धुन्चे । रसुवा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले पहिलो पटक चैत ८ गते शुक्रबार आमाछोदिङ्मो-३ गत्लाङका एक ३६ वर्षिय पुरूषको ऐपेन्डिक्सको शल्यक्रिया र सोही गाउँकी २८ वर्षिया एक महिलाको दुई महिनाको गर्भावस्था रहेको पेटभित्र नै रक्तश्राव भएपछि आकस्मिक शल्यक्रिया सफल भएको छ ।
पाटन अस्पताल ललितपुरबाट एमडी गर्नुभएका रसुवा अस्पतालका डा सुनिलकुमार दासका अनुसार पुरूषको पेट दुखिरहने, बान्ता भईरहने भएकाले के भएछ भनेर अस्पतालमा जाँच गर्न जाँदा उनलाई एपेन्डिक्स भएको र तत्कालै शल्यक्रिया गर्नुपर्ने देखिएकाले कतै रिफर नगरी यहीँ शल्यक्रिया गरिएको थियो । त्यसैगरी महिलाको पनि दुई महिनादेखि महिनावारी नभएको पिसाब जाँच गर्दा बच्चा बसेको र बच्चा पाठेघर बाहिर डिम्वनली फुटेपश्चात् पेटभित्र नै रक्तश्राव भएकाले आकस्मिक शल्यक्रिया गरिनुका साथै सो क्रममा उहाँको शरीरमा तीन पाउण्ड रगत चढाईएको थियो । उक्त शल्यक्रियामा डा दास, डा दीपजना थापा, शंकर कुँवर, नर्स कविता देवकोटा, अनिता सिङ्तान, अप्सरा बिंडारी र कार्यालय सहयोगी सन्तोषी देवकोटाको टोली संलग्न थिए । महिलाको पेटबाट अन्दाजी सवा लिटर रगत र पौने केजी जमेको रगत निकालिएको र हाल दुवैको स्वास्थ्य सन्तोषजनक रहेको रसुवा अस्पतालले जनाएको छ । पहिले पहिले सामान्य बिरामी हुँदा जिल्लाबाहिर रिफर गर्ने गरिथ्यो भने अहिले रिफर गर्ने चलनको अन्त्य भई जिल्लामा नै शल्यक्रिया हुने र बिरामीको गुणस्तरीय उपचार भएपछि अन्त जान नपर्दा धेरै सहज भएको सेवाग्राही बताउँछन् ।
प्रतिक्रिया