नयाँ वर्षमा ११ साहित्यकार पुरस्कृत

  • त्रिशूली प्रवाह
  • ३ बैशाख २०८२, बुधबार १६:३६

विदुर । साहित्य सङ्गम नुवाकोटको आयोजनामा नयाँ वर्षको पहिलो दिन शुभकामना आदान–प्रदान, कृति लोकार्पण, स्रष्टा सम्मान, काव्य गोष्ठी एवम् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहआयोजना तथा रक्त सञ्चार केन्द्र कोलनी नुवाकोटको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले ११ साहित्यकारलाई पुरस्कृत एवम् सम्मान गरेका थिए ।

नेपालका विभिन्न भूभागबाट आएका साहित्यकारको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्वदेश तथा विदेशमा रहने नौ साहित्यकारले संस्थाको आजीवन सदस्यता लिएको साहित्य सङ्गमका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिए । सो अवसरमा विदुर–७ तुप्चेका स्रष्टा मीन मिलनद्वारा स्थापित पुरस्कार ‘श्री धनकुमारी तामाङ रत्न पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ कृष्णप्रसाद पोखरेल (चितवन)लाई प्रदान गरिएको थियो । त्यसैगरी उत्तरगया–५, रसुवाका स्रष्टा सरस्वती पौडेलद्वारा स्थापित ‘श्री सरस्वती पौडेल/ऋषिराम पौडेल रत्न पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ मञ्जु खराल (मकवानपुर), साहित्य सङ्गम नुवाकोटका अध्यक्ष सुमीद्वारा स्थापित ‘नवक्षितिज पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ सुनिता तामाङ (बागेश्वरी मावि चोकदे, नुवाकोट), स्रष्टा हरि पाण्डे (नुवाकोट, हाल बेल्जियम) द्वारा स्थापित ‘स्व भवानी अधिकारी स्मृति पुरस्कार तथा सङ्गम साहित्य सम्मान– २०८२’ मनोज भण्डारी (चितवन), स्रष्टा इन्दिरा चापागाईं, सङ्खुवासभाकाद्वारा स्थापित ‘स्व. पद्मकुमारी चापागाईं स्मृति पुरस्कार एवम् सङ्गम साहित्य सम्मान २०८२’ रिता खत्री (भोजपुर), शम्भु गजुरेल, नुवाकोटद्वारा स्थापित ‘स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ चन्द्रप्रसाद न्यौपाने (सिन्धुपाल्चोक), स्रष्टा कुमार गुरुङ (भक्तपुर, हाल बेल्जियम) द्वारा स्थापित ‘स्व. इमानसिंह गुरुङ स्मृति पुरस्कार एवम् सङ्गम साहित्य सम्मान– २०८२’ प्रथम शीतईश्वर कृष्णबहादुर केसी (नुवाकोट), साहित्य सङ्गमद्वारा स्थापित ‘उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् सङ्गम साहित्य सम्मान–२०८२’ अर्धशताब्दी (लघुकथा सङ्ग्रह–२०८१) मनीषकुमार समित (भक्तपुर), सुसन्देश साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ गौतम, काभ्रेपलाञ्चोकद्वारा स्थापित’ सुसन्देश पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ विवेक ढकाल (नुवाकोट), साहित्य सङ्गमद्वारा स्थापित ‘सङ्गम साहित्य पुरस्कार तथा सम्मान–२०८२’ रोशन पुन (बागलुङ), सङ्गमद्वारा नै स्थापित ‘सङ्गम साहित्य पुरस्कार तथा सम्मान–२०८२’ अन्जना न्यौपाने (झापा, हाल अमेरिका)लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा रु. पाँच लाखको सङ्गम साहित्य पुरस्कार कोषको अभियानमा रु. २५ हजार सहयोग गर्ने नुवाकोट सेवा समाज, युएईलाई ‘सङ्गम साहित्य सम्मान–२०८२’ र साहित्य सङ्गमको साहित्यिक गतिविधिमा निरन्तर साथ दिने विदुर नगर प्रमुख श्रेष्ठलाई ‘सङ्गम साहित्य सम्मान–२०८२’ प्रदान गरिएको थियो । नेपाली भाषा, साहित्य र साहित्य सङ्गमलाई माया गर्ने नमराज शिखर (काभ्रेपलाञ्चोक), पूर्ण लामा (नुवाकोट), रजनी थापामगर (नुवाकोट), शिशिर तामाङ (सिन्धुपाल्चोक), गोपालमान श्रेष्ठ (नुवाकोट), रामप्रसाद जोशी (नुवाकोट) र सुजन डोटेल (नुवाकोट)लाई साहित्य सङ्गमको विशिष्ट आजीवन सदस्यता तथा ‘सङ्गम साहित्य सम्मान–२०८२’ प्रदान गरियो । कार्यक्रममा साहित्य सङ्गमद्वारा प्रकाशन हुँदै आएको ‘सङ्गम’ पत्रिकाको छैटौँ अङ्क तथा मुक्तककार छवि ओझाको ‘अनुभूतिको–भ¥याङ’ (मुक्तकसङ्ग्रह–२०८१) लोकार्पण गरिएको थियो ।

सोही अवसरमा रक्तदान जीवनदान कार्यक्रमअन्तर्गत १० भन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए भने कवि रूपा थापाद्वारा रचित ‘सिङ्गो जूनको प्रतीक्षा’ कृति बिक्रीबाट जम्मा भएको रकम उद्यमशील तथा सीप विकास अपाङ्ग सङ्घलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विदुर नगरकी उपप्रमुख प्रभा बोगटी, डिभिजन वन कार्यालय प्रमुख रोशना पोखरेल, विदुर–१ का वडाध्यक्ष लेनिन रन्जित, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ, पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने एवम् रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति सुशीला चित्रकार, मन्त्री उद्धव शर्मालगायतको उपस्थिति थियो ।