
नेपाली समाजको आमूल परिवर्तनमा जनयुद्धको अमूल्य योगदान छ । आजको न्याय, समानताको समतामूलक समाजवादोन्मुख संविधानलाई त्यस उपलब्धिको एक आधारका रूपमा लिन सकिन्छ । हामी निमार्णाधीन सहिद स्मृति पार्क बेलकोटगढी–३ कुमरीमा थियौँ । लामो समय भयो हाम्रो अभियानजस्तै मन्दमन्द गतिमा अघि बढ्दै छ यो पार्क निर्माण योजना पनि । फागुन २१ गते सुखानीको जङ्गलमा मारिएका सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मृति दिवस हो । झापाली समूहबाट विकसित नेकपा (एमाले)बाट प्रतिनिधिसभा सभामुख भएका देवराज घिमिरेले जुन दिन सुखानीका सहिदको तस्बिरअङ्कित हुलाक टिकटमा टाँचा लगाएका थिए, त्यही दिन अदालतको आदेशविपरीत स्थानीय तहले जनयुद्ध दिवसमा बिदा दिएको जनाई अदालतको अवहेलना मुद्दा दर्ता भएको समाचार सञ्चारमाध्यममा आएको थियो ।
सुखानीका सहिदहरूको रगत अरुणपूर्वतिर नै धोइपखाली सहर पसेको झापाली जमातले जनयुद्धलाई हिंसा भन्दै बानेश्वरतिर बर्बराउँदा तिनको थुतुनामा मैले धर्मप्रसाद ढकालका रगतका छिर्काहरूको प्रतिविम्ब देखेको थिएँ ।
सुखानीको रगतले के भन्छ हामीलाई
सही बाटो हिँड्दै छौ कि भुल्यौ दाजुभाइ…
राजधानीको सहिद मञ्चमा गीत घन्काएर फेरि बानेश्वर, सिंहदरबार र बालुवाटारलाई सुनाउन मन छ । त्यो गीत आज पनि उस्तै मार्मिक लाग्छ । जे होस्, हामीले चाहे खोकु छिन्ताङका हुन् कि सुखानीका वा जनयुद्ध, जनआन्दोलनका नै किन नहून्, सबै जनप्रतिरोध आन्दोलनको स्वामित्व लिएर नै यस परिवर्तनलाई संस्थागत गर्न सक्छौँ । सहिदहरूको सम्झनामा हरेक वर्ष फागुन (१४–२१) मा सहिद सप्ताह मनाउने गरिन्छ । नेपाली राजनीतिको वामपन्थी विद्रोहको विम्बलाई आदर्शीकरण गर्ने र स्थापित गर्ने यो हाम्रो महाअभियान हो । जनयुद्ध महासमरको यात्रा थियो, तर यसलाई प्रतिगमनका मतियारहरूले उखेल्न खोज्दै छन् । यसमा हामीले प्रतिवाद गर्नु जरुरी छ ।
वि.सं. २०४९ मा जनमोर्चातिर लाग्ने लामो लहर थियो । जनताका मतबाट समेत जनमोर्चाका उम्मेदवारहरू अनुमोदित भएका थिए । वि.सं. २०५२ पछि चलेको जनयुद्धमा कुमरी क्षेत्र नुवाकोटको जनयुद्ध आधारभूमि थियो, योद्धाहरू उत्पादन केन्द्र पनि थियो । यो दोजिया कुमारी मगरको चिहान हो । हामी कुमरीको सहिद पार्कका बसेर सहिद परिवारका धारणा सुनिरहेका थियौँ । झरी र हिमपातपछि मौसम खुलेको थियो । तर, घाम उस्तै मलिनो, त्यसभन्दा मलिन मुहारमा थिए सहिदका प्रियजन । उहाँहरू भन्दै हुनुहुन्थ्यो, ‘बोलेर के हुन्छ ? किन फाल्नु यो मुखको तितो । कहाँ छन् सहिदका सन्ततिहरू ? कसले सुन्छ हाम्रो कुरा ?…’ हो, उनीहरूको मन खुलेको छैन । दिल दुखेको छ । गुनासोको बिस्कुन लगाउनुभन्दा मौन विद्रोह नै ठिक भनेझैँ झल्किन्थ्यो तिनका अनुहारमा । बोल्न तयार थिएनन् कोही, तर हामी सुन्न खोजिरहेका थियौँ । जे–जति बोले ती सबैको सार थियो, जे–जे आए पनि हाम्रा परिवार आउँदैनन्, केही हुँदैन । आदर्श, विचलन र विम्ब विद्रुपीकरणले निम्त्याएको चरम निराशाको सिकारमा छन् योद्धाका प्रियजन ।
सहिद देवीबहादुर तामाङ ‘उर्गेन’का छोरा प्रवीण हाप्किडो प्रशिक्षकसमेत हुन् । युवा विद्यार्थीमाझ लोकप्रिय खेल र खेलाडीका भरोसा बनेर उदाएका उनी युवा पुस्तामा हाम्रो आदर्श पुग्न नसकेकामा चिन्तित छन् । हामीले परम्परागत शैली मात्रै अपनाएर अघि बढ्दा आज सहिद परिवारको वस्तुगत आवश्यकता सम्बोधन हुन नसक्ने उनको तर्क थियो । ‘हरेक सहिदको दर्जा र हैसियतअनुसार सम्मान र विभेद किन गरेको ?’ उनले प्रश्न गरे, ‘यस्तो नगरौँ, हाम्रो विचार र बलिदान जोगाउने दीर्घकालीन योजना खै ?’ उनको थप प्रश्न थियो । के हामी यी युवामा पलाएका समाजवादी आशाका मुना र महासमरका सपनाहरूको प्रेमिल चिन्तालाई आधुनिक चिन्तनमा बदल्ने प्रेरणा दिन सक्छौँ ? वर्तमानले हामीलाई प्रश्न उठाएको छ ।
कुमरी पञ्चायतमा शारदाप्रसाद मुडभरीको एउटा सामाजिक–राजनीतिक साम्राज्य थियो । उनका बाबु भुवनेश्वर गौर भन्सारका हाकिम थिए । वि.सं. २००७ को क्रान्तिमा नेपाली काङ्ग्रेसआबद्ध मुक्तिसेनाका कार्यकर्ताले उनको हत्या गरेर साथमा भएको नगद कब्जा गरेका थिए । आज हामीले हत्यारो लुटेरा काङ्ग्रेस भन्ने गरेका छैनौँ र हिंसा पनि भन्दैनौँ । तर, यो लोकतान्त्रिक गणतन्त्रको सिंहासनमा सोइसाला खेलेर काङ्ग्रेसले वेलावेला हिंसाको रटानसमेत लगाउन पछि पर्दैन । यस देशमा पञ्चायतले उनैका छोरा शारदाप्रसादलाई ल्याएर कुमरी गाउँ पञ्चायतको नेतृत्व सुम्प्यो । यस्तै चेतनाको जगले होला आजपर्यन्त कुमरी बरु विद्रोह गर्छ, तर काङ्ग्रेस उति रुचाउँदैन । के हामी अब बाबुको स्पर्श र विचारको आभास गर्ने अवसरबाट वञ्चित सहिदपुत्र प्रवीणहरूको पुस्तालाई समाज रूपान्तरणको नायक मान्ने अभ्यास गर्ने हिम्मत गर्न सक्छौँ कि आफ्नै कुण्ठाको अलापविलापमा जलप लगाउने प्रयासमा तल्लीन छौँ ? हामीले तेस्रो माओवादी केन्द्र बेनपा नगर सम्मेलन एउटा कुखुरा पाल्ने टहरामा सम्पन गरेका थियौँ । त्यहीवेला एक अखिल (क्रान्तिकारी)का विद्यार्थी योद्धाले प्रश्न गरेका थिए, ‘यो टहरो पनि धेरै सुविधासम्पन्न भयो कमरेड ।’ मैले उनको कटाक्षलाई मनमनै बुझेँ । यो नुवाकोटको कर्णालीझैँ भएको यस क्षेत्रको आवाज थियो । त्यसैले लाग्छ ती सहिद यतै डुल्दै छन् र हामीलाई घचघच्याइरहेका छन् ।
कोेल्पुका ती सुसेलीमा सहिदहरू भुल्छन्
भञ्ज्याङ अनि देउराली र चौतारीमा डुल्छन्
कुमरीले हिजोको घाउ सम्झी भन्नुपर्छ
प्रतिरोध र परिवर्तनको नायक बन्नुपर्छ ।
अथाह पीडा बोकेर बाँचेका योद्धा र सहिद परिवारहरू साँच्चै आज कहाँ छन्, कसरी बाँचिरहेका छन् ? हामीले खोज्नैपर्छ । सहिद कित्तबहादुरको परिवारको अत्तोपत्तो छैन । अस्पतालको शय्यामा रहेका सहिद चतुरमान तामाङकी जीवनसङ्गिनीको उपचारलाई केही कार्यकर्ता अर्थ सङ्कलन अभियान चलाएर सहयोग गर्दै छन् । यस्तै–यस्तै दृश्यले त होला कवि भूपि शेरचनले कविता लेखेको :
ए मरेर सहिद हुनेहरू
जिएर र त हेर जिउन कति गाहो छ ।
हिजो आन्दोलनको रापतापका वेलामा तपाईंका छोराछोरी सहिद भए, हामी छौँ भन्ने नेताहरूलाई आज त्यो घरको खोलेफाँडो खाने फुर्सद छैन । जो जसले जे–जति पाएका छन्, उनीहरू पनि अझै सन्तुष्ट हुन सकेका छैनन् । बाँकी अरूको पालो कुर्दै बस्नेहरू यतै रुमल्लिएको जस्तो लाग्छ । कतिपय जनयुद्धका योद्धाहरू जिजीविषाका यात्रामा रुमल्लिँदै छन् । समाजवाद हुँदै साम्यवादमा जाने ती रुमानी सपनाहरू आज विद्रोही कवि पूर्ण विरामको कविता ‘अलपत्रमा परेको युद्धको नतिजा’जस्तो छ हाम्रो जिन्दगी र दैनिकी :
कोइलाबासकै उजाड नरमाइलो बस्ती भएर
झुप्राहरू लछारिएका छन् र पाछिएका छन्
परिचित भवनका दलिनहरू मक्किन थालेका छन्
झन्डामा छेर्न थालेका छन् माकुराहरू
हेर भान्सामा रगरगाउन थालेका छन् छेपाराहरू
अलपत्रमा परेका युद्धको नतिजा यस्तै छ ।
साँच्चै जनयुद्धले विश्राम लिएको २७ वर्ष भयो । हामी युद्धपछिको व्यवस्थापनमा धेरै चुकेका छौँ । त्यसैले धेरै अलपत्र परेका नतिजाहरू भोग्दै छौँ, तर हरेक जनमन र भावनाहरू दुख्नुहुँदैन । हिजो हाम्रो दुःख उनको थियो भने आज उनको दुःख हाम्रो हुन्छ र हुनुपर्छ । आदरणीय नेताहरूको ध्यान त्यतै जानु जरुरी छ । माओवादी नेतृत्वमा रहेको बेनपा–३ का जननिर्वाचित वडाध्यक्ष कौशिला पुडासैनीले काङ्ग्रेस नेता एवम् समाजसेवी रामबहादुर तामाङको तस्बिरसहित सबै सहिदको तस्बिर वडा कार्यालयमा राखेर सहिदको सम्मान र स्मरण गर्ने प्रयास गरेकी छिन् । यो सत्य निरुपण र मेलमिलापको राम्रो उदाहरण पनि हो, तर काङ्ग्रेस सङ्घीयता, गणतन्त्र र जनयुद्धको अपमान गर्छ । जनयुद्ध दिवसमा बिदा दिएको भन्दै नगर अधिकृत धम्क्याउन पुग्छ जुन सहिदको बलिदानी शिरमा गिर खेलेर पाएको त्यो गाउँको सिंहदरबार हो । त्यही कुर्सीमा विराजमानहरूबाट ती योद्धाहरूको बलिदानको सम्मान पहिलो प्राथमिकतामा रहनुपर्छ । याद गरौँ, भूपि शेरचनका शब्दमा तपाईं, हामीलाई राम्रो सुझाव छ :
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला
धर्तीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला ।
(२०८१ फागुन २१ गते कुमरीबाट फर्किएपछि)