सन्दर्भ : ६८औँ राष्ट्रिय सहकारी दिवस
सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्छ । सहकारी सङ्गठनको त्यो रूप हो जसमा व्यक्ति स्वेच्छाले आफ्ना हितका विषयमा एकसाथ मिलेर कार्य गर्छन् । खासगरी यो सीमित स्रोत र साधन भएका व्यक्तिको सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यले साझा उद्देश्य प्राप्तिका लागि कार्य गर्छ । समग्रमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानका निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तरनिर्भरता हुँदै आत्मनिर्भरतातर्फको यात्रा हो ।
सहकारीको प्रमुख उद्देश्य सदस्यको आर्थिक स्थिति सुधार गर्नु हो । यसले सदस्यलाई सस्तो र सरल सेवा प्रदान गर्छ, सदस्यको सामाजिक र सामुदायिक चेतना वृद्धि गर्ने प्रयास गर्छ । यसले सदस्यलाई आपसी सहयोग र साझेदारीमा आधारित विकासमा संलग्न गराएर सदस्यलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्छ । यसले सदस्यलाई सस्तो मूल्यमा आवश्यक वस्तु र सेवा उपलब्ध गराउन प्रयास गर्छन् । यसमा ऋण, बिमा, स्वास्थ्य सेवा, कृषि सामग्रीलगायत सेवा समावेश हुन सक्छन् । सहकारीले सबै सदस्यलाई समान अवसर र हकको सुनिश्चितता दिन्छ । यसले वित्तीय र सामाजिक असमानता घटाउन मद्दत पु¥याउँछ । सहकारी प्रणालीमा सबै सदस्यको सक्रिय सहभागिता महत्वपूर्ण छ, जसले समग्र व्यवस्थापन र निर्णय प्रक्रियामा सुधार ल्याउँछ ।
राष्ट्रिय सहकारी महासङ्घ, नेपालले ६८औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नारा घोषणा गरेको छ । वि.सं. २०१३ चैत २० गते शारदानगर चितवनमा बखानपुर ऋण सहकारी समिति (हाल श्रीबखान बहुउद्देश्यीय सहकारी संस्था लि.) स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरी सहकारी दिवस मनाउने गरेका छन् । यस वर्ष बुधबार ६८औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा देशैभरि सहकारीका सबल र दुर्बल पक्षको गहन अध्ययन र छलफल गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
मर्यादित सहकारी : समुन्नत समाज
मर्यादित सहकारी भनेको एक यस्तो संस्था हो जहाँ सदस्यहरू एक-अर्कासँग सम्मान र सहकार्यका आधारमा व्यवहार गर्छन् । मर्यादित सहकारी भन्नाले समान स्वार्थ भएका व्यक्तिको समूहलाई जनाउँछ, जसले आपसी सहयोग र सहकार्यको माध्यमबाट साझा आर्थिक, सामाजिक र सांस्कृतिक लाभ प्राप्त गर्न काम गर्छन् । यसमा सदस्यहरू स्वेच्छिक रूपमा भाग लिन्छन् र निर्णय प्रक्रियामा समान अधिकार राख्छन् । सहकारी संस्थामा सदस्यबिच समान रूपमा मुनाफा बाँडिन्छ । यसको कार्य प्रजातान्त्रिक प्रणालीमा आधारित हुन्छ ।
मर्यादित सहकारीमा हुनुपर्ने प्रमुख तत्व
स्वयंसेवक सदस्यता : सहकारी संस्थामा सदस्यता खुला र स्वेच्छिक हुन्छ । कुनै पनि व्यक्ति कुनै प्रकारको भेदभाव वा पूर्वाग्रहविना सहकारीमा सामेल हुन सक्छन् । सदस्यता केवल आफ्नो इच्छामा आधारित हुन्छ र कुनै पनि जात, धर्म, लिङ्ग वा आर्थिक अवस्था आधारमा भेदभाव हुँदैन । यसले समाजका सबै वर्गका व्यक्तिलाई सहकारी संस्थामा सहभागी हुन प्रेरित गर्छ ।
सामाजिक र आर्थिक समानता : सहकारी संस्थामा प्रत्येक सदस्यलाई समान अधिकार दिइन्छ र निर्णय प्रक्रियामा सहभागिता गर्ने अवसर दिइन्छ । यसमा प्रत्येक सदस्यको एक मतको अधिकार हुन्छ, चाहे उसले सहकारीमा जति नै पुँजी लगानी गरेको होस् । यसले जनतान्त्रिक प्रक्रियालाई प्रवद्र्धन गर्छ र सबै सदस्यलाई संस्थाको विकास र निर्णयमा सक्रिय सहभागी बनाउँछ । यसले संस्थाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्छ । मर्यादित सहकारीमा न्यायको पूर्णपालना गरिन्छ । सदस्यले वार्षिक साधारणसभामा संस्थाको व्यावसायिक तथा आर्थिक क्रियाकलापबारे जानकारी लिने, सुझाव दिने र आन्तरिक नीति तथा कार्यविधि, व्यावसायिक तथा रणनीतिगत योजना तर्जुमा गर्नमा प्रत्यक्ष सहभागिता जनाउँछन् ।
सामूहिक आर्थिक लाभ : सहकारी संस्थामा मुनाफा केवल संस्थाको प्रबन्धक र केही व्यक्तिसम्म सीमित हुँदैन । सहकारी संस्थामा सदस्यले पुँजीको योगदान गर्छन् र त्यसका आधारमा सहकारी संस्थाको विनियममा उल्लेखित भएअनुसार लाभ वितरण गरिन्छ । यसले सदस्यको आर्थिक उत्थान र लाभमा समान सहभागिता सुनिश्चित गर्छ ।
स्वतन्त्रता र आत्मनिर्भरता : सहकारी संस्था आत्मनिर्भर र स्वतन्त्र हुन्छ । संस्था कुनै पनि बाह्य दबाब र नियन्त्रणविना आफ्नो निर्णय र कार्य सञ्चालन गर्न स्वतन्त्र हुन्छ । सरकारी निकाय, बैंक वा अन्य संस्थासँग सहकार्य गर्दा सहकारी संस्थाले आफ्नो उद्देश्य र सिद्धान्त कायम राख्नु अनिवार्य हुन्छ । तर, अहिले केही सहकारी संस्थाको गलत कारणले सहकारीमा सरकारले नियन्त्रण गर्दै छ ।
शिक्षा, तालिम र सूचना : सहकारी संस्थाले आफ्ना सदस्यलाई सहकारी मूल्य, सिद्धान्त र व्यवस्थापन प्रणालीबारे शिक्षा र तालिम प्रदान गर्नु आवश्यक छ । यसले सदस्यलाई संस्थाको कार्यसम्पादन र भविष्यका चुनौतीको समाधान गर्न सक्षम बनाउँछ । यसका अतिरिक्त संस्थाले आफ्ना सदस्यलाई सम्बन्धित क्षेत्रको आर्थिक उपार्जन हुने सीप तथा क्षमता वृद्धि हुने गोष्ठी, भ्रमण तथा प्रशिक्षणा सहभागिता गराउँछ ।
पारदर्शिता र उत्तरदायित्व : सहकारी संस्थामा पारदर्शिता र उत्तरदायित्व कायम राख्नु आवश्यक छ ता कि समुदायमा विश्वास र सहभागिता सिर्जना होस् । यसका लागि निर्णय प्रक्रियामा सदस्यको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ । यसले सदस्यलाई सहकारीका कार्यमा विश्वास राख्न मद्दत पुयाउँछ । सहकारीले आफ्नो वित्तीय स्थिति र गतिविधिबारे स्पष्ट र पारदर्शी रिपोर्टिङ गर्नुपर्छ । यसले सदस्यलाई सहकारीका गतिविधिमा विश्वास दिलाउँछ र गलत प्रवृत्तिको सम्भावना कम गर्छ । सहकारी संस्थाले केवल आफ्ना सदस्यको हित मात्र हेर्नुपर्ने होइन, बरु समाजको समग्र भलाइका लागि पनि काम गर्नुपर्छ । यसले समाजको समृद्धि र सामाजिक न्यायका लागि विभिन्न परियोजना सञ्चालन गर्न सक्छ । सहकारीले सामाजिक, शैक्षिक, सांस्कृतिक र पर्यावरणीय उद्देश्यको पूर्तिका लागि पनि काम गर्छन् ।
सकारात्मक र दिगो परिवर्तन : सहकारी संस्थाले दिगो र स्थिर आर्थिक, सामाजिक र वातावरणीय रणनीति अपनाउनुपर्ने हुन्छ । यसका लागि संस्थाले दीर्घकालीन योजना बनाउनुपर्छ र भविष्यका चुनौतीको समाधान गर्न सदस्यलाई सशक्त बनाउनुपर्छ । सहकारीको उद्देश्य भनेको न केवल आजको आवश्यकता पूरा गर्नु हो, बरु भविष्यका पुस्ताका लागि पनि एक स्थिर र समृद्ध समाज निर्माण गर्नु हो । यसका लागि सहकारी संस्थाले व्यावसायिक योजना, रणनीतिगत योजना, वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।
सुशासन : सहकारी सेयर सदस्यको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट सुखद अनुभूति दिलाउनु नै सुशासन हो । सुशासन कायम गर्न सहकारीका सबै समिति, उपसमिति कर्मचारीलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै सेयर सदस्यको सचेतनाको समेत विकास गर्नुपर्छ ।
समुन्नत समाज : सम्मुनत समाजमा सबै व्यक्ति एक–आपसमा समान अधिकार र कर्तव्यका साथ व्यवहार गर्छन् र सामूहिक समृद्धि र सुधारका लागि मिलेर काम गर्छन् । यसमा सबै व्यक्तिलाई समान अवसर, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समृद्धिको अवसर दिइन्छ ।
मर्यादित सहकारी र समुन्नत समाजबिचको सम्बन्ध
मर्यादित सहकारीले एक यस्तो वातावरण सिर्जना गर्छ जसले समुन्नत समाजको निर्माणलाई सम्भव बनाउँछ । मर्यादित सहकारी समाजमा सबै व्यक्ति आपसी सहयोग र सम्मानका साथ एक-अर्कासँग काम गर्छन् । यसले समुन्नत समाजको निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ, जहाँ सबै समाजका नागरिक वा संस्थाका सदस्यलाई समान अधिकार र अवसर प्रदान गरिन्छ । जब समाजमा मर्यादित र सहकारी व्यवहार हुन्छ, तब मानिसका बिच भेदभाव घट्छ र समाजमा सामाजिक न्यायको स्थापित हुन्छ । यसले समुन्नत समाजको लक्ष्यलाई प्राप्त गर्न मद्दत पुयाउँछ । मर्यादित सहकारी संस्थाले प्रत्येक व्यक्तिको व्यक्तिगत र सामाजिक विकासलाई प्रोत्साहन गर्छ । जब प्रत्येक सदस्य समानता र सम्मानका साथ जिउँछन्, तब समाजमा समृद्धि र समग्र विकास सम्भव हुन्छ ।
(लेखक नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा
नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सल्लाहकार हुन् ।)
प्रतिक्रिया