+
Search

ताजा अपडेट +

पपुलर +

एसइई : हाउगुजी होइन, रहर ठानौँ

एसइई : हाउगुजी होइन, रहर ठानौँ
त्रिशूली प्रवाह
२ महिना अगाडी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रकाशित समयतालिकाअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा यही चैत ७ देखि १९ गतेसम्म बिहान ८ देखि ११ बजे सञ्चालन भइरहेको छ । यस परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धारका परीक्षार्थी गरी करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै छन् । एसइई (पहिले प्रवेशिका परीक्षा, एसएलसी भन्ने गरिएको) लाई विगतदेखि नै (विद्यालय शिक्षाको फलामे ढोकाका रूपमा चित्रण गर्दै आएको पाइन्छ । एसइई परीक्षामा हाउगुजी र डरको रूपमा नभई रहरका रूपमा सम्मिलित हुने मानसिकताको खाँचो देखिन्छ ।

वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा एकदेखि आठसम्म आधारभूत र कक्षा नौदेखि १२ सम्म माध्यमिक तह भनी परिभाषित गरिएको छ । विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाका रूपमा कक्षा १० मा लिइँदै आएको एसएलसीलाई एसइईमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ ।

वि.सं. १९९० देखि राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालय तहको एक मात्र परीक्षाको नतिजा विगतदेखि नै उत्साहप्रद देखिँदैन । वि.सं. १९९८ मा सबभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं. २०३८ मा सबभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अङ्ग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नुमा के विद्यार्थी मात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न । उपलब्धिस्तर शतप्रतिशत पु¥याउन राज्य, शिक्षक, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ, निक्र्याेल गर्न विलम्ब भइसकेको छ । परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन टेवा पुर्‍याउने अपेक्षाका साथ केही बुँदा यहाँ प्रस्तुत गरिएको छ :

  • परीक्षा तयारीका समयमा विद्यार्थी आफ्नो स्वास्थ्यबारे विशेष चनाखो हुनुपर्छ । स्वस्थकर आहारविहार र सहज परिश्रमको नियमितताप्रति ध्यान दिनैपर्छ ।
  • परीक्षार्थीले एसइईलाई हाउगुजीका रूपमा नलिई सहज रूपमा आत्मसात् गरेर सकारात्मक सोच र उच्च मनोबलका साथ परीक्षा दिने मनस्थिति बनाउनुपर्छ ।
  • मानसिक एवम् शारीरिक क्षमताभन्दा बढी थकान हुने गरी अनिदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आफूले सोचेजस्तो जाँच दिन पनि सकिन्न भन्ने वास्तविकताप्रति तिनले हेक्का राख्नुपर्छ ।
  • अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने–गराउनेतर्फ शिक्षक–विद्यार्थीले ध्यान दिनुपर्छ । किनकि विगतमा कहिलेकाहीँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोध्ने गरिएको वास्तविकतालाई बिर्सनुहुन्न ।
  • कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिँदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिकरूपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ ।
  • सहपाठीको सानो समूह बनाई छलफल गरेर पढ्ने बानीले दिगो स्मरण गराउँछ ।
  • विगत वर्षका प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषयशिक्षकलाई देखाएर लेखनको स्तरबारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
  • परीक्षा दिन जाँदा राम्रोसँग जाँच दिने र राम्रो नतिजा आउने भन्ने दृढविश्वास एवम् उच्च मनोबलका साथ हतोत्साहित नभई परीक्षाकक्षमा प्रवेश गर्नुपर्छ ।
  • विषयअनुसार आवश्यक सामग्री कलम, सिसाकलम, रुलर, क्याल्कुलेटर, प्रवेशपत्र आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग जाँच गर्नुपर्छ ।
  • परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारे अवलोकन पहिल्यै नै गर्दा सहजता हुन्छ ।
  • प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशन परीक्षा सुरु हुनुअगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ ।
  • उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्नबाट क्रमशः लेख्न सुरु गर्नुपर्छ । उत्तर लेख्दा प्रश्नमा दिइएको अङ्कभारअनुसार यथाशक्य बुँदामा लेख्नु राम्रो हुन्छ ।
  • परीक्षा तयारी लेखनलाई स्तरीय बनाउन कृत्रिम बौद्धिकता (एआई) तथा युट्युबलगायत वेबसाइट खोजेर पनि अध्ययन गर्न सकिन्छ ।
  • प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अङ्कभार तथा समयलाई ध्यानमा राखी मौलिकता झल्किने गरी बँुदागत रूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ ।
  • सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।
  • एसइईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै भूमिका रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहार–विहारलाई स्वस्थकर बनाउने, पढ्ने–लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातावरण बनाई सहजता प्रदान गर्ने एवम् उत्साह र ढाडस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहन गर्नु असल अभिभावकको जिम्मेवारीभित्र पर्छ । यस मानेमा एसइई अभिभावकका लागि पनि एक समझदार अभिभावक भए–नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला । त्यस्तै, विद्यालयले विद्यार्थीको रुचि, क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहज रूपमा सामना गर्न सक्ने योग्यताको विकास गराउनुपर्छ । विद्यार्थीको वैयक्तिक भिन्नता तथा उसको प्रगतिको गति र क्षमताका आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थ हो । एसइईको नतिजाका आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकाले यो विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ, आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्छ । यो विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए–नपाएको यकिन गर्ने परीक्षा पनि हो ।
  • प्रश्नपत्र निर्माणमा विश्वसनीयता, वैधानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । साथै, अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्याेल हुन्छ । त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घलगायत विद्यालय तहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कत्तिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । यसप्रकार एसइई प्रत्यक्ष रूपमा विद्यार्थीका लागि मात्र परीक्षा भएजस्तो लागे पनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेका नीति, नियम, योजना, कार्यक्रमको प्रभावकारिता जाँच्ने कसी पनि हो भन्नेतर्फ सरकार र सरोकार पक्षले हेक्का राख्नु जरुरी छ ।

(लेखक शिक्षा मन्त्रालयका पूर्वउपसचिव एवम्
नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह