२०५७ सालबाट निरन्तर दायित्वको भारी बोकेर थोरै प्रिन्ट माध्यम रहेको जिल्लाको तत्कालीन अवस्थामा विशेषतः रसुवा नुवाकोट र धादिङका जनताबिच सूचनाको पहुँच पुर्याउन थप पहलकदमीका रूपमा त्रिशूली प्रवाह साप्ताहिकले गरेको त्यो उपक्रमले आफ्नो निरन्तरताको सार्थक २५ वर्षको अभियान पूरा गरेर २६औं वर्षमा प्रवेश गरेको देख्न–सुन्न पाउँदा परोक्ष–अपरोक्ष रूपमा यो प्रकाशनलाई माया गर्ने एकजना व्यक्तिका हिसाबमा सुखद अनुभूति भइरहेको छ । अहिले आएर यो साप्ताहिक र यसको टिम हाम्रो समाजलाई रूपान्तरण गर्न र जिल्ला र यस क्षेत्रबिचका विकास एजेन्डालाई अगाडि बढाउन प्रतिनिधि उत्प्रेरकको रूपमा भूमिका निर्वाह गरिरहेको छ भन्नु अन्यथा नठानिने अवस्था सिर्जना गरेको छ ।
त्यतिवेला जिल्लाको पत्रकारिताको धर्म, देउराली साप्ताहिक र नयाँ रूपरेखा साप्ताहिकले सीमित पाठकका बिचमा समाचार प्रेषण गर्ने निर्वाह गरे पनि मूलतः जिल्लाका खबरका लागि राजधानीबाट प्रकाशित हुने पत्रिकामै निर्भर रहनु परिरहेको अवस्थामा मूलधार र राजधानीकेन्द्रित प्रकाशनबाट अलग रहेर मोफसलबाट थप नयाँ पत्रिका प्रकाशन गर्ने अनिश्चयता र चुनौतीसँगै आवश्यक प्रविधि, सामग्री, महत्वपूर्ण स्रोत, पाठक र राजनीतिक सम्बन्धमा पहुँचजस्ता असङ्ख्य अप्ठ्यारा चुनौतीको सामना गरेर आफ्नो अस्तित्व र दिगोपनलाई कायम राख्न, यसले गरेको अनवरत प्रयत्नकै कारण सबैले पढ्ने पत्रिकाका रूपमा यसले आफूलाई स्थापित गरेको कसैबाट छिपेको छैन । सबैलाई ज्ञात नै छ – पत्रिकाजस्तो मिडियालाई समाजको ऐना पनि भन्ने गरिन्छ । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप पत्रिकामा प्रतिबिम्बित हुन्छ । तर, त्रिशूली प्रवाहजस्तो पत्रिका समाजको ऐना मात्रै होइन समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ प्रदर्शक पनि हो । पत्रिकाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको दुनियाँ र समाजको पुनर्निर्माणमा सहयोग पनि पुयाइरहेको हुन्छ । जहाँसम्म यसको मुख्य उद्देश्य छ, समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै रहेको छ । यस उद्देश्यमा धेरै हदसम्म यो सफल पनि भएको छ ।
हाम्रो समाज, विशेषगरी यसको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेखनीय परिवर्तनबाट गुज्रिरहेको छ । यी परिवर्तन राज्य संयन्त्र र शासनको पुनर्संरचना, मानव अधिकार र सामाजिक न्यायको प्रवद्र्धन र आर्थिक समृद्धिको खोजी समावेश गर्ने बृहत् विकास यात्राको एक हिस्सा हुन् । यो परिवर्तनलाई प्रभाव पार्ने सबैभन्दा शक्तिशाली उपकरण भनेको त्रिशूली प्रवाहजस्तो पत्रिका पनि हो । आमजनतालाई जानकारी दिने, आफैँ संलग्न हुने र परिचालन गर्ने क्षमताको साथ, त्रिशूली प्रवाहले नुवाकोटलगायत रसुवा र धादिङ जिल्लाको सञ्चार प्रतिनिधिका रूपमा त्यतिखेरदेखि नै विकास एजेन्डालाई समेत अगाडि बढाउन, विशेष गरी राजनीतिक दलहरू र नागरिक समाजलाई उनीहरूको जिम्मेवारीबारे ‘एजेन्डा’प्रति संवेदनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । सङ्क्षिप्तमा, यसको २५ वर्षमा यसले उठाएको मुद्दालाई सूत्रबद्ध गर्ने प्रयत्न यस आलेखमा गरिएको छ ।
सूचना र सचेतनाको स्रोत : त्रिशूली प्रवाहको सबैभन्दा महत्वपूर्ण भूमिका भनेको जनतालाई जानकारी गराउने र शिक्षित गर्ने क्षमता हो । जिल्लाका लागि, जहाँ जनसङ्ख्याको एक महत्वपूर्ण भाग ग्रामीण क्षेत्रमा बसोबास गर्छ र उन्नत शैक्षिक स्रोतमा पहुँचको अभाव छ, त्यहाँ यो जानकारीको एक महत्वपूर्ण स्रोत बनेको छ । यसले सरकारी नीति, विकास कार्यक्रम, सामाजिक मुद्दा र नागरिक संलग्नताका अवसरबारे जानकारी फैलाउँदै बढीभन्दा बढी पाठकसम्म पुग्न प्रयत्न गरिरहेको छ । जिल्ल्लामा व्याप्त अस्तव्यस्तता, तत्कालीन अवस्थामा माओवादी विद्रोही पक्ष र सरकारका तर्फबाट भएको मानव अधिकारको ठाडो उल्लङ्घन, राज्यका विभिन्न निकायका तर्फबाट भएको भ्रष्टाचार र दण्डहीनता, मानव अधिकारको रक्षा, सुशासन, कर्तव्य र अधिकारको बोध गराउन आफूलाई जोखिममा राखेर पनि यसले आफ्नो भूमिका निरन्तर निर्वाह गरेको जिल्लावासी सबैलाई थाहै छ । लोकतन्त्रमा सही सूचना पाउनु पनि नागरिकको अधिकार हो भन्ने कुरामा यसको टिमको दृढ कर्तव्यबोधका कारण पत्रिकामा समाचार लेखेकै कारण पटकपटक ज्यान मार्ने धम्की खेप्नु र आफूप्रतिकूल समाचार प्रकाशित भएकै कारण यसका सम्पादक/प्रकाशकले दुरुत्साहन र भौतिक आक्रमणको सिकार हुनुजस्ता नियतिबाट पनि यसको यात्रा गुज्रिएको छ ।
विकासका मुद्दामा शिक्षा र सचेतनाको प्रर्वद्धन : जिल्लाको गरिबी, स्वास्थ्य सेवा, शिक्षा, लैङ्गिक समानता र वातावरणजस्ता महत्वपूर्ण विकास मुद्दाको बारेमा जागरुकता जगाउन यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ । उदाहरणका लागि, यसले रसुवाको चिलिमे हाइड्रोमा स्थानीयको सेयरबारे लामो समयदेखि आवाज उठायो, राष्ट्रिय महत्वको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी राजमार्गबारे सम्बन्धित निकाय र सरोकारलाई सधैँ घचघच्याइरह्यो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको दयनीय अवस्था र उपलब्ध स्वास्थ्य सेवाबारे निरन्तर सुधार गर्न महत्वपूर्ण आवाज उठाउनुका साथै सरसफाइ र स्वच्छताको महत्वबारे जनतालाई शिक्षित गरिरहेको छ । यसले विशेषगरी महिला, दलित र आदिवासीजस्ता सीमान्तकृत समुदायको अधिकार, उनीहरूका लागि शिक्षा र रोजगारीका अवसरमा राम्रो पहुँचको आवश्यकतालाई पनि निरन्तर उजागर गरिरहेको छ ।
सार्वजनिक छलफल र बहसको मञ्च : त्रिशूली प्रवाहले सार्वजनिक छलफलका लागि खुला र समावेशी मञ्च प्रदान पनि गरिरहेको छ । जसका कारण नागरिकलाई आफ्ना विचार, चासो र अपेक्षा व्यक्त गर्न सजिलो बनाएको छ । जिल्लामा, जहाँ राजनीतिक ध्रुवीकरण र विभाजनले प्रायः रचनात्मक संवादमा बाधा पु¥याइरहेको छ, यसले बोकेका विकासका मुद्दा वरिपरि अर्थपूर्ण कुराकानीलाई बढावा दिएर यी विभाजनलाई कम गर्ने कुरामा योगदान पु¥याइरहेको छ । पासाङल्हामु सडकको पुनर्निर्माणमा भएको ढिलाइ, मुआब्जा विवाद, मध्यपहाडी लोकमार्गको पूरा हुन नसकेको विवाद र राजनीतिक दलहरूबिचको खिचातानीबारे यसले निरन्तर बहस र छलफलका लागि दबाब सिर्जना गरिरहेको छ ।
जिल्लाको विकास आवश्यकताप्रति राजनीतिक दलहरूको संवेदनशीलता : हाम्रो जिल्लामा पनि राजनीतिक दलहरूबिच विगतदेखि नै स्थायी रूपमै जिल्लाको विकासलाई सर्वव्यापी, बृहत्तर एकता र पहलकदमीका हिसाबमा कार्यान्वयन गरेर जिल्लावासीलाई सेवा र राहत दिनेभन्दा पनि परस्परको अविश्वास, आफूले मात्र जस लिने मनोवृत्तिमा दलहरू रहेका र दलगत गुटबन्दीका कारण विकासका कतिपय आयाम पक्षपाती, मुलाकाजमा आधारित र आफूले मात्र विकास जानेको र गरेकाजस्ता एकात्मक सोचले जरा गाडेका कारण जिल्लाको जनताको हितभन्दा पनि आफ्नो कार्यकर्ता र पार्टीको हितलाई प्राथमिकता दिने काम भइरहेको छ । जनताको वास्तविक आवश्यकता र जिल्लाको विकास लक्ष्यसँग उनीहरूको एजेन्डालाई मिलाउने कामप्रति राजनीतिक दलहरूलाई संवेदनशील बनाउन यसले शक्तिशाली उपकरणको रूपमा काम गरिरहेको छ । यसले पटकपटक ‘न्यु काठमाडौँ इन नुवाकोट’जस्ता विकासको सम्भावनालाई आफ्नो प्रचारको एजेन्डा बनाएको छ ।
विकास सहभागिताका लागि नागरिक समाजको सशक्तीकरण : जिल्लाको विकासमा गैरसरकारी संस्था, समुदायमा आधारित संस्था र तल्लो तहका अभियानसहित नागरिक समाजको हाम्रो जिल्लामा पनि महत्वपूर्ण भूमिका छ । यद्यपि, यी संस्था प्रभावकारी हुनका लागि, तिनीहरूलाई सार्वजनिक चासोका विषयमा पैरवी र वकालत गर्नका लागि अनुकूल वातावरण चाहिन्छ वा वर्तमान अवस्थामा जिल्लामा रहेको अवसरको सदुपयोग गर्ने सामथ्र्य चाहिन्छ, त्यो अपेक्षित रूपमा हुन सकिरहेको छैन । त्रिशूली प्रवाहले नागरिक समाजमा जागरुकता फैलाउन, परिवर्तनको वकालत गर्न र सरकारी सेवाप्रदायक निकाय र अधिकारीलाई जवाफदेही बनाउन प्लाटफर्म प्रदान गरेर, उनीहरूको आवाजलाई सशक्त बनाउन आफ्नो प्रकाशनमा स्थान दिएर सहयोगीको भूमिका निर्वाह गरिरहेको छ ।
जनमतको आकार निर्माण र विकास एजेन्डामा सहयोग : जिल्लाको जनमतलाई आकार दिने काममा पनि यसको उल्लेखनीय भूमिका रहँदै आएको छ । कुन मुद्दालाई समेट्ने र कसरी प्रस्तुत गर्ने भनेर छनोट गरेर, यस पत्रिकाले जिल्लाको महत्वपूर्ण विकास चुनौतीलाई राष्ट्रिय प्राथमिकतामा जोड्न सहयोग गरिरहेको छ । चाहे त्यो दिगो कृषिको प्रर्वद्धन गर्ने होस्, शिक्षा सुधारको वकालत गर्ने होस्, सङ्घीयता कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका होस्, जिल्लाको शान्ति सुरक्षाका सवाल होस्, अव्यवस्थित सडक सञ्जाल र बढ्दो सडक दुर्घटनाकै कुरा किन नहोस्, मानव अधिकारको हनन र रक्षाका सवाल होस् । यी मुद्दालाई सार्वजनिक बहसको रूपमा आफूलाई ‘स्थानीयताको पहरेदार’ का रूपमा आफूलाई अगाडि ल्याउने क्षमताले काम गरिरहेको छ । । तथापि यी यस्ता समसामयिक सवालमा जिल्लाका राजनीतिक दलहरू, नागरिक समाज, जिल्लाका बौद्धिकवर्ग, निजी क्षेत्रको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण छ ।
जिम्मेवार राजनीतिक संस्कार नेतृत्वलाई प्रोत्साहन : माथि जे–जति कुरा उल्लेख गरिए पनि जिल्लाका राजनीतिक दलहरू र नागरिक समाजलाई आफ्ना पार्टी कार्यकर्ता र पङ्क्तिप्रति मात्र नभई उनीहरूले प्रतिनिधित्व गर्ने नागरिकप्रति पनि उत्तरदायी बनाउन त्रिशूली प्रवाहले आफ्नो बर्कतले भ्याएसम्म प्रयत्न गरिरहेको छ । जिल्लाको विकास र समृद्धिका लागि सबै सरोकारवालाको जिम्मेवारी र जवाफदेहिताको संस्कृतिको प्रवद्र्धन गर्न यसले भूमिका खेलिरहेको छ । समाचार कभरेज, सम्पादकीय र विचारका टुक्राले राजनीतिक नेताहरूले साँघुरो राजनीतिक लाभभन्दा जिल्लाको सर्वाङ्गीण विकास, शासन पारदर्शिता र सामाजिक समानतालाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई जोड दिने यसको अभियान नै छ ।
अन्तमा, जिम्मेवारीको भारी बोकेको त्रिशूली प्रवाहले आफ्नो निरन्तरताको यात्रामा सत्यता, सहनशीलताजस्ता कुरालाई आधार बनाएर आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्व स्थापित गर्न थप कटिबद्ध हुनुपर्दछ । समाजलाई पीत पत्रकारिताबाट होइन, यथार्थताबाट समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषयबाट कहिल्यै विचलित हुनुहुँदैन । आगामी दिनमा पनि त्रिशूली प्रवाह, चेतना प्रवद्र्धन गरेर, सार्वजनिक बहसलाई बढावा दिएर र विकासको एजेन्डालाई अगाडि बढाएर समाजलाई रूपान्तरण गर्न उत्प्रेरकको रूपमा काम गर्ने बृहत् हैसियत राख्दछ । सामाजिक, राजनीतिक र आर्थिक प्रगतिलाई अगाडि बढाउन राजनीतिक दलहरू र नागरिक समाजलाई उनीहरूको अपरिहार्य भूमिकाको बारेमा संवेदनशील बनाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् । यो एजेन्डाका भारी बोकेर कहिल्यै नथाकोस् र यसको निरन्तरताको यात्रा अगाडि बढिरहोस्, शुभकामना ।
rspyakurel@gmail.com
प्रतिक्रिया