+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटबाट ३७ सांसद, अर्थसहित ६ शक्तिशाली मन्त्री र एक मुख्यमन्त्री

नुवाकोटबाट ३७ सांसद, अर्थसहित ६ शक्तिशाली मन्त्री र एक मुख्यमन्त्री
त्रिशूली प्रवाह
२ महिना अगाडी

काठमाडौँ । देशका ७७ जिल्लामा नै आ-आफ्ना जनसङ्ख्या र भूगोलअनुसार नै सङ्घीय संसद् र प्रदेश सभा सदस्य हुने गरे पनि नुवाकोट भने सांसद मात्र नभई मन्त्री बढी हुने जिल्लाका रूपमा चिनिएको छ । वि.सं. २०१५ फागुनमा भएको निर्वाचनदेखि पछिल्लो वि.सं. २०७९ सम्मको आमनिर्वाचन गरी मुलुककै राजधानी भइसकेको नुवाकोटले सङ्घीय र प्रादेशिक गरी ३७ जनालाई सदस्यका रूपमा पाएको छ । ती जननिर्वाचित प्रतिनिधिमध्ये ६ जना शक्तिशाली सङ्घीय मन्त्रीका रूपमा रहे ।

एउटा जिल्लाले तीनवटा अर्थमन्त्री अर्थात् राज्यको ढुकुटीको साँचोवाला पाउनु दुर्लभ घटना हो । अर्थशास्त्रजस्तो हाडेओखर टोकेर त्यसमै विद्यावारिधि गर्नु त्यो पनि विदेश (क्यालिफोर्निया विश्वविद्यालय, अमेरिका) मा छात्रवृत्ति पाउनु कम मिहिनेत र तपस्याको कुरो थिएन । १२ वर्षको उमेरमा प्रवेशिका परीक्षा उत्तीर्ण प्रकाशचन्द्र लोहनी त अझ कमै उमेरमा विद्यावारिधि गरी ४० वर्षको उमेरमै अर्थमन्त्री पनि भए । कमैलाई मात्र थाहा छ, उनी स्नातक क्षेत्रबाट राष्ट्रिय पञ्चायत सदस्य (रापंस) सदस्यका लागि भएको दोस्रो निर्वाचन वि.सं. २०२८ मा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रयागराजसिंह सुवालसँगै रमाइलो कुरा, जिल्लाबाट वि.सं. २०३८ को आमनिर्वाचनमा ‘लालीगुराँस’ चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य जित्दा धेरैले ओखती गर्ने डाक्टर भन्ने ठानेका थिए । भनिन्छ, उनले धेरै जिल्लावासीलाई सरकारी, अर्धसरकारी, निजी क्षेत्रको जागिर खुवाएका थिए । वि.सं. २०४५ मा धरान र भक्तपुुरमा बढी मार पर्ने गरी भूकम्प जाँदा राहत, उद्धार, पुनस्र्थापनाका लागि पनि उनले धेरैलाई नोकरी दिलाइदिएर उद्धार गरेका थिए । नेपाली मुद्राको पुनर्मूल्याङ्कन गर्ने अर्थमन्त्रीमा पनि उनको नाम आउँछ । उनले सालमा नेरु रु. १४५ को भारु १०० कायम भइरहेका वेला नेरु एक सय ६० बनाइदिए जुन विनिमयदर अहिलेसम्म नै कायम छ । उनले नै प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा २०५२ मा परराष्ट्रमन्त्री भई महाकाली सन्धिमा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा माओवादीसँग वार्ता गर्न कृषि, सहकारी, उद्योग र श्रम यातायातमन्त्री पनि रहिसकेका उनी र सञ्चारमन्त्री कमल थापा रहेको टोली गठन गरिएको थियो । दाङको हापुरेमा वार्ता चल्दै गर्दा दोरम्बामा माओवादी हत्या प्रकरणपछि वार्ता भङ्ग भएको थियो ।

पहिलो मन्त्री जितसिंह काजी : नुवाकोट महामण्डलमा जन्मिएका रापंस जितसिंह खड्का नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रित्वकालमा जिल्लाबाट २०३२ सालमा गृह सहायकमन्त्री बनी पहिलो मन्त्री बनेका थिए । अञ्चलसभा सदस्यबाट जिल्ला पञ्चायत सभापति र रापंसमा निर्वाचित हुनेमा पनि जिल्लाबाट उनी नै पहिलो बनेका थिए । खड्काले रसुवा नुवाकोट एकीकृत ग्रामीण विकास परियोजनाका लागि रु. १४ करोड भित्र्याएको ‘नुवाकोटेली केन्द्रीय राजनीति (सङ्क्षिप्त जीवनीमूलक इतिहास)’, बलरामप्रसाद फुयाँल, २०८१ मा उल्लेख छ । त्यसअघि उनले पश्चिम १ नम्बर खनायोवास अर्थात् लुटपाट काण्डमा विद्रोही तामाङ समुदायसँग शान्ति समितिमार्फत वार्ता गरी समस्या सुल्झाएका थिए भने नेपालका उत्तरी चेकपोस्टबाट भारतीय सैनिक हटाउन अञ्चल पञ्चायत सभापतिका हैसियतले राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई निकै सहयोग गरेका थिए । उनी वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोग बाँके, बर्दियाका अध्यक्ष पनि भए भने महोत्तरी, बेरौली हत्याकाण्ड छानबिन समितिका अध्यक्ष भएर हत्यारालाई कानुनी दायरामा ल्याउन भूमिका खेले । मरिचमान सिंह श्रेष्ठको प्रधानमन्त्रित्वकालमा २०४५ सालमा सामान्य प्रशासन राज्यमन्त्री भएका काजीले पद र शक्तिका आडमा धनसम्पत्ति जम्मा नगरेको बरु मृत्यु हुँदा गणेश पण्डितलगायतले अन्त्येष्टिमा सहयोग गरेको बताइन्छ ।

वि.सं. २०३२ मा त्रिविबाट निष्कासित प्राध्यापकमध्येका एक अर्जुननरसिंह केसी पटकपटक सङ्घीय सांसद र मन्त्री (स्वास्थ्य, शिक्षा र आवास तथा भौतिक योजना) भएका छन् । पञ्चायतबाट राजनीति गरी रापंस हुँदै नेपाली काङ्ग्रेसका सहप्रवक्ता र प्रवक्तासमेत भएका राष्ट्रिय राजनीतिकै चर्चित व्यक्तित्व केसी पछिल्लो संसद् संरचनामा तल्लो सदन प्रतिनिधिसभाका सभामुखको तयारीमा भएको सञ्चारमाध्यमले जनाएका थिए । भागबन्डाले गर्दा त्यस पदमा नपुगे पनि संसद् र पार्टीभित्र उनी प्रभावशाली व्यक्तित्व हुन् । सातपटक अर्थमन्त्री र एकपटक परराष्ट्रमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका कविलासका डा. रामशरण महतले हाम्रो अर्थतन्त्रमा बदलिँदो विश्व परिस्थितिअनुसार निजीकरण, उदारीकरण भित्र्याए । प्रजातान्त्रिक समाजवादका अनुयायी मानिने डा. महतबाट नेपाली अर्थतन्त्रलाई समाजवादी ढाँचामा बदल्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । उनले विदेशी बैंकमा रकम राखेको आरोपमा अर्थमन्त्रीबाट राजीनामा दिनुपयो, तर प्रमाणित भएन । उनकै भाइ डा. प्रकाशशरण पनि ऊर्जा, परराष्ट्र र अर्थमन्त्री बने । उनको कार्यकालमा भने नेपालले चीनको बृहत् परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई)मा सन् २०१७ मा बेजिङमा हस्ताक्षर गरेको थियो जसको ढाँचामा भने सन् २०२४ मा केपी शर्मा ओलीको वर्तमान प्रधानमन्त्रित्वकालमा सहमति भयो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा पूर्वसांसद विष्णुप्रसाद रिमालसमेतको संलग्नतामा बिआरआई ढाँचामा गत वर्ष चीनमा सहमति भएको थियो । अहिले सो ढाँचाअन्तर्गत छलफलका लागि प्रस्ताव गरिएको एक नं. बुँदामा काठमाडौँ–नुवाकोट जोड्ने करिब चार किलोमिटरको टोखा–छहरे सुरुङमार्ग परेको छ । तथापि, यसमा अझै छलफल हुन सकेको छैन । ‘त्रिशूली प्रवाह’ साप्ताहिकले यसबारे गृहकार्य गर्नका लागि दबाब दिन धेरै अङ्कमा यससम्बन्धी सामग्री प्रकाशन गरिसकेको छ ।

प्राध्यापन क्षेत्रबाट राजनीतिमा आएका महेन्द्रबहादुर पाण्डे वि.सं. २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्य भई नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतकसम्म बने भनेपछि सांसद नहुँदा पनि सुशील कोइराला प्रधानमन्त्रित्वकालमा २०७० फागुनमा परराष्ट्रमन्त्रीसम्म भए । काठमाडौँमा सन् २०१४ मा भएको सार्कको १८औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न परराष्ट्रमन्त्रीको हैसियतले उनले पनि भूमिका खेले । पछि कोभिडकालमा चीनका लागि नेपाली राजदूत बनेका उनी हाल मदन भण्डारी फाउन्डेसनका अध्यक्ष छन् । वि.सं. २०६३ माघ १ गते जारी अन्तरिम संविधान, २०६३ अनुसार नेकपा (माओवादी) बाट प्रतिनिधिसभा सदस्य भएका हितबहादुर तामाङ पछि विनासांसद एमाले नेता झलनाथ खनाल प्रधानमन्त्रित्वकालमा वि.सं. २०६७ जेठमा युवा तथा खेलकुदमन्त्री भए । वि.सं. २०७४ र २०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि एमालेसँगको गठबन्धनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रित्वकालमा वि.सं. २०८० फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन पुगे ।

कुनै राजनीतिक दलको उपाध्यक्षसम्मको माथिल्लो पद पाउने जिल्लामा पनि नुवाकोट पर्छ । माओवादी केन्द्रको उपाध्यक्षसमेत भएका पोष्टबहादुर बोगटीले पश्चिम क्षेत्रमा रही सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए । कर्मठ, इमानदार नेता बोगटीले जनयुद्धमा आफ्ना छोरा रविलाई गुमाउनुपरेको थियो । महाभारत, कृष्णचरित्र, गीता पढ्दै आलोचनात्मक दृष्टि राख्ने गरेका बोगटी शैक्षिक योग्यता कम भए पनि अध्ययनशील थिए । पार्टीले अप्ठ्यारो र विवादमा परेका भूगोल र जनसङ्गठनमा उनैलाई खटाउँथ्यो र उनी आफ्नो काम फत्ते गर्थे । नुवाकोटका पिपलटार र तुप्चेमा गरी दुई सालिक छन् र उनका नाममा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान र प्राविधिक शिक्षालय पनि सञ्चालित छ । सूचना तथा सञ्चार, ऊर्जा र पर्यटनमन्त्री सम्हालेका नेता बोगटीको अल्पायुमा निधन भएपछि पत्नी राममायालाई सांसद बनाइयो भने छोरी प्रभा हाल विदुर नगरपालिकाका उपप्रमुख छिन् । नुवाकोट थानसिंमा जन्मिएका भुवन पाठक शाही शासनकालमा शिक्षा तथा खेलकुद सहायकमन्त्री (२०६२ मङ्सिर २२) बने जो हाल बागमती प्रदेश सभामा राप्रपाका तर्फबाट सभामुख पनि छन् ।

नेपालको संविधान जारी भएपछि सङ्घीय संसद् र स्थानीय तहका बिचमा राखिएको प्रदेश सभातर्फबाट मुख्यमन्त्रीजस्तो उच्च पदमा नुवाकोटकै बहादुरसिंह लामा तामाङ भएका छन् जो यसअघि आर्थिक मामिलामन्त्री पनि रहे । त्यस्तै, बागमती प्रदेश सभाका उपसभामुखमा जिल्लाकै राधिका तामाङ रहिन् भने मन्त्री, राज्यमन्त्रीमा केशवराज पाण्डे (कानुन र भौतिक योजना) र बद्रीप्रसाद मैनाली (कृषि, सहकारी) भए । नुवाकोटमा वामआन्दोलन बीजारोपण र हुर्काउने श्रेय गणेश पण्डित र शारदारमण नेपालमा जान्छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्षसमेत रहेका पण्डित वि.सं. २०४८ को आमनिर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यसमेत बने जो वि.सं. २०४२ को बमकाण्डको आरोपमा करिब एक वर्ष विनाप्रमाण कारागारमा रहनुप¥यो । उनले पछि माओवादी जनयुद्धलाई पनि नैतिक समर्थन दिएका थिए । वि.सं. २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थानापतिका राजेन्द्रप्रकाश लोहनीविरुद्ध डा. लोहनीले उच्च अदालतमा मुद्दा दिई फैसला आफ्ना पक्षमा पारे पनि पछि सर्वाेच्च अदालतबाट राजेन्द्र नै निर्वाचित भएको फैसला पनि नुवाकोटे राजनीतिमा रोचक पक्ष हो ।

यसबाहेक विभिन्न समयमा विभिन्न दलबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य, विधायक, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्य हुनेमा पूर्व तथा बहालवालामा विमला सुवेदी, विन्दा पाण्डे, विष्णुप्रसाद रिमाल, जगदीश्वनरसिंह केसी, गोविन्द नेपाली, रत्न गुरुङ, नारायणप्रसाद खतिवडा, सन्तमाया तामाङ, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, सीता मिजार, हिरानाथ खतिवडा, रामप्रसाद ढुङ्गाना, रमेशकुमार महत, आशामाया तामाङ, कल्पना नेपाली छन् । उनीहरूमध्ये केहीले आ–आफ्नो राष्ट्रिय राजनीतिक व्यक्तित्व उठाउँदै छन् भने केहीको बाँकी नै छ । २०१५ सालको पहिलो आमनिर्वाचनमा पश्चिम १ नं. निर्वाचनबाट नुवाकोट इलाका भई तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनेमा पहिले वीरगोर्खा दल (खुकुरी दल भनी चर्चित) र पछि नेपाल राष्ट्रिय गोरखा परिषद्बाट निर्वाचित हुनेमा भरतशमशेर जबरा, ललितमान घले, भीमबहादुर कार्की र देववीर पाण्डे थिए । गोरखा परिषद्का महामन्त्री भरतशमशेरले राजनीतिक अभियानका क्रममा देश भ्रमण गर्दा आफ्नो पैतृक बिर्ता भएको नुवाकोटको थानसिंमा पाल हालेर बसी त्यहीँबाट राजनीतिक सङ्गठन गरेका थिए । नुवाकोटबाटै जोत्नेका नाममा मालअड्डामा जमिन दर्ता हुनुपर्ने माग सो दलले राखेको थियो जसको पहिलो जिल्ला सम्मेलन पनि नुवाकोट गौँडामा नै भयो र टाठाबाठा ललितमान घलेका अध्यक्षतामा नेरागोप नुवाकोट गठन गरियो । पश्चिम १ नं. धादिङ उत्तर निर्वाचन क्षेत्र १०७ नं. बाट निर्वाचित राणाले काङ्ग्रेसका जगतजङ्गप्रकाश शाहलाई हराएका थिए । राणा पछि संसदीय दलका नेता चुनिए । २०१७ सालको राजा महेन्द्रको कदमपछि उनले आफ्नो दल काङ्ग्रेसमा विलय गराइदिई प्रजातन्त्रका लागि लडे ।

पश्चिम १ नं. लुटपाट काण्ड : त्यतिवेलाका चेतनशील राजनेता नुवाकोट इलाका उपल्लो गेर्खुका घलेबा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, तामाङका विवाह, व्रतबन्ध, सप्ताह, पुराण, सत्यनारायण पूजामा सरसामान जुटाइदिने, किनमेलमा सहयोग गर्ने गर्थे । मुद्दामामिला मिलाउने, जग्गाजमिनको मूल्याङ्कन, खरिद–बिक्री, गाउँघरका झगडाको छिनोफानो गर्ने, मेलमिलाप, न्यायनिसाफ गर्ने उनी रामायण, महाभारत, देवीभागवत, कृष्णचरित्र पढ्ने तथा कथा, श्लोक सुनाउँदै हिँड्ने गर्थे । उनी वि.सं. २००८ मा राजा र मन्त्रिमण्डललाई सल्लाह, सुझाव र सहयोग पु¥याउन गठित सल्लाहकारसभामा पश्चिम १ नं. बाट सदस्य बने भने २०१५ को आमनिर्वाचनमा पश्चिम १ नं. धादिङ इलाकाको निर्वाचन क्षेत्र नं. १०६ धादिङ दक्षिणबाट निर्वाचित भए जसमा नेपाल प्रजापरिषद्का नेता जिउँदा सहिद रामहरि शर्मा पनि उम्मेदवार थिए । पूर्व १ नं. र पश्चिम १ नं. मा काङ्ग्रेस पूर्ण रूपमा पराजित भयो । आमनिर्वाचन भएको फागुन ७ को छ–सात महिनापछि दुवै ठाउँमा ठुलो लुटपाट मच्चियो । त्यतिवेला हारको बदला लिन काङ्ग्रेसले लुटपाट मच्चाएको भनिए पनि घलेले नै स्थानीय तामाङ समुदायलाई उत्तेजित बनाएर त्यसको नेतृत्व गरेको ‘नुवाकोटेली केन्द्रीय राजनीति…’ मा उल्लेख छ । टाठाबाठा ब्राह्मणहरूले तामाङहरूलाई दिएको नगद, अन्नपात, गाईवस्तु र कुखुरामा चर्काे ब्याज लगाई मनपरी रकमको तमसुक बनाएर खेतबारी नै खाइदिने गरेकाले यस्तो तमसुकको पैसा तिर्न नपर्ने भनी घलेले बताइदिएपछि ऋणी तामाङहरूले तमसुक च्यात्ने, जलाउने, राँगाभैँसी काटेर खाने गरेको बताइन्छ । पछि घले निष्क्रिय भएपछि काङ्ग्रेसीहरूले पनि तामाङहरूलाई उक्साए, रिजाल, सिंखडा ब्राह्मणहरूको उठीवास भयो, हाहाकार मच्चियो । यस्तै कारणहरू देखाई राजा महेन्द्रले प्रजातन्त्र हरण गरेपछि कारागारमा रहेका घले र कम्युनिस्ट नेता निर्मलाबिच राम्रो मित्रता भएको फुयाँलको कृतिमा उल्लेख छ ।

क्षेत्रपाटी कुस्लेचौरका देववीर पाण्डे नेपाल बैंक लिका पहिलो जनरल मेनेजर थिए । उनले भरतशमशेरलाई बबरमहलमा अङ्ग्रेजी पढाएकाले पश्चिम १ नं. १०८ बाट नेरागोपबाट टिकट पाई संसद्मा जिते, जहाँ काङ्ग्रेसका बद्रीराम भण्डार्री पराजित भएका थिए । पाण्डे नेरागोपबाट सभामुखका लागि प्रस्तावित भए पनि पछि नाम फिर्ता लिइयो । उनी सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठक चलाउने चारजनामध्ये मनोनीत भएको जनाइएको छ । नेरागोपका लागि पश्चिम १ नं. मा सङ्गठन गर्ने भीमबहादुर कार्कीको पुख्र्याैली थलो काठमाडौँ गैह्रीधारा थियो । उनका पिता घनेन्द्रबहादुरले नुवाकोटका थानसिं र सिम्लेमा करिब दुई सय रोपनी जग्गा जोडेका थिए । पार्टीका मनोनीत केन्द्रीय सदस्य कार्कीले नुवाकोट दक्षिण थानसिं १०९ क्षेत्रबाट जितेका थिए ।

पञ्चायतकालीन ‘माननीय’ खम्पाकाण्डमा सहजीकरण : २०१७ सालको कदमपछि राष्ट्रिय पञ्चायतमा गाउँफर्क अभियानबाट टिकट पाई विजयी हुनेमा जितसिंहबाहेक सतार, रालुकाका श्यामबहादुर शाही र भद्रबहादुर खड्का पनि थिए । शाही काङ्ग्रेसबाट पञ्चायत प्रवेश गरी २०३३ मा जिल्ला पञ्चायत सभापति भई जितसिंहपछि रिक्त रापंस पदमा २०२४ मा बागमती अञ्चलसभाबाट निर्वाचित भएका थिए । नुवाकोट, देवीघाटमा पृथ्वी स्मारक निर्माण समितिका सभापति भई २०३३ मा सालिक स्थापना गर्ने श्रेय पनि उनैमा जान्छ जसलाई माओवादीले सशस्त्र सङ्घर्षताका तोडफोड गरेकामा मर्मत भई पुनस्र्थापना गरिसकिएको छ । राष्ट्रिय राजनीतिमा त्यति माथि उठ्न सकेनन् ।

सैनिकबाट राजनीतिमा प्रवेश गरेका शिखरबेँसीका भद्रबहादुर खड्का खम्पा काण्डमा सहजीकरण गर्ने रापंसका रूपमा पनि चिनिन्छन् । नेपाल प्रजातान्त्रिक महासभाबाट राजनीति गरेका उनी शिखरबेँसी गाउँपञ्चायतको वडासदस्यमा निर्वाचित भई २०२९ मा जिपं सभापति र २०३३ मा रापंस भए । चीनबाट भागेका दलाई लामाले नियुक्त गरेका कमान्डर गेहिंसीसँग गोप्य सूचना लिएर उनले सेना र राजा वीरेन्द्रकहाँ पु¥याए । गेहिंसीको बर्खास्तीपछि खड्काले झन् सूचना पाए । पछि नियुक्त भएका गे वाङ्दी दार्चुलामा मारिएपछि खम्पा विद्रोह अन्त्य भयो । यसबापत उनले राजाबाट रु. ५० हजार पुरस्कार पनि पाए । खड्काकी बहिनी सुशीला थापा पनि काभ्रेपलाञ्चोकबाट पटक–पटक रापंस र स्वास्थ्यमन्त्री बनिन् ।

पिछडिएको जाति भएर पनि नुवाकोटका तामाङ नै पहिलो सङ्घीय सांसद हुनु महत्वको कुरा थियो । पछि ब्राह्मण, क्षेत्री, नेवार, दलित समुदायले पनि संसद्मा प्रवेश पाएका छन् । कोही दाजुभाइ र कोही काकाभतिजा पालैपालो सांसद र मन्त्री हुनु पनि यहाँको अर्काे रोचक पक्ष हो । नुवाकोटलाई कुनै वेला बत्तीमुनिको अँध्यारो भनिए पनि अहिले गाउँगाउँमा बाटाघाटा र बिजुली पुग्नु, विद्यालय, कलेज खुल्नु, कृषि, उद्योगको विकास र विस्तार हुनु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकै देन मान्नुपर्छ ।नुवाकोटजस्तो ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक दृष्टिले उपयुक्त जिल्ला भए पनि पर्यटनको विकास भने अपेक्षा गरेअनुसार हुन सकेको छैन । जिल्लालाई चिनाउने कुनै उद्योग स्थापना भएको छैन । विगतमा निर्णय भइसकेको पेट्रोलियम पदार्थ भण्डारण र विशेष आर्थिक क्षेत्रको विषय त लगभग बिर्सिएजस्तै छ । राजनीतिक वाद, विचार र सिद्धान्तमा मतभेद भए पनि विकास र समृद्धिका मामिलामा भने सबै पक्षले हातेमालो गरेर नै अघि बढ्नु जरुरी छ । बिआरआईको ढाँचाभित्र प्रस्तावित टोखा–छहरे सुरुङमार्गको कार्यान्वयनका लागि एकै आवाज उठाउन सके जिल्लाको भविष्य झन् सुन्दर हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह