समुन्द्रटार । दोस्रो पशुपतिको रूपमा रहेको नुवाकोटस्थित प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर महादेव मन्दिरमा नयाँ वर्षको पहिलो दिन रु. तीन लाख पाँच हजार तीन सय ४५ भेटी सङ्कलन भएको छ । दुप्चेश्वर विकास कोषले सार्वजनिक गरेको विवरणअनुसार वैशाख १ गते एकै दिन रु. तीन लाख पाँच हजार तीन सय ४५ भेटी सङ्कलन भएको छ ।

कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दुप्चेश्वरमा सङ्कलित भेटी रकम समुन्द्रटारमा रहेको एभरेस्ट र ज्योति विकास बैंकमा जम्मा गरिएको छ । कोषले मन्दिरमा चढाइने भेटीको दैनिक गणना गरी सार्वजनिक गर्ने गरेको छ । कोषले सङ्कलित भेटी मन्दिरको नाममा रहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट दैनिक सार्वजनिक गर्ने गरेको छ । दुप्चेश्वर गाउँपालिका-५ मा रहेको यो मन्दिरमा भेटी क्युआरमार्फत रु. १५ हजार र सन्ध्या आरतीबाट रु. एक लाख २९ हजार सात सय ५५ भेटी उठेको कोषाध्यक्ष श्रेष्ठले बताए । नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले मन्दिरमा भक्तजनको उपस्थिति अन्य बारको तुलनामा बढेको बताइएको छ । मन्दिरमा सोमबार र शनिबार भक्तजन बढी आउने गरेकाले सो दिन अन्य दिनभन्दा भेटी बढी सङ्कलन हुने गरेको कोषले जानकारी दिएको छ । गत २०८० वैशाखदेखि मन्दिरमा चढाइएको भेटी पारदर्शी बनाउँदै मन्दिरको पुजारी र कर्मचारीलाई तलब सुविधाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष एवम् कोषका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया