट किस्पाङको सरस्वतीदेवी महिला समूह द्वितीय र रसुवाको कालिका भजनकीर्तन समाज तृतीय भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु. २५ हजार, रु. २० हजार र रु. १५ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन रक्षामन्त्री मानवीर राईले गरेका थिए । रेडियोका अध्यक्ष सोहम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख माधव अर्याललगायतको सहभागिता थियो । परम्परागत आस्थालाई जीवित राख्ने, मौलिक सङ्गीत र लोकसंस्कृति प्रदर्शन गरी भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रेडियोकी सचिव गीता न्यौपानेले बताइन् ।