+
Search

ताजा अपडेट +

पपुलर +

लुटपाट र हिंसात्मक गतिविधि स्वीकार्य छैन : मुख्यमन्त्री

लुटपाट र हिंसात्मक गतिविधि स्वीकार्य छैन : मुख्यमन्त्री
त्रिशूली प्रवाह
२ महिना अगाडी

हेटौँडा । काठमाडौँको तीनकुनेमा गरिएको पत्रकारको हत्या र सञ्चारगृहमाथि गरिएको आक्रमणको घटनाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले भत्र्सना गरेका छन् । उनले पूर्वराजावादीले आन्दोलनका नाममा गरेको व्यक्तिगत सम्पत्ति लुटपाट गर्ने र हिंसात्मक गतिविधि स्वीकार्य नभएको बताए ।

पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणको घटनामा संलग्न भएकालाई कारबाही गर्न माग गर्दै पत्रकारले गरेको आन्दोलनको तेस्रो दिन नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको सोमबार हेटौँडामा ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री लामाले सो कुरा बताएका हुन् । उनले पूर्वराजावादीले आन्दोलनको क्रममा गरेको हिंसात्मक गतिविधिका कारण एक पत्रकारको जलेर मृत्यु भएको बताए । कतिपय पत्रकार घाइते भएको भन्दै सो क्रममा निजी सम्पत्तिमाथि क्षति पुर्याएका, सार्वजनिक तथा निजी सम्पत्ति लुटपाट गर्ने कार्यको भत्र्सना गरे । उनले उक्त घटनामा मृत्यु भएका पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरे । ‘घटनामा घाइतेप्रति बागमती प्रदेश सरकार शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ मुख्यमन्त्री लामाले भने, ‘जुन ढङ्गबाट आन्दोलनका नाममा हिंसात्मक घटना गराइयो, घोर भत्र्सना गर्दछौँ र उक्त कार्यप्रति बागमती प्रदेश सरकार आपत्ति प्रकट गर्दछ ।’ उनले अगाडि भने, ‘हिंसात्मक गतिविधि र पत्रकारमाथि आक्रमण गरिएको प्रत्यक्ष रूपमा सबैले देखेका छन् यो घटनाबाट हामी स्तब्ध भएका छौँ ।’ उनले आन्दोलनका नाममा यस्ता किसिमका कार्य नगर्न पूर्वराजावादीलाई आग्रह गर्दै पत्रकारको मागप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । उनले माग पूरा गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने पनि बताए ।

पत्रकार महासङ्घ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईंले मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाएका थिए । यस्तै, नेपाल पत्रकार महासङ्घ मकवानपुरले सोही दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पत्रकारलाई सुरक्षाका विधि अपनाएर काम गर्न आग्रह गरे । महासङ्घ पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आक्रमणको घटनाको छानबिन गरी कारबाही गर्न माग गर्दै आन्दोलनरत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह