रानीपौवा । ककनी गाउँपालिकाले हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । पालिकाका विद्यालयबाट चार जिपिए प्राप्त गर्ने विद्यार्थीलाई रु.एक लाख दिने घोषणा गरेको हो । उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीलाई पनि प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिने पालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
पालिकाभित्रका विद्यालयबाट एसइई दिएका विद्यार्थीले ३.९ देखि ४ जिपिए ल्याए रु. ५० हजार, ३.८ देखि ३.९ ल्याएमा रु. २० हजार, ३.७ देखि ३.८ प्राप्त गरे रु. १५ हजार र ३.६ देखि ३.७ जिपिए ल्याए रु. १० हजार दिने घोषणा एसइई परीक्षा सुरु हुनुभन्दा अगाडि नै गरिएको थियो । नुवाकोटका विद्यार्थीलाई हौसला तथा प्रोत्साहन गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले यो घोषणा गरिएको अध्यक्ष तामाङले बताए ।
प्रतिक्रिया