विदुर । शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएकाले नियुक्ति पाएसँगै नुवाकोटमा कार्यरत एक सय ११ जना करारमा काम गरिरहेका शिक्षक विस्थापित भएका छन् । प्राथमिक तहमा रिक्त ४६ शिक्षक दरबन्दीसहित एक सय ५७ नयाँ शिक्षक छनोट भएर नुवाकोट आएका छन् ।
आयोगले लिएको परीक्षामा उत्तीर्ण भई एक सय ५७ लाई शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले नियुक्ति गरेर पालिका पठाएको छ । पालिकाको रिक्त दरबन्दीमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरबाट स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भई आएकालाई पठाइएको इकाइ प्रमुख रामचन्द्र इटनीले बताए । जिल्लाका १२ पालिकामध्ये सबैभन्दा बढी दुप्चेश्वरमा प्राथमिक शिक्षकको पद सङ्ख्या रिक्त रहेको थियो । समन्वय इकाइले दिएको विवरणअनुसार ककनीमा नौ, किस्पाङमा पाँच, तादीमा आठ, तारकेश्वरमा १६, दुप्चेश्वरमा ३४, पञ्चकन्यामा १९, बेलकोटगढीमा १६, म्यागङमा नौ, लिखुमा चार, विदुरमा १२, सूर्यगढीमा सात र शिवपुरीमा १८ नयाँ शिक्षकलाई पठाएको छ । रिक्त शिक्षक पदमा योग्यता क्रमअनुसार पठाइएकोसमेत कार्यालयले जनाएको छ ।
प्रतिक्रिया