+
Search

ताजा अपडेट +

पपुलर +

भर्ना अभियान : कस्तो विद्यालय छनोट गर्ने

भर्ना अभियान : कस्तो विद्यालय छनोट गर्ने
त्रिशूली प्रवाह
१ साल अगाडी

आगामी वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । नयाँ शैक्षिक सत्रमा आफ्ना छोराछोरीलाई कुन विद्यालय पढाउने भनेर छान्न र खोज्न यतिखेर अभिभावक व्यस्त देखिन्छन् । वि.सं. २०८२ वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पनि अभिभावक चिन्तित छन् । एउटा कक्षा उत्तीर्ण गरेर विद्यार्थी वैशाखदेखि माथिल्लो कक्षामा अध्ययन गर्छन्, उत्तीर्ण हुन नसक्नेले त्यही कक्षा दोहोर्याउनुपर्ने हुन्छ । बालबालिका आफ्नो रुचि र चाहनाअनुरूप शिक्षा आर्जन गर्न पाए भने असफल हुँदैनन् । आफ्नो चाहना र क्षमताविपरीत शिक्षा लिनुपर्यो भने एक किसिमको बोझ भई उनीहरू असफल हुन्छन् । यही तथ्यलाई ध्यानमा राखी हरेक अभिभावकले बालमनोविज्ञानलाई ख्याल गरेर सन्तानको मनोभावनालाई बुझेर शिक्षण संस्था छनोट गर्नुपर्ने हुन्छ । विद्यालय छनोटका लागि विभिन्न आयामलाई विश्लेषण गर्न सक्नुपर्छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

हरेक शिक्षण संस्थालाई अभिभावकले नजिकबाट चिनेको र बुझेको हुनुपर्छ । त्यसमा कार्यरत शिक्षक कति अनुभवी छन्, कुन स्तरका छन् भन्ने राम्रोसँग बुझेको परिचित विद्यालयमाथि नै अभिभावकको विश्वास हुन्छ । त्यसैले आफ्नो सम्पर्कमा कोही पनि नभएको तथा अपरिचित र धेरै टाढाको शिक्षण संस्थाभन्दा परिचित, प्रतिष्ठित र नजिकको शिक्षण संस्था उपयुक्त हुन्छ । अभिभावकले आफ्ना छोराछोरीका लागि भौतिक सुविधासम्पन्न भएको शिक्षण संस्था छनोट गर्नुपर्छ । भूकम्प प्रतिरोधात्मक पक्की भवन, पर्याप्त हावा खेल्ने, गर्मी र जाडो दुवैका लागि उपयुक्त कक्षाकोठा, आवश्यक शौचालय सङ्ख्या, पुग्दो खानेपानी सुविधा आदिले पनि विद्यार्थी विद्यालयप्रति आकर्षित हुन्छन् । आफ्ना बालबालिका सजिलै अनुकूलित हुनेचाहिँ विद्यालय छनोट गर्नुपर्छ ।

विद्यार्थीका लागि शिक्षण क्रियाकलापका अलावा अतिरिक्त क्रियाकलापको पनि जरुरत पर्छ । कुनै विद्यार्थी पढाइमा मध्यमस्तरको हुन्छ, तर उसको स्वर असाध्यै मिठो छ भने त्यस्तो विद्यार्थीले गायन क्षेत्रमा प्रगति गर्न सक्छ । त्यस्तो विद्यार्थीको प्रतिभा त्यही अतिरिक्त क्रियाकलापमार्फत उजागर गर्न सकिन्छ । नृत्य, सङ्गीत, खेलकुद, साहित्यजस्ता विभिन्न क्रियाकलाप सञ्चालन गर्ने तथा सानादेखि ठुलासम्म सबैका लागि उपयुक्त मनोरञ्जनात्मक खेल सामग्रीको व्यवस्था भए–नभएकामा पनि ध्यान दिनुपर्छ । त्यस्ता शिक्षण संस्था छनोट गर्न सकेमा तत्तत् क्षेत्रमा प्रतिभावान् विद्यार्थीको पहिचान हुन सक्छ र भविष्यमा उनीहरूले त्यही क्षेत्रमा आफ्नो भाग्यरेखा कोर्न सक्छन् । साथै विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक भ्रमण, अवलोकन भ्रमण आदि कत्तिको आयोजना हुने गरेको छ भन्ने पनि हेर्नुपर्छ ।

विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको छ कि छैन भन्ने विश्लेषण गरेर मात्र विद्यालय छनोट गर्नुपर्छ । गुणस्तर मापन गर्दा माध्यमिक शिक्षा परीक्षादेखि लिएर नर्सरी क्लाससम्मको समग्र मूल्याङ्कन उपयुक्त हुन्छ । सबै कक्षाको पढाइ त्यत्तिकै गुणस्तरीय हुनुपर्छ । शिक्षक सबै कक्षाका लागि योग्य र अनुभवी हुनुपर्छ । एसइईको नतिजा सबै वर्षमा उत्कृष्ट रहेको हुनुपर्छ । कक्षा १२ को नतिजा पनि निरन्तर रूपमा उत्कृष्ट हुनुपर्छ । अहिले संस्कारयुक्त शिक्षाको महत्वलाई विशेष महसुस गरिएको छ । विद्यार्थीलाई पाठ्यपुस्तकका अलावा हाम्रा संस्कार, संस्कृति, मूल्यमान्यता आदिबारे जानकारी दिने र दैनिक घरव्यवहारका लागि आवश्यक पर्ने सीपहरूको सामान्य भए पनि जानकारी गराइदिने विद्यालय बढी उपयुक्त हुन्छ । बदलिँदो परिस्थितिमा शिक्षामा जति प्रविधिको प्रयोग गर्न सकियो, त्यति नै विद्यार्थीले छिटो बुझ्न सक्छन् ।

विद्यालयले नयाँ प्रविधि तथा शैक्षिक सामग्री निर्माण र व्यवस्थापनमा कति लगानी गरेको छ भन्ने जानकारी हासिल गरेर मात्र विद्यालय छनोट गर्नुपर्ने हुन्छ । विद्यालयले अध्ययन–अनुसन्धानका कार्य गरेको छ–छैन, अभिभावकसँग कति अन्तक्रिया गर्ने गरेको छ, अभिभावकसँग सूचना सम्पर्क कति स्थापित गर्न सकेको छ भन्ने पक्षलाई पनि विद्यालय छनोट गर्दा ध्यान दिनु जरुरी हुन्छ । विद्यालयको वातावरण पनि विद्यालय छनोटको अर्को महत्वपूर्ण पक्ष हो । खासगरी विद्यालय शान्त वातावरणमा शिक्षा लिन–दिन सकिने स्थानमा हुनु उपयुक्त हुन्छ । सहर, बजारको कोलाहलबाट केही टाढा अवस्थित विद्यालय जाती हुन्छ । सवारीसाधनको ओहोरदोहोर कम हुने ठाउँमा रहेको विद्यालय वातावरणीय र सुरक्षाको हिसाबले उपयुक्त हुन्छ । साथै विद्यालयमा बोटबिरुवा, हरियाली हुनु पनि त्यत्तिकै आवश्यक छ । सफा र स्वच्छ वातावरण तथा चिटिक्क विद्यालय हाता नै अभिभावकको रोजाइमा पर्छ ।

विद्यालयले लिने शुल्क अभिभावकको क्रयशक्तिसँग मेल खाने हुनुपर्छ । हरेक अभिभावकले आफ्नो आर्थिक अवस्थालाई ध्यानमा राखेर शुल्क तिर्न सक्ने शुल्कदर भएको विद्यालय छनोट गर्नुपर्छ । समयमा शुल्क तिर्न नसकी परीक्षालगायत विद्यालयका गतिविधिमा विद्यार्थी सहभागी हुनबाट वञ्चित हुनुहुँदैन । त्यस्तो अवस्था सिर्जना भयो भने बालमनोविज्ञानमा नराकात्मक असर पर्न जान्छ । त्यसैले ‘घाँटी हेरी हाड निल्नू’ भनेजस्तै आफ्नो आर्थिक क्षमताले धान्न सक्ने विद्यालय मात्र छनोट गर्नुपर्छ । साथै विद्यालयले विद्यार्थी अनुशासन कसरी कायम गर्ने गरेको छ भन्ने पक्षलाई पनि ध्यान दिनु जरुरी हुन्छ । विद्यार्थीलाई धम्क्याएर, तर्साएर र थर्काएर जबर्जस्ती पढ्न लगाउनेभन्दा सम्झाएर, बुझाएर, दायित्वबोध गराउने र पठन–संस्कृतिको विकास गराउने विद्यालय उपयुक्त हुन्छ । विद्यालयले विद्यार्थीलाई यातना दिन्छ कि दिँदैन वा समय–समयमा कति परामर्शदातृ कक्षा सञ्चालन गर्छ वा परामर्शदाताको व्यवस्था छ–छैन भन्ने कुरालाई ख्याल गरेर पनि विद्यालय छनोट गर्नुपर्छ ।भर्ना समयमा सबै विद्यालयले आफू उत्कृष्ट रहेको जिकिर गर्छन्, वास्तविकता भन्दा बढी बढाइचढाई विज्ञापन गर्छन् ।

अरू विद्यालयका राम्रा विद्यार्थी आफूतिर आकर्षण गर्ने र एसइई नतिजा राम्रो ल्याउने होडबाजी नै चलेको देखिन्छ । अन्य विद्यालयका राम्रो शिक्षकलाई आफ्नातिर तान्ने चलन पनि छँदैछ । यस्तो तानातानबाट आएको नतिजा दीर्घकालीन नहुन सक्छ ।हरेक विद्यालयले राष्ट्रिय पाठ्यक्रमको उद्देश्य पूरा गर्ने गरी पठनपाठन गर्ने विद्यालयको नतिजा पनि अब्बल नै देखिन्छ । विद्यालयमा उपयुक्त शैक्षिक, भौतिक र व्यवस्थापकीय वातावरण कायम राख्न सक्षम विद्यालयले नै अभिभावकको मन जित्न सक्छन् । त्यसैले, विद्यालयले एक–आपसमा अस्वस्थ प्रतिस्पर्धा गर्नेभन्दा पनि विद्यार्थी र अभिभावकको मन जित्ने वातावरण तयार गर्नुपर्छ । अभिभावकले पनि विद्यालयको समग्र पक्षको मूल्याङ्कन गरेर विद्यालय छनोट गरी आफ्ना बालबालिकाको भविष्य सुनिश्चित गर्न सतर्क हुनैपर्छ ।

(लेखक प्याब्सन नुवाकोटका पूर्वअध्यक्ष, केन्द्रीय सदस्य एवम् अर्किड एकेडेमी बट्टारका सञ्चालक हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह