+
Search

ताजा अपडेट +

पपुलर +

विन्दुकेशर मन्दिरमा धार्मिक पर्यटक बढ्दै

विन्दुकेशर मन्दिरमा धार्मिक पर्यटक बढ्दै
त्रिशूली प्रवाह
२ महिना अगाडी

सामरी । नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको विन्दुकेशर महादेव मन्दिरमा धार्मिक पर्यटक बढ्दै गएका छन् । नुवाकोटको म्यागङ-५ तथा धादिङको नेत्रावती-डबजोङ-३ र ४ मा पर्ने यस क्षेत्रको धादिङपट्टि विन्दुकेशर महादेव मन्दिर तथा नुवाकोटपट्टि पार्वती र रामको मन्दिर छन् ।

विन्दुकेशर मन्दिरमा रामनवमीका दिन हरेक वर्ष विशेष मेला लाग्ने गरेको छ । यस वर्ष पनि रामनवमीको अवसरमा सोमबार भव्य मेला लागेको स्थानीय समाजसेवी उद्धव सापकोटाले बताए । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, पर्यटकीय गन्तव्यका रूपमा पनि विकास हुँदै गएको उनले बताए । यस महादेव मन्दिरमा पूजाआराधना गरे मनोकाङ्क्षा पूरा हुने विश्वासले हरेक वर्ष हजारौँ भक्तजन आउने गरेका छन् ।

बाइसे-चौबिसे राज्यकालदेखि नै चर्चित यो मन्दिर धार्मिक सहिष्णुता र सांस्कृतिक मौलिकताको प्रतीक मानिन्छ । पूर्वमा नुवाकोट र पश्चिममा धादिङको सिमानामा रहेको यो मन्दिर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । विन्दुकेशर महादेव र पार्वतीस्थान मन्दिर धार्मिक सहिष्णुता, सांस्कृतिक मौलिकता र जातीय भाइचाराको प्रतीक मानिन्छ । विशेषगरी कात्तिक महिनाको हरिबोधनी एकादशी र त्यसपछिको पञ्चमीमा यहाँ भव्य मेला लाग्ने गरेको स्थानीयवासीको भनाइ छ । वि.सं. २०२२ देखि चैत महिनाको रामनवमीमा पनि विशेष मेला लाग्न थालेको हो । यस मेलाले पछिल्लो समय स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गरिरहेको छ । धादिङ, नुवाकोट, चितवन, गोर्खा, रसुवा, सिन्धुपाल्चोक, काठमाडौँका साथै भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् ।

पहिले सानो आकारको शिलालाई शिवलिङ्गका रूपमा पुजिँदै आएकोमा समयक्रममा यसको आकार वृद्धि हुँदै गएको जनविश्वास छ । यस्तै, पार्वतीस्थानको चट्टान पनि बर्सेनि बढ्दै गएको स्थानीय ज्येष्ठ नागरिक मुरली सापकोटा बताउँछन् । खासगरी कुष्ठरोगीले यहाँ आएर पूजा गर्ने परम्परा छ । भर्याङभुरुङ खोलामा स्नान गरी विधिपूर्वक पूजा गरे कुष्ठरोगसमेत निको हुने जनविश्वास रहेको छ । धार्मिक आस्थासँगै प्राकृतिक उपचारको विश्वासले पनि भक्तजनलाई आकर्षित गरिरहेको छ । गाउँपालिकाले मन्दिर पुनर्निर्माण र अन्य भौतिक संरचना निर्माण गरी थप व्यवस्थित बनाउने योजना अगाडि सारेको छ । आगामी वर्षमा पनि संरचना विस्तार र प्रचारप्रसारलाई प्राथमिकता दिइने गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह