Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

‘टाइमकार्ड’ लाई देखावटी नबनाइयोस्

‘टाइमकार्ड’ लाई देखावटी नबनाइयोस्
त्रिशूली प्रवाह
१ साल अगाडी

३०–४० का दशकसम्म काठमाडौँ, सोह्रखुट्टे–त्रिशूली बजार–सोह्रखुट्टे बिहान ६ बजे र अपराह्न १ बजे बस छुट्थे । दिउँसो १ बजे आइपुगेको गाडी नै फर्र्र्काएर लगिन्थ्यो सायद । प्रीतम सिंहको एनपिएमएस (नेसनल पब्लिक मोटर सर्भिस)का बसमा प्रायः गुरु गोविन्द सिंहका चेला, अनुयायी नै चालक हुन्थे । यसैले चालकहरूलाई ‘गुरु’ भनिनाको कारण सायद कमैलाई थाहा होला । अहिले त सबै समुदायका चालक ‘गुरुजी’ नै कहलिन्छन् गाडी हँकाइका लागि मास्टर हुनाका अर्थमा । दूरी करिब ७० किलोमिटर थियो । त्यसैमा बोराका बोरा सामान पनि ढुवानी हुन्थ्यो ।

वि.सं. २०४६ अघिसम्म काठमाडौँ–त्रिशूली–काठमाडौँ यातायात सेवाका रूपमा पकनाजोलबाट छुटेको गाडी त्रिशूली बजारसम्म पुग्दा करिब चार घण्टा नै लाग्थ्यो । सिटमा, उभिएर र छत गरी तीनतले भनिने बस खासै कुदाइन्नथ्यो । गुरुजीले चलाउने गाडी सुस्त गतिमै भएकाले तिनै बस यात्रुका प्राथमिकतामा पर्थे । तथापि, बाटामा भेटिएका यात्रु सकेसम्म कोच्दै, गुन्द्रुक खाँदैझैँ भेडाबाख्र्रा हुलेझैँ गरी निसास्सिँदो वातावरणमा बान्ता गर्दै गन्तव्यमा पुग्दा यात्रु लखतरान भइसकेका हुन्थे । अब त काठमाडौँबाट छुटेको गाडी त्रिशूली बजार, बेत्रावती, धुन्चे हुँदै टिमुरे, धादिङ–गल्छी हुँदै त्रिशूली बजार, माछापोखरी–टोखा–छहरे हुँदै त्रिशूली बजार पनि चल्ने गरेको छ । त्रिशूली बजारबाटै सामरी, सोले, धुन्चे, टिमुरे चल्ने त सामान्य भइहाल्यो ।
अहिले माइक्रोबसले छिटोछरितो रूपमा सेवा दिन लागेको छ । माछापोखरीबाट छुटेको गाडी बिचमा चियाखाजा खुवाउँदै लग्दा दुई घण्टा नत्र पौने दुई घण्टामै विदुर, त्रिशूली पु¥याउने गरेको छ । गाडीको गतिले यदाकदा दुर्घटना भएको त छँदै छ । गत असोजमा आएको वर्षाले पोखरा, बागलुङ, लमजुङ, नारायणगढ हुँदै पश्चिमतिर जाने गाडीले वैकल्पिक मार्गका रूपमा टोखा–छहरे–गँगटे–देवीघाट–गल्छी रुट पाए । एक त बाटो नचिनेका, अनि गतिमा चलाएकाले त्यस्ता केही गाडी दुर्घटनामा पनि परे । जतिसुकै मोड भए पनि सोह्रखुट्टे–बालाजु–ककनी–रानीपौवा–त्रिशूली चल्ने गाडी कमै दुर्घटनामा पर्थे, कारण एक त ‘गुरुजी’हरूको हँकाइ र बाटामा पर्ने मोडैमोडले गति सीमित हुन बाध्य पाथ्र्याे । पछि साझा यातायातले सोह्रखुट्टे–त्रिशूली बजार सेवा सञ्चालन गरेपछि डरलाग्दो हाँकेर दुई घण्टामै गन्तव्यमा पु¥याउँथ्यो र कहिल्यै वमिटिङ नहुनेलाई पनि छदाएर आफ्नो कर्तव्य पूरा गथ्र्याे । साझा यातायातले राजधानी बसेर विदुर, बट्टारमा जागिर खाने अथवा त्रिशूली बसेर राजधानीमा नोकरी गर्नेलाई भने राहत नै दिन्थ्यो ।

अब त प्रतिस्पर्धा बढ्न थाल्यो । बढीभन्दा बढी यात्रु कोच्ने, भाडामा सौदाबाजी गर्ने, तानातान गर्ने अनेक रूप देखिन्छन् । गति बढाएर यात्रुलाई छिटो पु¥याइदिएको जस लिने प्रवृत्ति पनि छँदै छ । माइक्रोबसमा सबभन्दा अगाडि एक, ढोकानिर दुई, त्यसपछिको दुई र पछाडिको तीन सिटलाई बढाएर ढोकानिर, त्यसपछि पछाडि र पछिल्लो सिटमा एक–एक सिट बढाएर ११ सिटे बनाइएको रहेछ । महिला आरक्षण सिट भनी ढोकानिर एकजना राख्दा टाउको अड्याउने ठाउँ छैन । ढोकैनेर सिट बढाउँदा ओर्लन, उक्लन सास्ती ।

अहिले जिल्ला प्रहरी कार्यालय, विदुर नुवाकोटले ढिकुरे–छहरे–टोखा सडकका लागि खासगरी बस र इलेक्ट्रिक भेइकल माइक्रो बसका लागि सार्वजनिक सवारी आवतजावत समयतालिका (पब्लिक भेइकल टाइमकार्ड) पद्धति लागू गरेको रहेछ । त्यो पनि त्यस क्षेत्रमा गाडी तीव्र गतिमा चलाइँदा दुर्घटनामा परेका कारणले लागू भएको भनिन्छ । सोअनुसार ढिकुरे–छहरे ९.५ किलोमिटरका लागि प्रतिकिलोमिटर २.१० मिनेटका दरले २० मिनेटमा मात्र पु¥याउनुपर्ने र छहरे–गुर्जे १९.५ किलोमिटरका लागि प्रतिकिलोमिटर २.५६ का दरले ५० मिनेटमा पु¥याउनुपर्ने नियम राखिएको रहेछ । कुनताका पिच गरिएको खन्ट्याङमन्ट्याङ सडकमा ‘स्पिड’मा कुदाउने बानी परेका गुरुजीहरू कम गतिमा के मान्थे र ? कुदायो, अनि कतै साथीभाइसँग गफ गरेर समय कटाउने चलन रहेछ उहाँहरूको । चिया, खाजाको सुनिश्चितता पनि नहुने । छोटो बाटो भएकाले खुवाउला, नखुवाउला, थाहा छैन यात्रुलाई ।

काठमाडौँ–छहरे हुँदै ‘बागमतीको दोस्रो पशुपतिनाथ’ दुप्चेश्वर अर्थात् दुग्धेश्वर र लिखुपारिकै कपिलेश्वर महादेव दर्शन गरी नुवाकोट दरबार, भैरवी र जाल्पामाई अर्थात् देवीघाटसम्म पुग्ने आन्तरिक पर्यटक पनि बढिरहेका बखत काठमाडौँ–टोखा–छहरे सडक वरदान नै साबित भएको छ । छहरेबाट रामती, दुग्धेश्वर सडक त प्रायः सम्म नै भएकाले दुप्चेश्वर पर्यटन बढ्दो भएको पाइएको हो । काठमाडौँ–त्रिशूलीवासीलाई राहतका रूपमा आएको यस सेवालाई दिगो, भरपर्दाे, सुरक्षित बनाउन भएको सडक मर्मत गर्ने तथा ‘टाइमकार्ड’लाई देखावटी मात्र नभई कडाइका साथ लागू गर्ने हो भने भविष्यमा यस सडकलाई अझ चौडा बनाएर सुविधाजनक यातायातमा परिणत गर्न सकिन्छ । विवादमा परेका सडकमा पनि विवाद सल्टाएर छिट्टै पिच गर्नुपर्ने हो । बाटामा पर्ने खाजाघरहरूलाई पनि यात्रुमैत्री सेवा पु¥याउन उत्प्रेरित गर्नु आवश्यक छ, नत्र यी पनि धादिङ, मुग्लिन, रामनगर आदिका जस्तै पैसा धुत्ने व्यवसायमा परिणत हुन बेर लाग्दैन । टोखा–छहरे सुरुङमार्ग छलफल र बहसमा भएका वेला प्रस्तावित टनेलमाथिका यी व्यवसायको स्थिति के हुने हो, बेलैमा गृहकार्य गर्नु जाती हुनेछ ।

रेसमनन्दन सोमवंशी
बुढानीलकण्ठ, काठमाडौँ

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह