धादिङबेँसी । एकै आकार–प्रकारका चिटिक्क परेका घर । बाटामा विभिन्न प्रकारका रङ्गीन फूल, पाहुनालाई न्यानो स्वागत गर्ने चैलिङवासी । अर्गानिक होमस्टेका रूपमा चिनिन थालेको छ – चैलिङ गाउँ । धादिङको बेनीघाट-रोराङ-८ मा रहेको चैलिङ गाउँ पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ आठ किलोमिटर दूरीको डाँडामा रहेको छ । नेवार समुदायको मात्रै बस्ती रहेको गाउँमा कला, संस्कृतिको आनन्दसँगै प्राकृतिक खानाको स्वाद लिन पाइन्छ ।
चैलिङवासीले आफ्नो गाउँमा आउनेलाई स्थानीय परिकारसँगै सांस्कृतिक कार्यक्रमबाट समेत भरपूर मनोरञ्जन दिने गरेको घरबास सञ्चालक कृष्ण श्रेष्ठले बताए । विभिन्न जातजातिका कला, संस्कृति, वेशभूषा, परम्परा, रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँमा रहेका ३२ घरमध्ये १० घरलाई चैलिङ सामुदायिक घरबास, पाहुना राख्ने घरका रूपमा तोकिएको छ । घरबासलाई व्यवस्थित गर्न स्थानीय युवा व्यवसायी तथा सामाजिक अगुवा कृष्ण श्रेष्ठको नेतृत्वमा चैलिङ सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पाहुनाको सङ्ख्या व्यवस्थापन, खानाको गुणस्तर र सेवा, सुविधासम्बन्धी नीति बनाउँदै आएको छ । आगामी दिनमा घरबासको सङ्ख्या थप्ने योजना रहेको श्रेष्ठले बताए ।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर (विवेक) थपलियाले चैलिङलाई स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र विषादीमुक्त खाद्य पदार्थको विशेष केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँमा पर्यटकलाई थप व्यवस्थित बनाउन दुईतले सामुदायिक भवन निर्माण गरिएको छ । करिब रु. ३३ लाख लागतमा बनेको भवनमा एक्सन नेपाल र डिसिएले रु. २३ लाख सहयोग गरेको छ । यस्तै, प्रदेश सरकारले रु.१० लाख अनुदान दिएको छ । स्थानीयले १५ प्रतिशत श्रमदान गरेर भवन निर्माणमा योगदान दिएका छन् ।
प्रतिक्रिया