(पुख्र्याैली घर सामरी, नुवाकोट भएका हरिप्रसाद रिमाल पूर्वप्रशासक हुन् । उनले लामो समय तत्कालीन स्थानीय विकास मन्त्रालयमा रहेर काम गरे । सो मन्त्रालयमा रहँदा उनी मन्त्रालयका साथै विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी, काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकामा प्रशासकीय अधिकारी पनि भए । लोकसेवा आयोग र जिल्ला शिक्षा कार्यालयमा पनि काम गरेका रिमालले मुद्रण विभागका महानिर्देशकबाट अवकाश लिएका हुन् । संस्कृत र नेपाली भाषामा स्नातकोत्तर उनी साहित्यकार पनि हुन् । उनका ‘देश यसरी बाँचिरहेछ’ शीर्षक कवितासङ्ग्रहका साथै ‘देवाधिवेद पशुपतिनाथ र पाशुपत क्षेत्र’ शीर्षकमा अनुसन्धानमूलक कृति पनि प्रकाशन भएका छन् । आध्यात्मिक चिन्तक रिमालका लेखरचना पत्रपत्रिकामा प्रकाशन पनि भएका छन् । उनी समय–समयमा देश–विदेशको भ्रमण पनि गर्छन् र पाठकलाई त्यसको अनुभव र अनुभूति सामाजिक सञ्जालमा पस्कन्छन् । (सम्पादक)
अधिकांशको जीवनको लक्ष्य भौतिक सुख प्राप्त गर्नु हुन्छ । चेतना अलिकति पलायो कि सुखको चाहना भइहाल्छ । सुख कहाँ छ ? पैसामा छ । पैसामा सुख छ ? यो हुनै सक्तैन । त्यसो भन्यो भने मानिसले मानिसलाई पागल भन्छ । विनापैसा कसरी सुख हुन्छ ? भौतिक आँखाले हेर्दा कुरा सही ठहर्ला ! यहीँनेर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झौँ न त । उनी प्रश्न गर्छन्, ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?’ उत्तरमा देवकोटा नै भन्छन्, ‘आफू मिटाई अरूलाई दिनु जहाँ छ !’ ‘आफूलाई मिटाएर पनि अरूलाई देऊ’ यो के भनेको ? आफूलाई मिटाएर अरूलाई दिएर पनि मानिस कहीँ सुखी हुन्छ ? यो गहिरो कुरा मानिसले कति बुझे र कसरी बुझे वा पटक्कै बुझेनन् । त्यसैले त देवकोटालाई ‘पागल’ भने । आफूलाई पागल भनेको देवकोटाले सुने, फेरि एक बेजोड कविताको जन्म भयो ‘पागल’ ।
जनताको चौतारामा यसो कान लगाउँदा सुनिन्छ, ‘यस देशमा तीन–चार थरी मानिस ज्यादै धनी छन् । ती हुन्– लोटा लिएर यस देशमा पसेर चतु¥याइँपूर्वक कमाउन चतुर खर्बपति, अर्काथरी ठुला उद्योगधन्दा खोलेर मौलाएका, अर्काथरी कमाउने मात्र उद्देश्य लिएर राजनीति गरिरहेका कतिपय ठुुला राजनीतिकर्मी र तर मार्ने ठाउँमा पुगेका र कमाउधन्दामा सिपालु उच्च तहका कर्मचारी ।’ माथि उल्लिखित धनी मानिसदेखि लिएर बिहान–बेलुकाको छाक टार्न धौ–धौ मानिरहेका गरिबसम्म सबै सुख चाहन्छन् । हो, मानिसलाई सुख चाहिन्छ र त्यो नभई मानिसले चैनको सास फेर्न सक्तैन । त्यसो भए के त मानिसले सच्चा सुख पैसा कमाएर मज्जासँग मिठो–मिठो खाएर सुख पाएको छ त ? के सुख पाउनु ! अहिले त बढी खायो भने नानाभाँतीका रोगको सिकार हुन्छ मानिस । के रोगी मानिस सुखी हुन सक्छ ? पैसा हुनेले के बजारमा स्वस्थ खानेकुरा भेटेको छ ? अनाज, तरकारी, फलफूल, दुधदही कुन कुरा चोखो र पवित्र छ बजारमा ? यस देशमा धनी मानिस बढी रोगी भइरहेका छन् । यसैले कि उनीहरू बजारमा निस्किएका धेरै प्रकारका खाद्य पदार्थ पनि धेरै किन्न सक्छन् र धेरै खान्छन् पनि । त्यसैले रोगी पनि बढी भएका छन् । अनि रोगी मानिस कसरी सुखी हुन्छ ? हो, एउटा कुरा सही कि, रोगी भए पनि पैसा भएपछि धनी मानिस उपचार गर्न सक्छन्, ठुला नेताले त सरकारी ढुकुटीबाटै मोटो रकम उपचार खर्च पाउँछन् । ती व्यक्ति स्वदेशका अति महँगा निजी अस्पतालमा उपचार गराउन सक्छन् । स्वदेशमा उपचार गर्दा निको नभए उनीहरू भारत र अझ त्यसभन्दा सुविधासम्पन्न देशमा गएर पनि उपचार गर्न–गराउन सक्छन् ।
प्रश्न फेरि बलियो जन्मन सक्छ, ‘के गरिब पनि यही बजारबाट बाँच्नका लागि अत्यावश्यक खाद्यान्न र तरकारी किन्दैनन् र ? हो, किन्न त उनीहरू पनि विषादीयुक्त खाद्य पदार्थ किन्न बाध्य छन् र त्यो खाएर कति त बिरामी पनि हुन्छन् ।’ धेरैजसोले त हिरण्यकश्यपुले खुवाएको विष प्रह्लादले पचाएजस्तै ती विषादीयुक्त खाद्य पदार्थ पचाएका पनि छन् । कतिपय भने गम्भीर बिरामी पनि पर्छन् र अझ दीर्घरोगको सिकार पनि हुन्छन् । हुँदा खानेहरू बिरामी परे भने के भो र, सरकारी अस्पताल छँदै छन् नि ! उनीहरूको उपचारको अन्तिम थलो सरकारी अस्पताल न हुन् । समयमा बुद्धि पु¥याएकाहरूले भने सरकारी बिमा पनि गरेका हुन्छन् । त्यसबापत एक परिवारले वर्षमा रु. एक लाख उपचार खर्च पाउँछ । त्यस बिमाबाट चिकित्सकको प्रेस्क्रिप्सनअनुसारको औषधि त कहाँ पाउनु, तर केही हल्काफुल्का औषधि भने पाउँछन् । महँगा औषधि सरकारी अस्पतालले कसरी दिनु ? त्यही सस्ता औषधिको बिमित रकम त उनीहरू समयमा पाउँदैनन् । सुनौँ एउटा रमाइलो र सुन्दर समाचार । स्वास्थ्यमन्त्रीले बिमाको रकम पाँच लाख पुयाउने कुरा गर्नुभएको छ । त्यस कुराले मूर्तरूप लिन कति समय लाग्ला ? त्यो भने प्रतीक्षाको कुरा छ । प्रेमी वा प्रेयसीले प्रियतम र प्रियतमालाई भेटिसकेको अवस्थाभन्दा प्रतीक्षाको घडी रमाइलो हुन्छ, होइन त ? हामी पनि रु. पाँच लाखको बिमाको प्रतीक्षा गरेर बसौँ र रमाइलो मनाऔँ ।
प्रतिक्रिया