विदुर र धुन्चे । वि.सं. २०८१ को माध्यमिक शिक्षा परीक्षा आजदेखि सुरु हुँदै छ । यस वर्ष नियमित र आंशिक गरी पाँच लाख २२ हजार विद्यार्थी एसइई परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस साल एसइईमा नियमित परीक्षा दिने विद्यार्थी नुवाकोटमा घटेका तथा आंशिक परीक्षा दिने बढेका छन् । तथ्याङ्कअनुसार गत वर्षका तुलनामा यस वर्ष एक सय ७० जना नियमित विद्यार्थी घटेका छन् । गत २०८० सालमा तीन हजार आठ सय ४४ जना नियमित परीक्षार्थी रहेकामा यस वर्ष घटेर तीन हजार ६ सय ७० जना परीक्षामा सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका परीक्षा शाखा प्रमुख सम्झना थपलियाले दुई नगरपालिका र १० गाउँपालिकामा २१ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिइन् । गत वर्ष आंशिक (ग्रेडवृद्धि) दिने विद्यार्थी ७८ रहेकामा यस वर्ष बढेर नौ सय ४५ पुगेका छन् । गत वर्षभन्दा यस वर्ष आंशिक परीक्षा दिने आठ सय ६७ बढेका छन् । गत वर्ष नुवाकोटमा २३ परीक्षा केन्द्र रहेकामा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डको निर्देशिकाअनुसार एक केन्द्र घटाइएको छ ।
गत २०८० मा नियमित परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४२.७ प्रतिशत मात्र नुवाकोटमा उत्तीर्ण भएका थिए । सहभागीमध्ये ५७.३० प्रतिशत अर्थात् दुई हजार एक सय ९९ विद्यार्थी ननग्रेड (अनुत्तीर्ण) भएको परीक्षा शाखा प्रमुख थपलियाले बताइन् । गत वर्ष २०८० चैत १५ देखि एसइई सुरु भएको थियो भने यस वर्ष सात दिन अगाडि नै हुन लागेको छ । परीक्षा मर्यादित शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भएको एकाइ कार्यालयले जनाएको छ ।
रसुवाबाट पाँच सय सहभागी
जिल्लाबाट पाँच सय ३१ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षको एसइई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा सञ्चालनका लागि पाँच गाउँपालिकामध्ये चारमा मात्र केन्द्र तोकिएको छ । आमाछोदिङ्मो गाउँपालिकामा परीक्षा केन्द्र नरहेको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका एकाइ प्रमुख दीपेश सिलवालले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिकाको रसुवा मावि धुन्चेमा कोमिन स्यामेवाङ्फेल मावि, हाकु मावि, नमुना इभरग्रिन बोर्डिङ स्कुल, हाइल्यान्ड आवासीय मावि र एसइई २०७८ देखि २०७९ सम्मका विषय लागेका विद्यार्थी छन् भने कोमिन स्यामेवाङ्फेल मावि स्याफ्रुबेँसीमा रसुवा मावि, पार्वतीकुण्ड मावि, नेपाल राष्ट्रिय मावि र हिमालयन बोर्डिङ स्कुलका परीक्षार्थी छन् । त्यसैगरी, कालिका गाउँपालिकामा रहेको नीलकण्ठ नमुना मावि जिबजिबेमा गौतमबुद्ध मावि, कालिका हिमालयन मावि, नर्थपोल इंग्लिस बोर्डिङ स्कुल, कालिका हिमालयन माविका विद्यार्थी छन् । कालिका हिमालयन मावि कालिकास्थानमा गोसाइँकुण्ड मावि, नीलकण्ठ नमुना मावि, सेतीदेवी माविका विद्यार्थी छन् ।
त्यसैगरी उत्तरगया गाउँपालिकाको नीलकण्ठ मावि बोगटीटारमा सेतीदेवी मावि, डाँडागाउँ मावि, भूमेदेवी मावि, सुन्धारा मावि, नवविजयी महेन्द्र मावि तथा नौकुण्डको गौतमबुद्ध माविमा निर्कुभूमे मावि, नारायण मावि र बागेश्वरी माविका विद्यार्थी छन् । यस परीक्षामा नियमिततर्फ जिल्लाभरबाट नियमित साधारणतर्फ चार सय १०, नियमित प्राविधिक धारका ५४ तथा ग्रेडवृद्धितर्फ ६५, ग्रेडवृद्धि प्राविधिक धारका दुईजना छन् । नीलकण्ठ माविबाट प्राविधिक धारका १६ र गोसाइँकुण्ड माविबाट ३८ जनाले परीक्षा दिने एकाइ प्रमुख सिलवालले जानकारी दिए ।
प्रतिक्रिया