हेटौँडा । सङ्घीय राजधानी रहेको सात प्रदेशमध्येको सुगम प्रदेश बागमतीको विकास बजेट खर्च निराशाजनक देखिएको छ । विकास खर्च गर्न नसकेको बागमतीकोे राजस्व सङ्कलन बर्सेनि घट्दै गएको छ ।
प्रदेश सरकारले चालू आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कुल बजेटको करिब २५.६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालू आवको आठ महिनाको अवधिमा बागमती सरकारले लक्ष्यको ३८.१३ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्यालका अनुसार प्रदेश सरकारले राजस्व बाँडफाँटबाट रु. २९ अर्ब ५५ करोड ८९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा सो अवधिमा लक्ष्यको ४७.३ प्रतिशत अर्थात् रु. १३ अर्ब ९० करोड २७ लाख ६८ हजार मात्र राजस्व सङ्कलन गरेको छ । यस्तै, सङ्घीय सरकारबाट रु. १५ अर्ब ५७ करोड ५६ लाख अनुदान प्राप्त हुने अनुमान गरिएकामा चालू आवको आठ महिनामा लक्ष्यको ५२.५८ प्रतिशत अर्थात् रु. आठ अर्ब १८ करोड ९९ लाख ६४ हजार अनुदान प्राप्त भएको छ ।
सूचना अधिकारी सन्यालका अनुसार चालू आवका लागि प्रदेश सरकारले रु. ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु. १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । बजेटमध्ये चालूको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालूतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत बजेट खर्च भएको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४७.६९ प्रतिशत र प्रदेश सभा सचिवालयले ३८.२२ प्रतिशत बजेट खर्च गरेका छन् भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ९.७९ प्रतिशत बजेट खर्च गरेको सूचना अधिकारी सन्यालले बताए । चालू आवको दोस्रो चौमासिकसम्म चालू खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको छ । योजना कार्यान्वयनमा जान नसकेकाले खर्च कम देखिएको छ ।
सूचना अधिकारी सन्यालले बताएअनुसार प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु. चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा सो अवधिमा लक्ष्यको ५२.४१ प्रतिशत अर्थात् रु. दुई अर्ब ३७ करोड ८५ लाख ८८ हजार राजस्व मात्र सङ्कलन भएको छ । यसअघि अघिल्लो आवमा बागमती प्रदेशको राजस्व रु. नौ अर्ब तीन करोड ३१ लाख २७ कम सङ्कलन भएको थियो । प्रदेश सरकारले आव २०८०/८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदानसमेतबाट रु. ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ती सबै शीर्षकबाट रु. ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । आव २०७९/८० मा पनि बागमती सरकारले अनुमान गरेकोभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेश सरकारले आव २०७९/८० मा रु. ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा ४५ अर्ब ८ करोड राजस्व सङ्कलन गरेको थियो ।
सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले राजस्वमा कमी आएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए । आव २०७९/८० मा पनि प्रदेश सरकारले अनुमान गरेभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो । प्रदेशले आव २०७९/८० मा रु. ५५ अर्ब ३१ करोड राजस्व सङ्कलनको अनुमान गरेकोमा रु. ४५ अर्ब ८८ करोड राजस्व सङ्कलन गरेको थियो । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोतलगायतका राजस्व सङ्कलनमा आएको कमी र आर्थिक मन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले राजस्वमा कमी आएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।
प्रतिक्रिया