
कविलास । पञ्चकन्या-२ स्थित कपिलेश्वर मन्दिरपरिसरमा गुरु पद्मसम्भव प्रादेशिक केन्द्रीय गुम्बा भवनको गत हप्ता शिलान्यास सम्पन्न भएको छ । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गत बिहीबार भवन शिलान्यास गर्दै भने, ‘कपिलेश्वर क्षेत्रलाई ‘गुरु पद्मसम्भवले ध्यान बसेको ऐतिहासिक चाङ्खाला’स्थलका रूपमा चिनाउँदै यसको संरक्षण र प्रचारमा जोड दिनुपर्छ ।’

उक्त गुम्बाको भवन बौद्ध दर्शन प्रर्वद्धनतथा गुम्बा विकास समितिबाट विनियोजित रु. दुई करोडको बजेटमा निर्माण हुन लागेको हो । कार्यक्रममा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले भो, ‘कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी गाउँको विकासमा सबै मिलेर लाग्नुपर्ने कुरामा जोड दिँदै गाउँको समृद्धिका लागि सहकार्यको बाटो रोज्नुपर्छ ।’ शिलान्यास कार्यक्रममा बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका सदस्यसचिव होमबहादुर तामाङ, पालिका उपाध्यक्ष विमला केसी, वडाध्यक्ष रामशरण श्रेष्ठ, रामबाबु पराजुली, सञ्चबहादुर तामाङलगायत राजनीतिक दलका नेता तथा स्थानीयवासीको उपस्थिति थियो । बौद्ध ग्रन्थमा उल्लेख भएअनुसार कपिलेश्वर महादेवपरिसर दोस्रो बुद्धको रूपमा समेत परिचित गुरु पद्मसम्भव भारतबाट नेपाल हुँदै तिब्बत प्रस्थान गर्ने क्रममा ध्यान/साधना गरेको ऐतिहासिक चाङ्खाला स्थलको रूपमा परिचित छ । नुवाकोट जिल्लामा पर्ने कपिलेश्वरनजिकै रहेको नाट्यश्वर क्षेत्र कला र पुरातात्विक सम्पदाले भरिएको स्थल रहेकाले यसको संरक्षण र प्रर्वद्धन गर्न सके धार्मिक पर्यटन विस्तार हुने स्थानीय समाजसेवी लोकेन्द्रबहादुर महतले बताए । गुरु पद्मसम्भव भवन निर्माणले चाङ्खालाको ऐतिहासिक धार्मिक पहिचानलाई सघाउ पुग्ने सोही वडाका अध्यक्ष रामशरण श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।