ओस्टियोपोरोसिस बिरामीको निःशुल्क उपचार

  • त्रिशूली प्रवाह
  • ५ चैत्र २०८१, बुधबार १३:५१

विदुर । त्रिशूली अस्पताल, नुवाकोटमा ज्येष्ठ नागरिक र महिलाको लागि सञ्चालन गरिएको दुईदिने ओस्टियोपोरोसिस रोगको उपचार शिविर गत हप्ता सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा एकसय जना बिरामीले स्वास्थ्य जाँच एंव निःशुल्क उपचार सेवा लिएका छन् ।

अस्पतलाका निर्देशक डा.राजेन्द्र लामाकानुसार जाँच गराउन आएका बिरामीको ज्येष्ठ नागरिक र महिलाको हड्डी कमजोर हुने, हड्डीको अवस्था कमजोर भएसँगै सानो चोट, ठक्करबाट पनि हड्डी भाँचिने जोखिम बढाउने हुँदा बिरामीलाई निःशुल्करूपमा उक्त सेवा उपलब्ध गराइएको हो । उहाँकाअुनसार ओस्टियोपोरोसिस भएमा शरीरको हड्डी शिथिल र कमजोर हुने गर्दछ भने नयाँ कोषिकाको निर्माण पनि आवश्यकतानुसार हुन नसंक्दा यसले हड्डी कमजोर बनाएर टुट्न दिने भएकाले लक्षण थाहा पाएमा उपचारमार्फत् रोगको निधानको लागि सहयोग पुग्ने गरेको छ । आधुनिक जीवनशैली, जथाभावी खानपान, एकै स्थानमा लामो समयसम्म बस्ने बानी, व्यायामको कमी, अत्याधिक जंकफुडको सेवनले रोग लाग्न सक्ने भएकाले समयमै सजग हुन त्रिशूली अस्पतालका निर्देशक डा.लामाले अनुरोध गर्नुभयो ।

त्रिशूली अस्पतालले गत फागुन २८ र चैत १ गते दुई दिनसम्म सञ्चालित शिविरमा जाँच गराउन आएका बिरामीलाई अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले उपचारको क्रममा चिकित्सकबाट दिएको सुझावअनुसार आफ्नो स्वास्थ्यप्रति सचेत रहन स्मरण गराउँदै स्वास्थ्यमा कुनै समस्या भएमा अस्पतालको नियमित सेवा अन्तरगतबाट समेत जाँच एंव परीक्षण सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो । उक्त शिविरमा सेवा लिएका महिला र विशेष गरेर ज्येष्ठ नागरिकको रोगको पहिँचान, रोग लागेकाको लागि उपचार तथा रोकथाम गरेर सेवा दिएसँगै प्रत्यक्षरूपमा बिरामीलाई लाभ पुगेको त्रिशूली अस्पताल आकस्मिक लेबोरेटरी इञ्चार्ज श्यामसुन्दर ओझाले जानकारी दिनुभयो । उहाँकानुसार जाँच गराउन आएका ओस्टियोपोरोसिस भएका बिरामीलाई अस्पतालबाट प्रवाह हुने आवश्यक सेवा निःशुल्क प्रदान गरिएको छ । आगामी दिनमा प्रयाप्त मात्रामा क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्न, कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन गर्न, नियमित व्यायाम तथा शारीरिक अभ्यास गर्न, धुमपान र मद्यमानको सेवन गर्नेलाई छाड्नको लागि सुझाव दिइएको छ ।