+
Search

ताजा अपडेट +

पपुलर +

दृश्यावलोकनका लागि रमितेढुङ्गा

दृश्यावलोकनका लागि रमितेढुङ्गा
त्रिशूली प्रवाह
३ महिना अगाडी

धुन्चे । पर्यटकीय गन्तव्यका अनगिन्ती स्थल रहेको रसुवा जिल्ला पहिचान र प्रचारप्रसार हुन नसक्दा स्थानीयले लाभ लिन सकिरहेका छैनन् । पर्यटकीय सम्भावना बोकेको कालिका गाउँपालिका–५, गिरीनागीको थाप्लोमा रहेको रामितेढुङ्गाको उचित प्रचारप्रसार नहुँदा पर्यटकका लागि गुमनाम भएको छ ।

पासाङल्हामु राजमार्गको स्याउबारी–गोम्बोडाँडाबाट नजिकै रहेको यो ढुङ्गामाथि चढेर चारैतिर हेर्दा हेलिकोप्टरबाट हेर्दै छु भन्ने आभास हुन्छ । सूर्योदय र सूर्यास्तको दृश्य पनि यहाँबाट मनमोहक देखिने पूर्वजनप्रतिनिधि भवानीप्रसाद न्यौपाने बताउँछन् । २०४३ मा वडासदस्य, २०४९ मा वडाध्यक्ष, २०५४ मा धैबुङ गाविस र २०७४ मा कालिका गाउँपालिकाको उपाध्यक्ष बनेका न्यौपाने यो ढुङ्गाबाट नौकुण्ड, सातधरे, यार्सा, समरथली, खलचेत, चित्ती, रूपसेपानी, जिबजिबे, भद्रे, कालिकास्थान, धारापानी, डाँडागाउँ, बोलागाउँ, नुवाकोट, लच्याङ, लिखु, बागेश्वरीलगायतका स्थान सजिलै देखिने बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने यहाँबाट कुवापानी, केराघारी, त्रिशूली, कोलनी, धादिङ, शिवपुरी चिसापानी, गणेश हिमालको दृश्य पनि वरिपरि देख्न सकिन्छ । पर्यटकीय विकासका लागि अहिले सङ्घ, प्रदेश र स्थानीय सरकार विभिन्न ठाउँमा भ्युटावर बनाउने प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकृतिनिर्मित रमितेढुङ्गाजस्ता स्थल प्रचारप्रसार र त्यसको वरपर भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझाव नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङको रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्न स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबेबाट मुदुल्लीभञ्ज्याङ–सिङ्गी लामा चियाडाँडाबाट सिधा पैदलमार्ग र लोकिल (जमिन) देखि राम्चेसम्मको सुधारिएको सडकको प्रयोग गरी पुग्न सकिन्छ । यहाँबाट दुईदेखि तीन घण्टा पैदल हिँडेर प्राकृतिक चट्टान जुरेढुङ्गासम्म पुग्न सकिने पत्रकार महासङ्घ रसुवाका पूर्वअध्यक्ष हेमनाथ खतिवडा बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह