+
Search

ताजा अपडेट +

पपुलर +

एसइईमा उत्कृष्ट नम्बर ल्याउने तरिका

एसइईमा उत्कृष्ट नम्बर ल्याउने तरिका
त्रिशूली प्रवाह
३ महिना अगाडी

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । परीक्षामा कसरी राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने धेरै विद्यार्थीको मनमा जिज्ञासा रहनु स्वाभाविक हो । यस वर्ष २०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि सुरु भएको छ र विद्यार्थी यसको तयारी पनि गरिरहेकै होलान् ।

एसइई विद्यार्थीका लागि एक महत्वपूर्ण परीक्षा हो जसले भविष्य निर्माण गर्न तथा शैक्षिक र व्यावसायिक मार्गनिर्देशनमा ठुलो भूमिका खेल्छ । यो विद्यार्थीको कठिन परिश्रम र आत्मविश्वासको पनि परीक्षा हो । यसमा सफलता प्राप्त गर्न कसरी तयारी गर्ने, कुन–कुन विषयमा के–कसरी ध्यान दिने भन्ने महत्वपूर्ण हुन्छ । यतिवेला विद्यार्थी तथा अभिभावकमा एक किसिमको दबाब छ किनकि नेपालमा सैद्धान्तिक ज्ञानका आधारमा अति उत्कृष्ट, उत्कृष्ट, राम्रो र नराम्रो भन्ने हिसाबले उत्तीर्ण र अनुत्तीर्ण गराइन्छ । त्यसैले, यतिवेला विद्यार्थीलाई कसरी परीक्षाको तयारी गर्ने र राम्रो नतिजा ल्याउने भन्ने पिरलोले सबै अभिभावक तथा विद्यालयलाई समेत गाँजेको पाइन्छ ।

आफ्ना सन्तानले राम्रो नतिजा ल्याउलान् कि नल्याउलान् भन्ने चिन्ता हरेक अभिभावकमा छ । अधिकांश विद्यार्थीको बानी हुन्छ– परीक्षा नजिकिन थालेपछि मात्रै अध्ययन गर्ने । परीक्षा दिन सायदै कसैलाई रमाइलो लाग्छ होला । जति नै राम्रो तयारी गरे पनि अक्सर विद्यार्थी परीक्षाका वेला आत्तिने तथा हड्बडाउने गर्छन् । कसरी राम्रो नतिजा हासिल गर्ने भन्ने सबै विद्यार्थीको ध्याउन्न पनि हुन्छ । परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेका छन्, तर उनीहरू वर्षको सुरुवातदेखि नै खासै तयारीमा जुट्दैनन् । अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा अलमलमा पर्ने गर्छन् । नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको वेला प्रत्युत्पादक हुन सक्छ । अर्थात् धेरै अङ्क ल्याउने ध्याउन्नमा मस्तिष्कलाई अनावश्यक बोझ पर्न थाल्छ । परीक्षाका वेला तनावमुक्त हुनु जरुरी छ । पढेको कुरा पुनः स्मरण गर्नुपर्छ । तर, ‘टुप्पी कसेर’, ‘घुँडा धसेर’ किताब, नोट घोक्नाको कुनै अर्थ रहँदैन । यद्यपि, हाम्रा बालबच्चाको प्रवृत्ति के छ भने परीक्षाका वेला निकै पढ्ने, अनि अन्य दिनमा पढाइमा उति ध्यान नदिने । यसले परीक्षालाई सहज र नतिजा राम्रो बनाउँदैन, मात्र तनाव बढाउँछ ।

एसइई तयारीको पहिलो कदम भनेको सटिक योजना बनाउनु हो । विद्यार्थीलाई आफ्नो समयको सदुपयोग गर्नका लागि तालिका बनाउनु अत्यन्त आवश्यक हुन्छ । यस तालिकामा सबै विषयको अध्ययनमा समय छुट्याउनुपर्छ । प्रत्येक विषयका लागि पर्याप्त समय दिनुपर्छ । उदाहरणका लागि, गणित र विज्ञानजस्ता कठिन विषयका लागि थप समय दिनु महत्वपूर्ण हुन्छ । अन्य विषयका लागि कम समय तोक्न सकिन्छ । समय–तालिका बनाउँदा हप्तामा दुई दिन केही समय आराम गर्नका लागि छुट्याउनु उपयुक्त हुन्छ ता कि मानसिक थकानबाट बच्न सकियोस् । त्यसैले परीक्षामा राम्रो अङ्क ल्याउनका लागि कसरी पढ्ने भन्ने सही विधि अपनाउनु जरुरी छ । शिक्षाविद्का अनुसार एसइईमा उच्चतम अङ्क ल्याउनका लागि हरेक विद्यार्थीले निम्न कुरामा विशेष ध्यान दिन आवश्यक छ :

समय–तालिका
पढ्नका लागि एउटा निश्चित समय–तालिका तयार गर्नुहोस् । एउटा सादा कापीमा राम्ररी तालिका बनाएर पढ्ने ठाउँमा टाँस्न सकिन्छ । यसरी तालिका बनाउँदा सबैभन्दा कठिन लाग्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । तालिका बनाएर पढ्दा अनावश्यक कुरामा समय बर्बाद हुँदैन ।

पढेको कुरा मनन र लेखन
आफूले पढेको पाठलाई बुझ्ने प्रयास गर्नुहोस् । अनि त्यसलाई कापीमा लेख्ने अभ्यास गर्नुहोस् । यो कुनै पनि कुरा याद गर्ने सबैभन्दा प्रभावकारी विधि हो । यसरी अध्ययन गरिएको कुरा हामी सहज रूपमा लेख्न सक्छौँ ।

स्वपरीक्षा
आफूले पढेका पाठबाट आफैँले प्रश्न बनाउने र त्यसको जवाफ लेख्ने अभ्यास गर्नुहोस् । यस्तो अभ्यास गर्दा हामीले परीक्षाकै शैली अपनाउन सक्छौँ । परीक्षामा झैँ कुनै पनि कुरा नछुटाई बुँदा, उदाहरण आदि उल्लेख गर्दै आफैंले प्रश्न बनाएर आफैँले जवाफ लेख्ने अभ्यास गर्नुहोस् । यसरी जवाफ लेख्दा हुबहु किताबको कुरा लेख्नेभन्दा पनि आफूले बुझेको कुरा मौलिक ढङ्गले लेख्नुहोस् ।

अप्ठ्यारा कुरा भित्तामा टँसाइ
कतिपय कुरा सहजै ग्रहण गर्न सकिँदैन, स्मरण गर्दा पनि नआउन सक्छ । त्यस्ता कुरालाई ठुलो अक्षरमा नोट बनाएर भित्तामा वा बोर्डमा टाँस्ने गर्नुहोस् । त्यही कुरा बारम्बार देखिरहेपछि स्मरण गर्न सहज हुन्छ ।

आराम लिँदै अध्ययन
कुनै पनि कुरा एकोहोरो पढ्दा सबै मस्तिष्कले ग्रहण गर्दैन । त्यसैले निश्चित समयमा विश्राम लिने गर्नुपर्छ । धेरै तनाव लिएर वा जोरजबर्जस्ती पढ्ने भन्दा आफूलाई सहज लाग्ने ढङ्गले पढ्नु प्रभावकारी हुन्छ । धेरै तनाव लिनैहुन्न ।

गहिरो सास र पानी सेवन
स्वास्थ्य ठिक भयो भने मात्र पढेका कुरा बुझ्न सकिन्छ । यसका लागि स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । पढिरहेका समयमा गहिरो सास लिने, पर्याप्त पानी पिउने, ताजा फलफूल खाने, हल्का व्यायाम गर्नेजस्ता अभ्यास एकदमै राम्रो हुन्छ ।

मनोरञ्जन र खेलमा समय
पढाइमा विश्राम लिएर वेलावेला गीत सुन्ने, गाउने, रमाइलो गर्ने वा आफूलाई जुन कुरामा मनोरञ्जन हुन्छ, त्यो गर्ने बानी राम्रो हो । गाउने, खेल्ने कुराले फुर्तिलो र ताजा राख्छ । यस्तो अवस्थामा पढेको कुरा सहजै ग्रहण गर्न सकिन्छ ।

पर्याप्त निद्रा
परीक्षाका वेला कतिपय रातभर जागा रहन्छन् र एकोहोरो पढ्ने गर्छन् । यसरी पढ्नु उचित होइन । निद्रा पुगेन भने कुनै पनि कुरालाई सही ढङ्गले स्मरण गर्न र लेख्न सकिँदैन । त्यसैले पर्याप्त सुत्नुपर्छ । कम्तीमा सातदेखि आठ घण्टासम्म गहिरो निद्रा लिनैपर्छ ।

पढेको कुरामा छलफल
आज जुन पाठ पढियो त्यसमा साथीभाइ वा परिवारसँग छलफल गर्नु निकै प्रभावकारी हुन्छ । पढेको पाठमै केन्द्रित रहेर छलफल गर्दा त्यसलाई नयाँ आयामबाट बुझ्न र स्मरण गर्न सहज हुन्छ । परीक्षामा सफलता प्राप्त गर्नका लागि आत्मविश्वासको महत्व अत्यधिक हुन्छ । आफूमा विश्वास राख्न र कठिनाइलाई अवसरका रूपमा हेर्नुपर्छ । यदि तपाईंले नियमित रूपमा मिहिनेत र अभ्यास गर्नुभयो भने कुनै पनि चुनौतीलाई पार गर्न सक्षम होइन्छ । परीक्षा डर होइन, अवसर हो जसले भविष्यका लागि नयाँ दिशा देखाउँछ । आत्मविश्वास राख्नुपर्छ र आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । आफूलाई विश्वास गरेर अघि बढ्दा नै सफलता पाइने सुनिश्चित हुनेछ । एसइईको तयारी केवल किताब पढेर मात्र सम्भव हुँदैन । यो सही योजना, अनुशासन र निरन्तर अभ्यासको संयोजन हो । आत्मविश्वास बढाउन, समय व्यवस्थापन गर्न र पुराना प्रश्नपत्रमार्फत अभ्यास गर्नुपर्छ । साथै शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्दै, तनावमुक्त भएर पढाइमा ध्यान केन्द्रित गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
सफलता मिहिनेत र सही तरिकाको नतिजा हो । त्यसैले धैर्य, लगनशील र सकारात्मक सोच राख्दै तयारी गर्नु नै सफलता प्राप्त गर्ने मुख्य उपाय हो । आफूमा आत्मविश्वास राख्दै सबै विषयलाई समान ध्यान राख्नुपर्छ र नियमित अभ्यास गर्दै तयारी गर्नुपर्छ । जतिसुकै कठिन र चुनौतीपूर्ण भए पनि परिश्रम र उद्देश्यले नै तपाईंलाई सफलता दिलाउनेछ । सपना देख्नुपर्छ, मिहिनेत गर्नुपर्छ र आफ्नो लक्ष्य प्राप्त गर्नुपर्छ भन्ने सोच राख्दै एसइई तयारीमा जुट्नुभयो भने अवश्य पनि उत्कृष्ट परिणाम प्राप्त हुनेछ ।

विदुर-१०, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह