फागुनमा दुप्चेश्वरको भेटी रू. ११ लाख

  • त्रिशूली प्रवाह
  • ५ चैत्र २०८१, बुधबार १३:२४

समुन्द्रटार । नुवाकोटस्थित प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर महादेव मन्दिरमा गत फागुन महिनामा रू.१० लाख भन्दा बढी भेटी संकलन भएको छ । दुप्चेश्वर विकास कोषले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा रू.१० लाख ८२ हजार छ सय ५० भेटी सङ्कलन भएको छ ।

कोषका कोषाध्यक्ष राजन श्रेष्ठका अनुसार दुप्चेश्वरमा सङ्कलित भेटी रकम समुन्द्रटारमा रहेको बैंकमा जम्मा गरिएको छ । कोषले मन्दिरमा चढाइने भेटीको दैनिक गणना गरी सार्वजनिक गर्ने गरेको छ । कोषले सङ्कलित भेटी मन्दिरको नाममा रहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट दैनिक सार्वजनिक गर्ने गरेको छ । दुप्चेश्वर गाउँपालिका–५ मा रहेको यो मन्दिरलाई बागमती प्रदेशको दोस्रो पशुपतिको नामले समेत चिनिन्छ । फागुनमा सबैभन्दा बढी २४ गते रू.एक लाख ५९ हजार पाँच सय ३५, १७ गते रू.एक लाख ५६ हजार तीन सय १०, ३ गते रू.एक लाख १९ हजार नौ सय ५५ र १० गते रू. एक लाख तीन हजार सात सय २५ भेटी सङ्कलन गरेको फेसबुक पेजमा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

मन्दिरमा सोमबार र शनिबार भक्तजन बढी आउने गरेकोले सोही दिन भेटी बढी सङ्कलन हुने गरेको कोषले जानकारी दिएको छ । गत २०८० वैंशाखदेखि मन्दिरमा चढाईएको भेटी पारदर्शी बनाउँदै मन्दिरको पुजारी र कर्मचारीलाई तलव सुविधाको व्यवस्था गरिएको छ । कोषको अध्यक्षमा पालिका अध्यक्ष शंकरबहादुर थापा रहनुभएको छ ।